होमस्टेमा बढ्दै छ आकर्षण

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

पछिल्लो समय होमस्टेमा बस्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्दो छ । आतिथ्य सत्कारमा आत्मीयता झल्कने तथा परिवारकै सदस्यजस्तो भएर बस्न पाइने भएकाले पनि होमस्टेमा पर्यटकको आकर्षण बढेको हो । 

हाम्रो देश विविध संस्कृतिले भरिपूर्ण छ । यदि तपाईंले नेपालको संस्कृति र सभ्यतालाई नजिकबाट अनुभव गर्न चाहनुुहुन्छ भने होमस्टेमा बस्नु तपाईंका लागि श्रेयष्कर हुन्छ । यहाँ बस्दा तपाईंले सम्बन्धित परिवारको रहनसहन तथा मौलिकताबारे धेरैभन्दा धेरै जानकारी हासिल गर्नुहुन्छ । होमस्टेमा मिल्ने अनुभव कुनै पनि होटेलमा तपाईंलाई मिल्नेछैन ।

कुनै रिसोर्ट वा होटेलमा बस्दा तपाईंले मेनुअनुसार मूल्य तिर्नुपर्ने हुन्छ र आफ्नो बजेटलाई पनि ध्यानमा राख्नुपर्छ । यसको मतलब होमस्टेमा तपाईंले चाहेको खानेकुरा पाउनुहुन्छ भन्ने होइन । तर, त्यहाँ उपलब्ध अर्गानिक खाना रोज्नका लागि तपाईं स्वतन्त्र हुनुहुन्छ । नौलो खाना टेस्ट गर्न पाउनुहुन्छ । होमस्टेमा अर्गानिक खानपान गर्न पाइन्छ । जस्तो, तपाईं थकाली समुदायका व्यक्तिको घरमा बस्नुभयो भने थकाली भोजन वा गुरुङ समुदायका व्यक्तिले सञ्चालन गरेको होमस्टेमा बस्नुभयो भने गुरुङ संस्कृतिअनुसारको खानपान गर्न पाउनुहुन्छ । उनीहरूको भाषाबारे पनि तपाईंले धेरैभन्दा धेरै जानकारी लिन सक्नुहुन्छ ।

ठूला होटेलमा गाइड हुन्छन् । उनीहरूले तपाईंलाई त्यहीँ मात्रै घुमाउँछन्, जुन कुरा प्याकेजमा उल्लेख छ । वा उनीहरूले पनि त्यही कुरामा मात्रै जानकारी लिएका हुन्छन्, जसका लागि होटेल सञ्चालकले उनीहरूलाई पैसा तिरेका हुन्छन् । तर, होमस्टे सञ्चालकसँग तपाईंले आफूलाई मन परेको स्थानीय लोकेसनबारे सबै जानकारी लिन सक्नुहुन्छ । किनकि, होमस्टे सञ्चालक आफैँ स्थानीय हुन्छन् । उनीहरूसँग त्यस ठाउँबारे धेरैभन्दा धेरै जानकारी हुन सक्छ । तपाईंलाई थाहा नभएका आसपासका अन्य गन्तव्यहरूका विषयमा पनि उनीहरूले जानकारी दिनेछन् । 

See More On

सुझावित समाचार