जनवरी १ मा नयाँ वर्ष मनाउन थाल्नुको यस्तो छ कारण

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण

जनवरी १ पूर्वसन्ध्यामा छ । अबका केही घन्टापछि सन् २०२३ ले बिदा लिनेछ र नयाँ वर्ष सन् २०२४ शुभारम्भ हुनेछ । त्यसैले यो संवत् चल्ने देश र समाजमा बिदाइ र नयाँ वर्षको स्वागतमा मानिस खुसियाली साटिरहेका छन् । तर, जनवरी १ मै नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न वैज्ञानिक तथ्य । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौँ जिज्ञासा र कुतूहल हुनु स्वाभाविकै हो । त्यसैले यस ब्लगमा ऐतिहासिक तथ्यहरूको चर्चा गर्दै छु ।

हाम्रो पञ्चांगमा तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खाएको छ । हाम्रो क्यालेन्डरअनुसार नयाँ वर्ष चैत शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्छ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्य पनि जोडिएको छ ।

यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्छ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार देखिँदैन । जुन वेला रोम सभ्यताको विकास हुँदै थियो, खगोलीय घटना हुन्थ्यो । त्यहाँका पुजारीले जानकारी गराउन घन्ट बजाएर कि त चिच्याएर सूचना आदान–प्रदान गर्ने गर्दथे । उनीहरूले समयकालको जानकारी गराउने गर्थे, जसको नामबाट क्यालेन्डर शब्दको विकास भएको थियो भन्ने धेरै स्थानमा लेखिएको छ ।

तर, यसवेला हाम्रोमा पञ्चांग गणना भइसकेको थियो, जसमा पाँचवटा कुरा समावेश गरिएको छ । तिथि, बार, नक्षत्र, योग र करण हो । तर, पश्चिमी मोडलको क्यालेन्डरमा विशेषगरी बार र गते समावेश भएको हुन्छ । उनीहरूको क्यालेन्डरभन्दा थप तीन कुरा हामीकहाँ भएकाले खगोलीय गणनाहरूमा यसको महत्व छ । पश्चिमी सभ्यतामा पनि नयाँ वर्ष मनाउने परम्परा थिएन ।

(७०० इ.पू.) भन्दा पूर्व फर्स्ट मार्चमा नयाँ साल मनाउने परम्परा थियो । महिनाका हिसाबले १० महिना मात्रै हुन्थ्यो । मार्च भन्नाले अगाडि बढ्नु जस्तै परेड मार्च, जसको अर्थ अगाडि बढ्नु भन्ने हुन्छ । जनवरीभन्दा पहिले फर्स्ट मार्चबाट नयाँ साल प्रारम्भ भएको इतिहास भेटिन्छ ।

अप्रिललाई कुनै देवताको नाम दिए, त्यस्तै मे पनि उनीहरूको देवताहरूकै नाम हो । अरू महिनाको नाम नभेटेपछि क्वान्टिलिस्ट राखियो, जुन उनीहरूका इष्टदेव हुन् ।

नाम नमिलेपछि सिक्टिलेसबाट छैटौँ महिनाको नाम दिए, ल्याटिना सेप्टेम्बर भनेको सातौँ महिनाको नाम दिए, अक्टोबरबाट आठौँ महिना, नोभेम्बरबाट नौ महिना गणना गरी डिसेम्बरको नामकरण गरे ।

नोमा पम्पालिस्ट रोमका राजा थिए (७०० इ.पू.) भन्दा पछाडि उनले आाफ्नो ज्योतिषीसँगको सल्लाहअनुसार दुई महिना जोडिदिए, जनवरी र फेब्रुअरी । जेनेसबाट जनवरी र फेब्राबाट फेब्रुअरीको नाम दिएर १० महिनाबाट १२ महिनाको वर्ष बनाए ।

तर, नयाँ साल भने फर्स्ट मार्चबाटै सुरु हुने गर्दथ्यो । (४६ इ.पू.) मा जुलियर्स सिजर रोमका राजा भएपछि ३६५ दिनलाई १२ महिनामा विभाजन गरेपछि ‘जुलियन’ क्यालेन्डर तयार पारे । त्यसपछि भएका राजाहरूले आ–आफ्नो पालामा नाम परिवर्तन गर्दै आफ्नो नाम राखेर महिना निर्माण गरेको इतिहास पाइन्छ ।

१७५१ का ब्रिटिस पार्लियामेन्टबाट संसद्ले क्यालेन्डर विधान पास गर्याे र संसदीय व्यवस्था भएका देशहरूमा अनिवार्य लागू गराउने नियम बनायो ।

भारतमा सक् को नामबाट सक् संवत्, विक्रमादित्यको नामबाट विक्रम संवत्, कलि संवत् आदि नामबाट राज्य सञ्चालन भएको देखेपछि उनीहरूले सोचे, राजाको नामबाट वर्ष प्रारम्भ हुँदोरहेछ । तर, वास्तविकता के हो भनेर जान्ने कोसिस भने गरेनन् ।

भारत भ्रमणका क्रममा उनीहरूले राजाको नामबाट वर्ष मनाउनुपर्छ भन्ने सोचले १७५१ मा ब्रिटिस संसद्ले क्यालेन्डर विधान पास गरेपछि विश्वभरि यो नियम लागू भएको हो । जेनेस भन्ने राजाको नामले जनवरीदेखि नयाँ वर्ष मनाउने प्रचलन रहिआएको इतिहास पाइन्छ ।
(लेखक  ज्योतिष तथा वास्तुविद् हुन् ।)

सुझावित समाचार