०५६ माघमा चन्द्रदत्त रेग्मी रोजगारीका लागि बेलायत गएका थिए। उनी बेलायत गएको तीन वर्षसम्म परिवारसँग नियमित सम्पर्कमा थिए।
बागलुङ नगरपालिका–१ ३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त समय–समयमा घरपरिवारलाई पैसा पठाउँथे। बाबुको मृत्युपछि बिदेसिएका चन्द्रदत्तको घरमा आमा र दाजु–भाउजू दिए।
उसवेला घर–घरमा मोबाइल थिएन। उनी बिस्तारै परिवारको सम्पर्कबाट बाहिरिँदै गए। बेलायत गएपछि टन्न धन–सम्पत्ति कमाउने, आफ्नो घरजम गर्ने र आमासँगै परिवारलाई उतै लाने सपना देखेका चन्द्रदत्तले बेलायती पिआर पाउन सकेनन्। सपना पूरा नभएपछि उनमा बेचैनी बढ्दै गयो।
घर छाडेको २४ वर्षपछि बेपत्ता भएका चन्द्रदत्त शनिबार एक्कासि घर फर्किए। उनी घर फर्किएसँगै ८७ वर्षीया आमा चिरञ्जीवी रेग्मी र परिवारमा खुसी छाएको छ। घरको कान्छो छोरा बुढेसकालको सहारा सम्पर्कमा आउँदा चिरञ्जीवीका आँखा हर्षले ओभाना छैनन्।
‘म सानो छँदा मलाई हजुरआमाले कान्छो काका हुनुहुन्छ भन्नुहुन्थ्यो । उहाँ विदेश गएको र उतै हराएको कुरा सुन्दा मलाई त्यो कथाजस्तै लाग्थ्यो, चन्द्रदत्तका भतिज अशोक रेग्मीले भने, ‘हजुरआमाका कुरा सुनेपछि मेरो मनमा काका कहाँ हुनुहुन्छ भन्ने कुतूहल जाग्थ्यो। मैले आकाशमा हवाईजहाज उड्दा काकालाई ल्याइदे भन्ने गर्थेँ रे। म २२ वर्षको भएँ। मेरो काकालाई न देख्न पाएको थिएँ न कहाँ हुनुहुन्छ भन्ने खबर । तर, घर छाडेको २४ वर्षमा उहाँलाई आफैँ सम्पर्कमा ल्याएर घर लिएर आएको छु।’
०६८ सालमा नेपाल आए, तर परिवारको सम्पर्कमा आएनन् । बेलायतमा पिआर नबनेपछि ०६८ सालमा नै उनी नेपाल आएको खुलेको छ।
‘काका विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ, त्यहाँ कार्ड बनेन कमाइ पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै, धेरै कमाएर घर लैजान्छु भन्ने सोच पलाएर काम गर्न थाल्नुभएछ। काठमाडौंसँगै हेटौँडा, सल्यान, प्युठानलगायतका विभिन्न ठाउँमा कामका लागि जानुभएको रैछ,’ अशोकले भने, १२ वर्षसम्म नेपालमा पनि केही गर्न नसकेपछि उहाँमा घर फर्किने सोच पलायो।’
आशा मारेको भाइ फर्किएर आयो
काठमाडौं अलपत्र अवस्थामा घुमिरहेको वेला हेटौँडाको थाहा नगरपालिका– १ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनी परिवारको सम्पर्कमा आएको चन्द्रदत्तका दाजु लेखनाथ शर्मा बताउँछन्।
सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेललाई सम्पर्क गरे। वडाध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भनेअनुसारको सबै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौंबाट घरमा ल्याए।
‘घर छाडेको २४ वर्षमा भाइ घर फर्कियो। १२ वर्ष त हाम्रो कुनै सम्पर्क नै भएन। हाम्रो परिवारलाई भाइ जिउँदो छ भन्ने झिनो आशा थियो,’ लेखनाथले भने, ‘धेरै ठाउँमा सोधीखोजी गर्याैँ। तर, कुनै अत्तोपत्तो लागेन। आशा नै मारेर बसेका थियौँ। आफूले बिदाइ गरेर विदेश पठाएको भाइ नफर्किँदा यही कुराले पिरोलेको थियो। तर, भाइ फर्किएर आयो हाम्रो परिवारमा ठूलो खुसी छाएको छ।’
कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानुअघि लामो समय काठमाडौंमै कानुन व्यवसायीको फर्ममा काम गर्ने गर्थे। विदेश जानुभन्दा पहिले विवाह गर्ने सोचमा रहेका चन्द्रदत्त जब संकटमा परे उनमा विवाह गर्ने सोच हरायो।परिवारमा चार भाइमध्ये उनी कान्छा हुन्। उनले अब बिहे नगर्ने निधो गरेको बताए। उनले अब आमा र घरपरिवारसँगै बसेर गाउँमै केही गर्ने निर्णय गरेका छन्।