पोलमा छाडिएका अनावश्यक तार १५ दिनभित्र हटाउन निर्देशन

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

सहरलाई नै कुरूप पार्ने गरी पोलमा छाडिएका अनावश्यक तार १५ दिनभित्र हटाउन काठमाडौं महानगरपालिकाले सेवाप्रदायकलाई निर्देशन दिएको छ । टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायक कार्यालय तथा संघ–संस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, केबल प्रसारक संघलगायतलाई महानगरले पत्र पठाउँदै तार हटाउन समय दिएको हो । 

सेवाप्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ–संस्थाहरू दूरसञ्चार प्राधिकरण, सिसिटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केबल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपाल (आइएसपिएएन)लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ । सडक–किनारामा भएका धेरै पोल विद्युत् प्राधिकरणका हुन् । 
७० प्रतिशत तार अनावश्यक
दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन् । टाङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ । यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेको छ । तार धेरै भएपछि पोल लड्न सक्ने र आगो लागेर दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अवस्था सुधार गर्न धेरैपटक सरोकारवाला कार्यालयका अधिकारीसँग बैठक बसेको, तर अपेक्षित सुधार नभएपछि निर्देशनात्मक पत्राचार गरेको बताए । 

निर्धारित समयमा तार हटाउने काम नभए १६औँ दिनदेखि महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने जनाइएको छ । यसबाट लाभग्राहीमा असुविधा भए त्यसको जिम्मेवार सेवाप्रदायकले लिनुपर्ने उल्लेख छ ।

See More On

सुझावित समाचार