सप्तरी २ बाट दोब्बरभन्दा बढी मतान्तरले डा. सिके राउत विजयी भएका छन्। राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।
बुधबार सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गरे। राउतले ३५ हजार ४२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९७८ मत पाए।
योसँगै सप्तरी–२ मा पुरानो इतिहास कायमै रह्यो। यो क्षेत्रबाट ०५६ सालयता दोहोरिएर कोही पनि उमेदवार विजयी भएको रेकर्ड छैन।
०५६ मा तत्कालीन सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष गजेन्द्रनाराण सिंह नेपाली कांग्रेसका उमेदवार रामकुमार चौधरीसँग १७ मतान्तरले पराजित भएका थिए।
यही मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी–२ मा ६४ हजार ५६० मत खसेको थियो। यहाँको कुल मतदाता संख्या ९५ हजार ३८४ हो।