मंसिर नलाग्दै हिउँ पर्ने मनाङमा पुसमा पनि देखिएन, हिमाल कालापत्थरमा परिणत

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण
मंसिर नलाग्दै हिउँ पर्ने मनाङमा पुसमा पनि देखिएन, हिमाल कालापत्थरमा परिणत

हिमपात नहुँदा कालापत्थर बनेको गंगापूर्ण हिमाल । तस्बिर सौजन्य : विनोद गुरुङ

विगतका वर्षमा मंसिर नलाग्दै मनाङका डाँडाकाँडा हिउँले सेताम्मे हुन्थे । उत्तर र पश्चिमतिर सेता हिमाल टल्किन्थे । हिउँ परेपछि खेती–किसानी गर्नेहरू बाली सप्रिने भयो भनेर खुसी हुन्थे । तर, केही वर्षयता मनाङमा हिउँ कम पर्न थालेको छ । अझ यसपालि त पुस सकिने वेलासम्म पनि हिमपात नहुँदा मनाङका सेता हिमाल कालापत्थरमा परिणत भएका छन् ।

हिमपात नभए पनि यहाँ अघिल्लो वर्षभन्दा चिसोचाहिँ बढेको सर्वसाधारणको भनाइ छ । सर्वसाधारणको भनाइलाई सही थप्दै प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेलले पनि निकै चिसो अनुभव गरेको बताइन् । ‘मनाङमा हालसम्म हिउँ परेको छैन । तर, चिसो निकै बढेको छ,’ उनले भनिन् ।

मनाङमा अघिल्लो साल असोज तेस्रो सातामै हिमपात भएको थियो । हुन त असोजमा हिमपात बिरलै हुने गर्छ । प्रायः मंसिर अन्तिम सातादेखि मात्र हिमपात सुरु हुन्छ । चिसो र हिमपात छल्न मनाङवासीहरू कात्तिक अन्तिम र मंसिर पहिलो साता काठमाडौं, पोखरा, बेँसीसहर झर्ने गर्छन् । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । तर, यस वर्ष सिजनमा समेत हिमपात भएको छैन ।

मनाङ पिसाङकी डोल्मा गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछिन् । विश्वकै चर्चित अन्नपूर्ण राउन्ड पदयात्रा मार्गमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश बनेका छन् । ‘विगतमा जाडोयाममा हिउँले मनाङका डाँडा सबैतिर सेताम्मे देखिन्थे, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला बन्दै गएका छन्,’ गुरुङ भन्छिन् । पहिले ६–७ फिटसम्म हिउँ परे पनि अचेल एक फिट हिउँ पनि नपर्ने गुरुङ बताउँछिन् ।

आधा दर्जन हिमाल कालापत्थरमा परिणत
मनाङको गंगापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि मनाङको तापक्रमसमेत बढ्न थालेको छ । मनाङका हिमनदी पग्लने क्रम बढेको छ । वर्षौँदेखि मनाङवासीले जलवायुको परिवर्तनको असर प्रत्यक्ष रूपमा भोग्दै आएका छन् ।

हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२, थान्चोकका किसान कुलबहादुर घलेले बताए । ‘हिउँ परे खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा स्याउ, आलु, गहुँ, फापरलगायत बाली सप्रिन्छन् । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन,’ उनले भने ।

हिमपातले स्याउका साथै आलु, करु, गहुँ, फापर र तरकारी बालीलाई राम्रो चिस्यान पुग्ने उनले बताए । हिउँ पर्न छाडेपछि मनाङका लेक र खर्कमा पाइने यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी पनि पाइन छाडेको छ । सिजनमा समेत हिमपात नहुँदा मनाङका अधिकांश किसान चिन्तित बनेका छन् ।

जलवायु परिवर्तनको असर हिमक्षेत्रमा
जलवायु परिवर्तनले हिमालमा हिउँ जम्न छाडेको, समयमा हिउँ र पानी नपरेको विज्ञहरूको भनाइ छ । जलवायु परिवर्तनले मानिसको जनजीविकामा असर परेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय पानी पर्ने समयमा पानी नपर्ने, हिउँ नपर्ने, बालीनालीमा समयभन्दा अघि नै पाक्नेजस्ता जलवायु परिवर्तनका असर देखिन थालेको छ । 

मानव सिर्जित समस्याजस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनले मानव जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पु¥याएको बताइन्छ । कम्तीमा पनि मानव सिर्जित समस्या कम गर्न सकिए जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरण गर्न सकिने विज्ञहरू बताउँछन् ।

सुझावित समाचार