इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान

बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजीकार्य जारी

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव पहिचान भएको छ । यसअघि चारजना विद्यार्थीको शव स्वदेश ल्याएर दाहसंस्कार भइसकेको छ । 

इजरायलस्थित नेपाली राजदूतावासले आइतबार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको जानकारी दिएको छ । यसअघि ५ कात्तिकमा नेपाली विद्यार्थीहरू नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट, गणेशकुमार नेपाली र आशिष चौधरीको शव नेपाल ल्याइएको थियो ।

उनीहरूको अन्त्येष्टि भइसकेको छ । मृतकमध्ये धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको शव पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ । 

यसैबीच, नेपाली दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्र/माध्यमहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा प्रयास केन्द्रित गरेको जनाएको छ । उनी २० असोजदेखि बेपत्ता छन् । उनीसँगै रहेका विद्यार्थीहरूले उनलाई हमास समूहले कब्जामा लिएर गएको बताउँदै आएका छन् । 

सुझावित समाचार