कप्तान रोहितकुमार पौडेल क्रिजमा आउँदा नेपालले दुवै ओपनर गुमाइसकेको थियो । अघिल्ला म्याचमा जबर्जस्त फर्ममा रहेका आसिफ सेशेख डक आउट भएका थिए भने रनका लागि संघर्ष गरिरहेका कुशल भुर्तेल पनि पाँच रनमा आउट भएका थिए ।
धराशायी भएको नेपाली टिमलाई सम्हाल्ने मात्र होइन, टस जितेर आफैँले ब्याटिङ रोजेकाले कप्तान रोहितका अगाडि सो निर्णय सही थियो भन्ने स्थापित गर्ने चुनौती पनि थपिएको थियो ।
अर्कोतिर, ‘गर या मर’को अवस्थामा रहेको युएई विशेष रणनीतिसहित मैदानमा फिल्डिङमा उत्रिएको थियो । उसले पहिलो बलबाटै सिमरलाई होइन, स्पिनरलाई उतारेको थियो ।
नेपालका दुवै ओपनर सिमरहरूमाथि सहजै हाबी हुने पूर्वानुमानसहित युएईले दुवै इनिङबाट स्पिनर लगायो । नेपाली ओपनर त्यही रणनीतिको सिकार बने । दुवै ओपनर एलबिडब्लू धरापमा परे ।
रोहितले स्पिनरलाई राम्रो खेल्न सक्ने क्षमता पर्गेल्दै युएईले उनीविरुद्ध सिमर पनि प्रयोग गर्याे । साथै, स्पिनरको अट्याक जारी नै रह्यो ।
रोहितले धीरता देखाए । खेललाई बिस्तारै अगाडि बढाउने अठोट गरे । केही बेरमै आक्रामक सट खेल्ने चक्करमा कुशल मल्ल पनि आउट भएपछि भीम सार्की क्रिजमा आए ।
रोहितले उनलाई टिकेर खेल्न र इनिङ बिल्डअफ गर्न भने । भीमले त्यही गरे । दुवैले बिस्तारै बिस्तारै बोर्डमा रन बढाए । ५४ रनको साझेदारीपछि भीमले संयमता गुमाए ।
लगातार दुई बलमा चौका प्रहार गरिसकेपछि थप रन बटुल्ने र स्कोरबोर्डलाई दौडाउने सोचेर उनले मुस्तफामाथि छक्का प्रहार गर्न खोजे । तर, बलको सम्पर्क ब्याटमा ठीक ठाउँमा थिएन । उनी मिडविकेटमा समातिएपछि पुनः युएई खेलमा फर्कियो ।
तर, रोहितले संयम गुमाएनन् । आरिफ शेखसँग मिलेर पुनः अर्धशतकीय इनिङ खेले । यी दुवैले ९३ बलमा ८६ रन बनाएर अर्धशतकीय साझेदारी गरे ।
एक सय १२ बल खेल्दै ७७ रन बनाएपछि ठूलो सट खेल्ने क्रममा उनी विकेट गुमाउन पुगे । क्रिजबाट पेभेलियनतर्फ फर्किंदै गर्दा नेपाली स्कोरबोर्ड उनी आउँदाजस्तो संकटको अवस्थामा थिएन । ३७ ओभरमा नेपालले एक सय ६४ रन बनाइसकेको थियो । बाँकी ओभरमा प्रतिबल रन बनाउँदा पनि नेपाल युएईविरुद्ध प्रतिस्पर्धी लक्ष्य दिन सक्ने अवस्थामा पुर्याएर उनी फर्किए ।