बुबाको मृत्युपछि आमाले गरिन् अर्को बिहे, सहाराको खोजीमा ८ वर्षीय आरन

शनिबार, ३० असार, २०८०
डिजिटल संस्करण

बुबाको मृत्यु भएको केही महिनामै आमाले अर्को बिहे गरेर गएपछि ८ वर्षीय आरन विक अलपत्र अवस्थामा छन्। 

त्रिवेणी नगरपालिका वडा नम्बर १ छतारा सल्लेरी टोलका २३ वर्षीय सुरेश विक मजदुरीका लागि भारत गएका वेला उनको गाडीको ठक्करबाट भारतमै मृत्यु भएको थियो। मृत्यु भएको केही महिनामै आफ्नो ८ वर्षीय बालक आरन विक घरमै अलपत्र अवस्थामा छोडेर आमा धनसराले अर्को बिहे गरिन्। 

अहिले आरन ८० वर्षीय हजुरबुबा गिठे विक, ८३ वर्षीया हजुरआमा मैना विकको सहारामा बसिरहेका छन्। हजुरबुबाको सहारामा आरन विक छतारादेवी आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन्। 

आरनको हेरचाह गरिरहेका हजुरबुबा र हजुरआमाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ। आरनका हजुरबुबा, हजुरआमाको स्वास्थ्य मात्रै होइन आर्थिक अवस्था पनि निकै कमजोर छ। उनीहरूको नाममा बस्ने बासबाहेक जग्गाजमिन छैन। साँझ बिहान के खाने भन्ने समस्याले सताइरहने आरनले बताए।  

अरूसँग सहयाेग मागेर नातिलाई स्कुल पढाएका गिठे विकसँग सहयाेगका लागि अब गाउँ चहार्ने तागत पनि छैन। स्कुल जान, पढ्न रुचि राख्ने आरनका लागि पोसाक र कापी-कलमको जोहो गर्न सक्ने अभिभावक छैनन्। शारीरिक रूपमा कमजोर हुँदै गएका हजुरबुबा र हजुरआमाको रेखदेख कसरी गर्ने भन्ने चिन्ताले सताउने गरेको आरनले सुनाए। 

आरनका हजुरबुबा नातिको सहाराको खाेजीमा छन्। उनले भने, 'यसकाे अरू कोही भएन। आफूले जेनतेन गरी यहाँसम्म त हुर्काएँ। तर, अहिले आफ्नो अवस्था झन् कमजोर हुँदै गयो। हिँड्न पनि सक्दिनँ। अब नातिलाई सहारा कसले देला? यही चिन्ताले रातभरि निद्रा लाग्दैन।'

See More On

सुझावित समाचार