राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो पार्टीमा आए असाध्यै राम्रो हुने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। दुवैजनासँग आफ्नो सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै लामिछानेले दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए।
‘यो त राम्रो हुन्थ्यो, त्यस्तो साथीहरूलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहना छँदै छ । चाहनाअनुरूप अन्य साथीहरूले पनि त्यसैगरी सोचिदिनुभयो भने त, हाम्रोतर्फबाट त सय प्रतिशत सकारात्मक छँदै छौँ नि । सम्बन्धका हिसाबले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । उहाँहरूको कामको हिसाबले पनि मैले त निरन्तर रूपमा उहाँहरूको कामको प्रशंसा गरेकै छु । चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म निरन्तर उहाँहरूको राम्रो काममा सघाउने काममा निरन्तरता दिएकै जस्तो लाग्छ मलाई । त्यो आफैँमा राम्रो संकेत बन्न सक्यो र हुन सकेछ भने हाम्रा लागि त्यो खुसीको कुरा हुनेछ,’ उनले भने।