चिनियाँका नयाँ गोदाममा दैनिकजसो सिआइबीको छापा

चिनियाँका थप केही सहयोगी पक्राउ, थुनामा रहेकाको पुनः बयान

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

प्रहरीले करिब सय केजी सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका थप गोदाम पत्ता लगाएर छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सुकेधारा, चप्पल कारखाना, बाँसबारी, सामाखुसीलगायत स्थानमा चिनियाँले भाडामा लिएका घरमा छापा हानेको हो ।

ती गोदाममा पनि सुन लुकाउन प्रयोग भएका थप सामान भने बरामद भएका छन् । साथै चिनियाँलाई सहयोग गर्ने केही नेपालीलाई पनि नियन्त्रणमा लिएर सिआइबीले सोधपुछ गरिरहेको छ । केही दिनयता कम्तीमा थप पाँच गोदाममा छापा हानिएको, तर सुन भने बरामद हुन नसकेको सिआइबी स्रोत बताउँछ । तर, ती घर पनि तस्करीको सुन लुकाउन प्रयोग हुँदै आएको पुष्टि भएको छ । ती ठाउँबाट सुन लुकाउन प्रयोग भएका ब्रेकसुलगायत सामान बरामद भएको छ । साथै, चिनियाँका कम्तीमा चार नेपाली सहयोगी पक्राउ परेको स्रोत बताउँछ । ‘तर, तस्करीमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएकाले उनीहरूलाई म्याद थप गरेका छैनौँ,’ सिआइबीका एक अधिकारीले भने । 

राजस्व अनुसन्धान विभागले यसअघि गरेको अनुसन्धानमा काठमाडौंमा चिनियाँका आठ अखडा पत्ता लगाएको थियो । ठमेल, सोह्रखुट्टे, लाजिम्पाट, कपुरधारा, पानीपोखरी, टोखा र धुम्बाराहीमा चिनियाँले गोदाम तथा निवासका लागि भाडामा लिएका घरहरू पत्ता लागेको थियो । सिआइबीले उनीहरूको थप गोदाम फेला पारे पनि थप व्यक्तिलाई भने अझै पक्राउ गर्न सकेको छैन । 

सिआइबीले यो घटनाको अनुसन्धान थालेको एक साता भइसकेको छ । जसक्रममा तस्करीमा प्रत्यक्ष संलग्न देखिएका कोही पनि पक्राउ परेका छैनन् । तर, तस्करी समूहबारे थप महत्वपूर्ण सूचनाहरू भने संकलन भएको सिआइबीका अधिकारीको दाबी छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायत शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने, सोध्ने तथा छापा हान्ने काम अनुसन्धानको नियमित प्रक्रिया नै भएको बताउँछन् । ‘सिआइबीले अभियुक्तहरूको पुनः बयान लिने र शंकास्पदहरूमाथि सोधपुछ गरिरहेको छ,’ उनी भन्छन्, ‘राजस्व र हाम्रो अनुसन्धान शैली फरक हुने भएकाले कतिपय कागजपत्र मिलाउने काम पनि भइरहेको छ ।’ १८ जना पक्राउ परेकामा राजस्व अनुसन्धान विभागले उनीहरूको बयान लिइसकेको थियो । सिआइबीले फेरि उनीहरूको बयान लिएको थियो । 

गत २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय केजी सुन तस्करीमा संगठित र अन्तरदेशीय समूहको संलग्नता देखिएपछि सरकारले यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको हो । एक साताको अवधिमा उसले अनुसन्धानमा ठूलो प्रगति देखाएको छैन । अनुसन्धान सुरु बिन्दुबाटै गरिएको हुँदा परिणाम आउन समय लाग्ने नेपाल प्रहरीका प्रवक्ता कडायत बताउँछन् । 

उनले भने, ‘अनुसन्धान सुरु बिन्दुबाटै गरिएको छ । अहिले कागजात अध्ययनका काम भइरहेका छन् । घटनामा संलग्न अभियुक्तसँग घटनाको ‘नेक्सस’ पहिल्याउने काम हुँदै छ । केही अभियुक्तलाई विभागले पक्राउ गरेको छ । घटनासँग लिंक देखिएका उनीहरूसँग बयान लिने काम हुँदै छ । परिणाम देखिन केही समय लाग्नेछ ।’ 

विभाग र प्रहरीको अनुसन्धान प्रक्रिया नै फरक रहेको हुँदा घटनाको सुरुवाती बिन्दुबाटै अनुसन्धान प्रक्रिया थालिएको उनको भनाइ छ । कडायत भन्छन्, ‘विभाग र प्रहरीको अनुसन्धान शैली नै फरक छ । त्यसो हुँदा घटनाको अनुसन्धान सुरुवाती बिन्दुबाटै सुरु गरिएको हो । यद्यपि, उहाँहरूले हामीकहाँ बुझाएको कागजातबारे भने अध्ययन भइरहेको छ ।’

सुझावित समाचार