बागमती प्रदेश सरकारको बुधबार बसेको मन्त्रlपरिषद बैठकले बुधबार पहिलोपटक प्रदेशमा कार्यरत दुईजना कर्मचारीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ।
संघीय निजामती सेवा ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनको आधारमा प्रदेशमा कार्यरत दुईजना कर्मचारीलाई एघारौँ तहका कर्मचारी सचिव हुने व्यवस्थासहित बढुवा गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश निजामती सेवा ऐनमा रहेको एघारौँ तहका कर्मचारी सचिव हुने व्यवस्थालाई टेकेर प्रदेशमा नै दरबन्दी कायम रही शिक्षा तथा प्रशासन सेवामा कार्यरत दुईजना कर्मचारीलाई प्रदेश सचिवसरह रहने गरी एघारौँ तहमा बढुवा गरेको जनकारी दिए।
‘मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा (१) बमोजिम उनीहरूको बढुवा गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई शिक्षा एवं प्रशासन सेवातर्फ एघारौँ तह सचिव पदमा बढुवा गरेको छ,’ मन्त्री श्रेष्ठले बताए।
यस्तै, बैठकले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजना, हेटौँडा र पर्यटन विकास आयोजना, एकाइ कार्यालय, काठमाडौंको ०८० साउनदेखि २०८२ असार मसान्तसम्म दुई वर्षको लागि म्याद थप्ने निर्णय गरेको पनि मन्त्री श्रेष्ठले जानकारी दिए।
बैठकले प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्षको बजेटमा प्रमुख प्रतिपक्षी एमालेलगायत राप्रपा र नेमकिपासँग भएको सहमतिअनुसार उनीहरूको सुझाव र योजनाहरू समावेश गर्ने निर्णय गरेको पनि मन्त्री एवं प्रवक्ता श्रेष्ठले बताए।