चीनको विशेष प्रशासनिक अधिकारप्राप्त सहर मकाउमा कामको चापले थाकेको शरीरले रिप्रेस हुन खोज्यो । त्यसैले मकाउबाट नजिकैको सहर जुहाई भ्रमण गर्ने निधो गरेँ । केही वर्ष अगाडिसम्म एयरपोर्टको अध्यागमनमै भिसा दिने भए पनि अहिले बन्द गरिएको कारण दूतावासले तोकेकै ठाउँबाट भिसा लिनुपर्ने रहेछ । भिसाको प्रक्रिया सकेपछि छुट्टीको दिन पारेर सहकर्मी चिनियाँ साथीलाई सम्पर्क गरेँ । सामान्यतया चीनमा पहिलोपल्ट भ्रमण गर्दा भाषाको समस्या हुने गर्दछ । त्यसकारण अंग्रेजी बोल्न सक्ने चिनियाँ साथी भए यात्राको भरपूर मनोरञ्जन लिन सकिन्छ ।
सबैभन्दा पहिला अध्यागमन पास गरेर नजिकै रहेको प्रसिद्व सहर जुहाईमा प्रवेश गरेँ । मकाउमा गुगनचुम्मी घर र सडक मात्रै देखेका यी आँखाले जुहाई पुग्नेबित्तिकै रङ फेरेको भान भयो । लाग्यो पोखरीको माछा समुद्रमा पुग्यो। मेरो चिनियाँ साथी आइपुगेको थिएन । उसलाई फर्खिनलाई मलाई कुनै गाह्रो भएन । ठूला र चिल्ला सडक, हरियाली र सफा बाटो हेरेर म प्रफुल्ल थिएँ । जताततै हरिया रङका विद्युतीय गाडीले चिनियाँहरू वातावरणप्रति कत्तिको सजग छन् भन्ने कुरा प्रस्टै बुझ्न सकिन्थ्यो । केही समयको प्रतीक्षापछि चिनियाँ साथी आफ्नो विद्युतीय गाडीसहित टुप्लुक्क आइपुग्यो । सायद मेरो भोको अनुहार पढेर होला सीधै खाजा खाने रेस्टुरेन्टतर्फ लग्यो । मकाउमा भन्दा लगभग आधाभन्दा सस्तो मूल्यमा खाजा तथा खाना पाइने रहेछ । त्यसैले होला अधिकांश चिनियाँ कामदार मकाउमा काम गर्ने र पारि अर्थात् जुहाईमा बस्ने गर्दा रहेछन् । पर्यटकीय सहर भएका कारण पनि मकाउ अत्यधिक महँगो र बसोवासका निम्ति खर्चिलो रहेको कारण विदेशी कामदारलाई पनि यो सुविधा दिए हुने नि भन्ने कल्पना गरिरहेँ । खाजा खाएपछि हामी यात्रामा लाग्यौँ।
फराकिलो सडकमा लगभग २० मिनेटको यात्रापछि युआन मिङ भन्ने पार्कमा गएर गाडी रोकियो । पहिलोपटक भएर होला मन त्यसै प्रफुल्लित थियो । साथै पहिलोपटक बिजुलीबाट चल्ने कारमा यात्रा गर्दा आनन्द महसुस भइरहेको थियो । गाडीबाट झर्नेबित्तिकै पार्कको छेउमै राखिएका चिनियाँ संस्कृतिका पर्खाल तथा बारमा केही फोटो खिचियो। पर्यटकीय ठाउँ भएर होला बिहानैदेखि अधिकांश चिनियाँ पर्यटक प्रवेशद्वारमा भिड लागेका थिए । विच्याटको सहायताले चिनियाँ साथीले प्रवेशद्वारमा भर्नुपर्ने सामान्य विवरण भरे । त्यसपछि हामी निःशुल्क प्रवेशका साथ पार्क भ्रममा लाग्यौँ। पार्क छिर्नेबित्तिकै पार्कको सम्पूर्ण विवरण दिने र सजलै बुझ्न सकिने ठूलो नक्सा राखिएको रहेछ जसले गर्दा पर्यटकलाई सहजै घुमफिर गर्न सजिलो हुने रहेछ ।
डाँडाका टुप्पाबाट देखिने मनमोहक दृश्यलाई आँखामा कैद गर्दै नेपालमा पनि चिनियाँ विकासको नीति अवलम्बन गर्नुपर्ने सोचिरहेको थिएँ । साँच्चै स्रोत र साधनको अधिकतम प्रयोग कसरी गर्ने भनेर संसारले चीनबाट सिक्नु जरुरी छ ।
एउटै पार्कभित्र पोखरी, डुंगा, केबलकार, सभाहल, रिसोर्ट, स्विमिङ पुल र वाटरपार्क, सांस्कृतिक कलाकृतिको प्रदर्शन तथा गुम्बा र झिलिमिली बत्तीहरूले दुलहीझैँ सिँगारिएको थियो । प्रवेशद्वारबाट अलिकति माथितिर पुगेपछि हामीले ठ्याक्कै फेवातालको झल्को मेटाउने एउटा ताल भेट्यौँ र त्यहाँ पर्यटकका लागि पर्याप्त जलयात्राको सुविधासहित विभिन्न आकारका डुंगाहरू थिए । हामीले पनि ३९ आरएमबी (चिनियाँ मुद्रा) तिरेर एउटा पानीजहाज मोडलको डुंगामा ताल घुम्ने निर्णय गर्याैँ । वास्तवमा त्यसभित्र छिरिसकेपछि डुंगाभन्दा पनि एउटा सांस्कृतिक घरभित्र छिरेको भान भयो । ३० मिनेटको यात्रामा चिनियाँ सांस्कृतिक नृत्य, मनोरञ्जनका लागि जादु कला प्रदर्शन, सांस्कृतिक कपडा पहिरिएर फोटो खिच्ने सुविधा तथा परम्परागत संस्कृति झल्काउने र चिनियाँ संस्कारलाई सबैसामु पुर्यााउन कुनै कसर बाँकी राखिएको थिएन । डुंगामा यात्रा गर्दै गर्दा नेपालका विभिन्न ताल तथा पोखरीमा यस्तै व्यवस्थित र मनोरञ्जनात्मक क्रियाकलाप गरी पर्यटकीय गतिविधि गराउन सकिने पर्याप्त सम्भावना रहेको कुरा बुझेँ । सँगै रहेको चिनियाँ साथीले हरेक चिनियाँ भाषालाई उल्था गर्दै केही नछुट्ने गरी बुझाउँदै थियो।
डुंगायात्रा सकिएपछि हामी हल्का आराम गरेर केबलकार चढ्दै डाँडाको टुप्पामा लाग्याैँ। तुलनात्मक रूपमा केबलकार केही महँगो भए पनि सुरक्षाको हिसाबले निकै उत्कृष्ट थियो । जब हामी केबलकारबाट टुप्पामा पुग्दै थियाैँ । स्पिकरमा तपाईंहरूको फोटो खिच्दै छौँ भन्दै जानकारी आयो र हामी पनि खुसीका साथ पोज दिन थाल्यौँ । पछि फर्कने वेला केही पैसा तिरेर ती उत्कृष्ट फोटो लियाैँ ।
डाँडाका टुप्पाबाट देखिने मनमोहक दृश्यलाई आँखामा कैद गर्दै नेपालमा पनि चिनियाँ विकासको नीति अवलम्बन गर्नुपर्ने सोचिरहेको थिएँ । साँच्चै स्रोत र साधनको अधिकतम प्रयोग कसरी गर्ने भनेर संसारले चीनबाट सिक्नु जरुरी छ । आइतबारको दिन भएर होला पर्यटकको भिडभाड अझै बढ्दै थियो । चिनियाँ साथीका अनुसार स्थानीय सरकारले विभिन्न समुदाय र संस्कृतिका मानिसलाई व्यवस्थापनको जिम्मा दिएर पर्यटकलाई मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न गरी आर्थिक उन्नतिको क्षेत्रमा अघि बढाएको रहेछ ।
एउटा पार्कको भ्रमणमै एक दिन पर्यटकलाई भुल्याउन सकिने गरी निर्माण गरी पर्यटकको बसाइ लम्ब्याउन माहिर चिनियाँ नेतृत्व यसै सफल भएको होइन रहेछ भन्ने लाग्यो । घुमाइको पहिलो दिन हामी नजिकैको होटेलमा बस्यौँ । मिठो अतिथि संस्कार र मनोरञ्जनात्मक गतिविधिका साथै उचित मूल्यमा पर्यटकलाई सुविधासम्पन्न वासस्थानको व्यवस्थापन देखेर नेपालजस्तो पर्यटनको उच्च सम्भावना बोकेको देशले अवश्य पनि धेरै कुरा सुधार गर्नुपर्ने देखिन्छ ।
दोस्रो दिन हामी बिहान परम्परागत चिनियाँ ग्रिन टी पिएर अर्को पर्यटकीय गन्तव्य गोङबे अन्डरग्राउन्ड मार्केट गयाैँ । जहाँ सुपथ मूल्यमा विभिन्न वस्तुहरू विशेषगरी पर्यटकलाई लक्षित गरेर राखिएका गम्छा, सल, हस्तनिर्मित पस्मिनालगायत थिए । त्यहाँ चिनोस्वरूप केही सामान किनेर हामी नजिकै रहेको होमस्टेमा खाना खान गयौँ । सकेसम्म अर्गानिक र परम्परागत वस्तुहरू प्रयोग गरी बनाइएको पूरा गाउँ नै चीनको ‘एक गाउँ, एक उत्पादन’ नीतिअन्तर्गत होमस्टेमा परिवर्तन गरिएको रहेछ । मिष्ठान्न खाना र केही समयको आरामपछि हामी हाम्रो अन्तिम गन्तव्य समुद्री किनारातर्फ हुइँकियौँ । जाँदाजाँदै झ्यालबाट त्यहाँका एकीकृत बस्ती, गगनचुम्बी घर, पहेँला तोरीबारी र तीव्र गतिका रेलका लिकहरू आँखामा कैद गर्दै हामी समुद्री किनारमा पुग्यौँ ।
xixianglu bay नाम गरेको उक्त समुद्री किनारमा पुग्दा यात्राको सम्पूर्ण थकान मेटिएर नयाँ उत्साह थपिएको थियो । चिसो मौसमका कारण समुद्रमा कुनै मनोरञ्जनात्मक खेल खेल्न नसके पनि केही फोटोहरू खिच्दै समुद्रलाई आँखामा राखेर यात्रालाई विश्राम गरियो ।