निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको सर्ट फिल्म ‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएको छ।
उक्त फिल्म नेदरल्यान्डको रोट्रेड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’मा छानिएको हो।
नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने निर्माता रहेको ‘साक्षी रूख’ कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको थियो।
फिल्मका निर्माता नवनिधि दहाल ‘साक्षी रूख’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा छानिँदा उत्साह थपिएको बताउँछन्। उनी भन्छन्, ‘मेरो जानकारीअनुसार क्लेर्मोन्ट फेर्रान्डमा यो नै पहिलोपटक नेपाली फिल्म प्रतिस्पर्धामा छनोट भएको हो। छोटो फिल्म छनोट भए पनि यसले समग्र नेपाली फिल्म क्षेत्रकै लागि कुनै न कुनै अर्थ राख्छ भन्ने विश्वास छ।’
करिब १५ मिनेट लामो सर्ट फिल्म फेस्टिभललक्षित भएकाले तीन वर्षसम्म विभिन्न चलचित्र महोत्सवहरूमा पठाउने लक्ष्य राखिएको उनको भनाइ छ।