लुम्बिनीको मायादेवी मन्दिरपरिसरमा अवस्थित अशोक स्तम्भको पुरातात्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि दियो बाल्ने स्थान सारिएको छ।
युनेस्को, पुरातत्वविद्ले दिएको सुझावअनुसार लुम्बिनी विकास कोषले अशोक स्तम्भनजिकै बालिँदै आएको दियो हटाएर बाहिर निर्माण गरिएको उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले जानकारी दिए।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई लिइन्छ। ई.पू. २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो।
‘लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भनजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञको सुझाव थियो, त्यही सुझावअनुसार नयाँ दियो सेडक स्थापना गरिएको छ,’ उपाध्यक्ष लामाले भने।
मायादेवी मन्दिरपरिसरको पश्चिमपट्टि एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ। युनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनीवरिपरि निर्माण भएका उद्योगहरूको धुँवा, धुलो, सिमेन्टका कण र स्तम्भनजिकै बालिएको बत्तीको धुँवाले अशोक स्तम्भको पुरातात्विक संरचनालाई नकारात्मक असर परेको देखाएको थियो।
बत्ती बाल्दा त्यसबाट निस्कने कार्बनले अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनामा नकारात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन आफूहरूले सुझाव दिएको कोषका पुरातत्व महाशाखा प्रमुख एवं वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बताए।
उनले लुम्बिनीवरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूधजस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए।
सन् २०११ देखि २०१३ सम्म पवित्र बगैँचा क्षेत्रमा युनेस्को जापानिज फन्ड एन्ड ट्रस्टको परियोजनाअन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए। उनका अनुसार सोही परियोजनाअन्तर्गत अशोक स्तम्भको पुरातात्विक संरचना संरक्षणका लागि वाटरप्रुफ र संरक्षणको काम गरिएको थियो।
अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरूलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टि दियो स्थल निर्माण गरेको छ। अहिले एकैपटकमा आठ हजार बत्ती बाल्न सकिन्छ।
कोषले दैनिक रूपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ। नवनिर्मित दियो स्थलमा अर्थमन्त्री प्रकाशशरण महत, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेसहितका विभिन्न धार्मिक गुरु एवं तीर्थालुहरूले बत्ती बालेका छन्।
गत माघ १२ गते उपाध्यक्ष डा. लामासहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुंगाे कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडको उद्घाटन गरेका हुन।
महायानी बौद्धिष्टहरूले आफ्नो परिवारको स्मृतिमा प्रायः दियो बाल्ने प्रचलन रहन्छ। बौद्धिष्टबाहेक अन्य तीर्थालुले समेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ।