कोसी अस्पतालको इमर्जेन्सीमा पुर्याइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै डाक्टरले फिर्ता पठाए, दाहसंस्कारको तयारी चल्दै गर्दा शिशुका हातगोडा चलमलाए, अहिले अर्को अस्पतालमा उपचार हुँदै
१८ दिने शिशुका पिता दिलीप मुखिया भन्छन्–छोरी सिकिस्त भएपछि बिहान कोसी अस्पतालको इमर्जेन्सीमा पुर्यायौँ । डा. आकाश यादवले हामीलाई छोरीको सास छैन, धड्कन चल्न छाडिसक्यो, घर लैजानु भने । डाक्टरको घोषणापछि हामीसँगै आफन्तको पनि रुवाबासी चल्यो । त्यसपछि दाहसंस्कारको तयारी गर्ने योजना बनाएर हामी निराश हुँदै घर फर्कियौँ । तर, घर पुगेपछि त छोरीका हातगोडा चलमलाए । तत्काल गोल्डेन अस्पताल पुर्यायौँ । अहिले छोरीको उपचार भइरहेको छ ।
विराटनगरस्थित कोसी अस्पतालले उपचारका लागि ल्याइएकी १८ दिने शिशुलाई जीवित छँदै मृत घोषणा गरेर घर फर्काइदिएको छ । मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान छोरीलाई कोसीको इमर्जेन्सीमा लगेका थिए । तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेपछि अस्पतालमै उनीहरूसहित आफन्तको रुवाबासी चल्यो ।
कोसी अस्पतालले पनि स्विकार्यो
अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादव भन्छन्–नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र सास पनि नचलेको भनेर उपचारमा संलग्न चिकित्सकले भनेका रहेछन् । यसबारे गहन रूपमा बुझ्दै छौँ । गल्ती रहेछ भने अस्पतालले कारबाही गर्छ ।
आफू सम्हालिँदै र बिलौना गरिरहेकी पत्नीलाई सम्झाउँदै दिलीप छोरीलाई लिएर घर फर्किए । घरमा झन् धेरै रुवाबासी चल्न थाल्यो । दाहसंस्कारका लागि तयारी चल्दै गर्दा अकस्मात् शिशुका हातगोडा चलमलाएपछि परिवारले तत्काल विराटनगरकै गोल्डेन अस्पताल पुर्यायो जहाँ अहिले दिलीपकी १८ दिने छोरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
‘छोरी सिकिस्त भएपछि बिहान कोसी अस्पतालको इमर्जेन्सीमा पुर्यायौँ । डा. आकाश यादवले हामीलाई छोरीको सास छैन, धड्कन चल्न छाडिसक्यो, घर लैजानु भने । डाक्टरको घोषणापछि आफन्तहरूको पनि रुवाबासी चल्यो । त्यसपछि दाहसंस्कारको तयारी गर्ने योजना बनाएर हामी निराश हुँदै घर फर्कियौँ,’ दिलीपले भने, ‘तर, घर पुगेपछि त छोरीका हातगोडा चलमलाए ।’ त्यसपछि छोरीलाई तत्काल गोल्डेन अस्पताल पुर्याएको उनले बताए । सुरुमा सघन उपचार कक्ष (आइसियू)मा उपचार गरिएकोमा पछि भेन्टिलेटरमा सारिएको दिलीपले बताए ।
उमा १७ पुसमा कोसी अस्पतालमै नर्मल सुत्केरी भएकी थिइन् । एक केजी चार सय ग्रामकी छोरी र आमा दुवै स्वस्थ रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो । त्यसपछि उमा विराटनगर– ८, मधुमारास्थित माइतीमा बस्दै आएकी थिइन् । तर, बुधबार अचानक छोरीको श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्सचालकसमेत रहेका दिलीपले बिहान आमाछोरीलाई कोसीको आकस्मिक कक्षमा पुर्याएका थिए ।
कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले पनि शिशुको मुटुको धड्कन नचलेको भन्दै आकस्मिक कक्षका चिकित्सकले घर लैजान भनेको स्वीकार गरेका छन् । ‘नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र सास पनि नचलेको भनेर उपचारमा संलग्न चिकित्सकले भनेका रहेछन्,’ उनले भने, ‘यसबारे गहन रूपमा बुझ्दै छौँ । गल्ती रहेछ भने अस्पतालले कानुनअनुसार कारबाही गर्छ ।’
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उपचारका क्रममा चिकित्सकको त्रुटि भएको भए छानबिन गरेर विभागीय कारबाही गर्न अस्पताललाई निर्देशन दिएको बताए । ‘केही बुझाइको समस्याले गर्दा पनि घटना भएको रहेछ,’ उनले भने, ‘शिशुको उपचार भइरहेको छ । घटना विस्तृतमा बुझ्न निर्देशन दिएको छु । चिकित्सकको त्रुटि भए छानबिन गरेर विभागीय कारबाही गर्न अस्पताललाई निर्देशन भइसकेको छ ।’
मृत घोषणा गर्ने डाक्टरमाथि शिशुका आफन्तको आक्रमण, पक्राउ परेका तीनजनालाई दुई पक्षको सहमतिपछि छाडियो
जीवितै शिशुलाई मृत घोषणा गरेर घर पठाउने डा. यादवविरुद्ध आफन्तले आक्रोश पोखेका छन् । यादवलाई कडा कानुनी कारबाहीको माग गर्दै दिनभर अस्पतालपरिसरमा आन्दोलित उनीहरूले कुटपिटसमेत गरेका छन् । कुटपिटबाट डा. यादव घाइते भएका छन् ।
आक्रमणमा संलग्न मनोज मुखिया, मन्नु मुखिया र अर्का एक नाम नखुलेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकोमा पछि दुई पक्षको समझदारीमा छाडिएको छ । दुवै पक्ष (अस्पताल र शिशुका परिवार)बाट गल्ती भएको र आइन्दा गल्ती नगर्ने समझदारी भएपछि नियन्त्रणमा लिइएकालाई छाडिएको मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाले बताए ।
अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादव भन्छन्–नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र सास पनि नचलेको भनेर उपचारमा संलग्न चिकित्सकले भनेका रहेछन् । यसबारे गहन रूपमा बुझ्दै छौँ । गल्ती रहेछ भने अस्पतालले कारबाही गर्छ ।