स्थायी मापदण्डसहितको जलविद्युत् विकास : विज्ञ

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

नेपालको जलविद्युत् विकासका लागि दिगोपन र स्थायित्वसहितको मापदण्ड अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को नियमित कार्यक्रम ‘फ्राइडे फोरम’अन्तर्गत शुक्रबार ललितपुरमा आयोजित ‘जलविद्युत् दिगोपन मापदण्डको व्यावसायिक मूल्य’ विषयक कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले समुदाय र वातावरणको भलाइका लागि जलविद्युत्को दिगोपनामा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘नेपाल जलविद्युत् दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको छ । नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत् आयोजनाले यसअघि नै गोल्ड सर्टिफिकेट लिएका छन् ।’ 

इप्पानसहित युएसआइडी, हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्स, नोराड र बिजबेलले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष कार्कीले इप्पान साझा दृष्टिकोणका साथ अघि बढ्न तयार रहेको बताए । कार्यशालामा बिजबेलका संस्थापक तथा अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आइएचए)का उपाध्यक्ष सुशील पोखरेलले नेपालबाट तीनवटा आयोजनाले स्ट्यान्डर्ड सर्टिफिकेट पाइसकेको भन्दै अब यसलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए । 

हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्स (एचएसए)का डेपुटी कार्यकारी निर्देशक एलियन किलाजिनले विभिन्न देशमा जलवायु परिवर्तनले पारेको प्रभावको उदाहरण दिँदै दिगोपनका मापदण्डहरू पूरा गर्दा त्यसले बिजनेस भ्यालु मात्र नबढाएर वातावरण, समाज र सुशासन (इएसजी)मा पारेको सकारात्मक प्रभावबारे प्रस्तुतीकरण दिएका थिए ।

युएसएआइडीका चिफ अफ पार्टी रोबर्ट क्रेमरले नेपालका आयोजनामा सार्वजनिक सहभागिता रहँदै आएकोमा वातावरण, सामाजिक र सुशासनका पक्षमा पनि थप ध्यान दिनुपर्ने बताए । 

सुझावित समाचार