तीन करोड १६ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेका इन्जिनियरविरुद्ध मुद्दा

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। 

३० असार ०४६ मा सार्वजनिक सेवा प्रवेश गरेका रानाभाटको ६ कात्तिक ०७९ सम्मको समग्र आम्दानी र खर्चको अवस्थाबारे अख्तियारले विश्लेषण गरेको थियो। 

जाँच अवधिमा उनको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा देखिएको तीन करोड १५ लाख ८१ हजार रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको आरोपपत्रमा उल्लेख छ। 

उक्त सम्पत्तिबाट उनी र परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, विभिन्न कम्पनीको सेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको देखिएको अख्तियारको दाबी छ। 

रानाभाटले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई नै बिगाे कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो। 

बिगोबमोजिम जरिवाना र कैद सजाय तथा जाँच अवधिमा उनले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट लागत मूल्यमा बिगो जफत गरी पाउन अख्तियारले दाबी गरेको छ। 

पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी राधा रानाभाटसमेतको नाममा जग्गा खरिद, घर निर्माण, सेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात राखिएको भेटिएको छ। बिगो जफत गर्ने प्रयोजनका लागि पत्नी राधालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ।

सुझावित समाचार