एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कमजोर ब्याटिङ गरेको नेपालका बलर चम्किँदा कतार ६८ रन अन्तरले पराजित भएको हो।
एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटिएर अलआउट भयाे। कतारका खुराम शाहजादले सर्वाधिक २८ रन बनाउँदा अमिर फारुकले २२ र गयन मुनविराले १४ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिँदा सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा एक सय ५७ रन बनाएको थियो। सन्दीप लामिछाने सर्वाधिक ४२ रनको योगदान गर्दै नटआउट रहे। क्याप्टेन रोहित पौडेलले २७, आशिफ सेखले १९, दीपेन्द्रसिंह ऐरी १२ तथा सोमपाल कामी र आरिफ सेखले ११–११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
कतारका अमिर फरुकले सर्वाधिक चार विकेट लिए। ओवाइस अहमदले तीन, गयान मुनविराले दुई र इकरामुल्लाह खानले एक विकेट लिए।