पासपोर्टको संकट टर्‍यो : तीन महिनापछि थप पासपोर्ट आउँदै

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

फ्रान्सेली कम्पनी आइडिमियालाई दुई वर्षभित्र २८ लाख पासपोर्ट छपाइको जिम्मा

सरकारको भेरिएसनमार्फत २८ लाख थान पासपोर्ट खरिद गर्ने निर्णय कार्यान्वयनमा गएपछि पासपोर्टको आसन्न संकट टरेको छ । मौज्दात रहेको पासपोर्टले दुई महिना धान्ने र त्यसबीचमा नयाँ पासपोर्ट प्राप्त हुने राहदानी विभागले जनाएको हो । 

अब पासपोर्ट अभाव हुँदैन : सुरेन्द्रकुमार यादव महानिर्देशक, राहदानी विभाग 
सेप्टेम्बरसम्म पुग्ने मौज्दात छ, यसबीचमा खरिद भएको पासपोर्ट पनि आइपुग्नेछ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा गइसकेको छ । पाँच महिनामा अर्को टेन्डर आह्वान गर्ने गरी तयारीका काम पनि भइरहेका छन् । अब पासपोर्ट अभाव हुँदैन ।

एक महिनाअघि सरकारले सम्भावित संकट समाधानका लागि फ्रान्सेली कम्पनी आइडिमियाबाट दुई वर्षभित्र २८ लाख थान पासपोर्ट खरिद गर्ने निर्णय गरेको थियो । राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले भने, ‘हामीसँग सेप्टेम्बरसम्म पुग्ने मौज्दात छ, यसबीचमा खरिद भएको पासपोर्ट पनि आइपुग्नेछ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा गइसकेको छ । अब पासपोर्ट अभाव हुँदैन ।’ 

फ्रान्सेली कम्पनी आइडिमियाले चार वर्षअघि ठेक्का प्रक्रियाबाट २० लाख पासपोर्ट छपाइको जिम्मा पाएको थियो । आसन्न संकटलाई मध्यनजर राख्दै सरकारले आइडिमियालाई दुई वर्षभित्र २८ लाख पासपोर्ट छपाइको जिम्मा दिइसकेको छ । यसबाहेक थप ५० लाख थान नयाँ पासपोर्ट छपाइका लागि टेन्डर प्रक्रिया पनि अघि बढेको छ । ‘अब पाँच महिनामा टेन्डर आह्वान गर्ने गरी तयारीका काम भइरहेका छन्,’ यादवले भने । अहिले ३४ पृष्ठको सानो पुस्तिका सकिएको छ । पुरानै मूल्यमा ६६ पृष्ठको पासपोर्ट वितरण भइरहेको छ । 

फ्रान्सेली आइडिमियाले ३४ पृष्ठको सानो पुस्तिका १०.४५ अमेरिकी डलर र ६६ पृष्ठको ठूलो पुस्तिकाको १०.९५ अमेरकी डलरमा उपलब्ध गराएको थियो । अब ३४ पृष्ठको पासपोर्ट कपीको विगतको भन्दा सस्तोमा उपलब्ध गराउन आइडिमिया तयार भएको छ । ०७८ मंसिरदेखि विभागले ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालेको थियो । त्यसयता २३ लाख थान पासपोर्ट छपाइ भएको छ । 

करिब साढे तीन वर्ष ठेक्का प्रक्रियामा अल्झेको विभागले फ्रान्सेली कम्पनी आइडिमियालाई विद्युतीय राहदानी छाप्ने जिम्मा दिएको थियो । यही कम्पनीले छपाएको मेसिन रिडेबल पासपोर्ट ११ पुस ०६७ देखि वितरण भएको थियो । त्यसअघि नेपालमा हस्तलिखित राहदानी वितरण हुँदै आएको थियो । फ्रान्सेली कम्पनी ओभरथरको नाम पछि आइडिमियामा परिवर्तन भएको थियो । करिब १३ वर्षदेखि नेपालको पासपोर्ट छपाइमा यो कम्पनी संलग्न रहँदै आएको छ । 

सुझावित समाचार