यस वर्ष ताप्लेजुङमा पनि समयमै पाठ्यपुस्तक

शनिबार, २ बैशाख, २०८०
डिजिटल संस्करण

यस वर्ष ताप्लेजुङका विकट क्षेत्रमा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुगेका छन्। जिल्लाका उत्तरी क्षेत्रमा परीक्षा सञ्चालन हुने वेलासम्म पुस्तक नपुग्दा समस्या हुने गरेकोमा यस वर्ष समयमै पुस्तक आइपुगेको हो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरका प्रमुख भुपराज थापाका अनुसार पहिलोपटक चैत्र २० गते नै हिमाली जिल्ला ताप्लेजुङलाई पाठ्यपुस्तक पठाउन सुरु गरिएको हो। ताप्लेजुङको पूर्वी भेगको सिदिङ्वा गाउँपालिकाका २९ विद्यालयमा पुस्तक पठाइसकेको पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताए।

उता, उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिकाका ४० वटा विद्यालयमा पनि पाठ्यपुस्तक पुगेको उनको भनाइ छ। जिल्लाका ३३५ विद्यालयमध्ये आधाभन्दा धेरैमा पुस्तक पुगेको र अन्यमा पनि पुस्तक दिवस (वैशाख ५ गते)सम्म पठाउने मिश्रले बताए।

फक्ताङलुङ– ४ इखावुस्थित रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले पुस्तक विद्यालयमा आइपुगेको पुष्टि गरे। ‘यस वर्ष समयमा नै विद्यालयमा पुस्तक आइपुगेको छ। अब मंगलबारदेखि विद्यालय लाग्दा विद्यार्थीलाई वितरण गर्छौं।’

सुझावित समाचार