दिक्तेल–रूपाकोट–मझुवागढी नगर प्रतिभा : गायनतर्फ प्रदीप र नृत्यतर्फ सलिना प्रथम

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकामा आयोजना गरिएको प्रतिभा छनोट प्रतियोगिताको गायनतर्फ वडा नं. ११ खार्मीका प्रदीप राई र नृत्यतर्फ वडा नं. ६ नेर्पाकी सलिना भुजेल प्रथम भएका छन्।

गायनतर्फ २५ जना प्रतिभालाई पछि पार्दै प्रदीप र नृत्यतर्फ १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै सलिना प्रथम भएका हुन्।

खोटाङ कलाकार समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने दुवैजनाले नगद रु. २०–२० हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन्। प्रथम हुने दुवैजना प्रतिभालाई जिल्लाव्यापी छनोटमा सहभागी गराइने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राईले जानकारी दिए। 

गायनतर्फ वडा नं. १३ नुनथलाका युवराज राई दोस्रो, नुनथलाकै प्रनिशा राई तेस्रो, वडा नं. ४ खाल्लेका रोजन गदाल चौथो भएका छन्। नृत्यतर्फ वडा नं. ५ लफ्याङकी सुष्मा राई दोस्रो, लफ्याङकै रेजिना मग्राती तेस्रो र वडा नं. ८ दोर्पाकी अनिशा हिङमाङ चौथो भएको आयोजकले जनाएको छ। 

प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ३ बाम्राङका किन्दर राई, जयन्ती राई, जानुका राई, उजुर राई र विपिन राईले नगद पुरस्कार प्रदान गरेका छन्। 

स्वर्गीय बुबाहरू भीमबहादुर राई र कृपाध्वज राई तथा आमाहरू मुगासरी राई र भैरमाया राईको सम्झनामा रु. ९० हजार नगद पुरस्कार प्रदान गरेका हुन्। 

प्रथम, द्वितीय र तृतीय हुने दुवैतर्फका प्रतिभाले क्रमशः नगद रु. २० हजार, रु. १५ हजार र दश हजार प्राप्त गरेका छन्। चौथो हुने प्रतिभालाई आयोजकले सान्त्वनास्वरूप नगद रु. दुई–दुई हजार प्रदान गरेको जनाइएको छ । 

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने नारासहित जिल्लाका दशवटै स्थानीय तहमा प्रतिभा छनोट भइरहेको छ।

स्थानीय तहबाट छनोटमा परेका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा २०८०’ छनोट गरिने आयोजकले जनाएको छ। 
 

See More On

सुझावित समाचार