१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Friday, 09 May, 2025
कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जानेहरूको लाइन
२o७९ कार्तिक २८ सोमबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनावको मुखमा रोजगारीका लागि भारत जानेहरूको गुनासो– भोट हालेर भोक टर्दैन, परिवार धान्न मजदुरी नगरी सुख छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार o६:१६:oo

निर्वाचन आउन एक साता बाँकी छ । आवधिक निर्वाचनमार्फत योग्य जनप्रतिनिधि छान्न आफ्नो मताधिकारको प्रयोग गर्ने वेला सुदूरपश्चिमी जिल्लाहरूबाट रोजगारीका लागि भारत पस्नेको नाकामा लर्को छ । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक पाँच सयभन्दा बढी नागरिक भारत गइरहेका छन् । ‘भोटले भोको पेट नभर्ने’ उनीहरूको गुनासो छ । 

मजदुरी गरेर घर–व्यवहार धानिरहेका कैलालीको जोशीपुर गाउँपालिका– ५ का केशव तिखात्तरी आइतबार बेलुकी त्रिनगर नाका हुँदै भारतको पुना लागेका छन् । होटेलमा काम गर्ने उनी दसैँ, तिहार मनाउन गत असोजमा घर आएका थिए । ‘चुनाव भनेर के गर्नु, परिवार, बालबालिकाका लागि काम गर्न नगई हुँदैन,’ केशवले बाध्यता सुनाए, ‘भोट हाल्ने मन त थियो नि, तर भोटले खान पुग्दैन ।’ 

भोट हाल्ने वेला कामका लागि जानु आफ्नो बाध्यता भएको केशवको भनाइ छ । उनकी पत्नी शान्ति कांग्रेसबाट दलित महिला वडासदस्य छिन् । ‘मैले उता (भारत) दुःख गरे यता घरपरिवार चल्ने हो,’ उनले भने, ‘चुनाव भनेर घरमा बसेर खान मिल्ने होइन, चुनाव आएर हामीलाई के नै हुन्छ र ?’ उनीसँगै जोशीपुरका १० जना पनि कामको खोजीमा भारत लागेका छन् । 

अछामको लुग्राका चन्द्र बोहरालाई चुनावमा कसले जितोस्, हारोस् भन्ने मतलब छैन । नेता र उम्मेदवारहरू मत माग्दै उनको घर नपुगेका होइनन्, तर उनी परिवार पाल्ने जोहो गर्न भारतको बेंग्लोर लागेका छन् । मुम्बईमा चौकीदारी गर्ने उनी गत जेठमा घर फर्केका थिए । ‘५–६ महिना बेरोजगार बस्दा घर खर्च चलाउन निकै समस्या हुन थाल्यो,’ उनले भने, ‘उता रहेका आफन्तले काम पाइएको छ भनेपछि बेंग्लोर जान लागेको हुँ ।’ चुनावमा भोट हालेर जिताएका नेताहरूले आफूजस्ता विपन्नलाई नहेर्ने उनको बुझाइ छ ।

मुखैमा आएको चुनावमा भोट हाल्ने रहर भए पनि बाध्यताले बिदेसिन लागेको कैलालीको लम्कीका देवेन्द्र विकले बताए । ‘भोट हाल्ने रहर त छ नि,’ उनले भने, ‘चुनाव भनेर नेताका पछाडि लागेर के गर्नु, परिवार पनि हेर्नुपर्‍यो । नेताका पछाडि लागेर न जागिर पाइन्छ, न खान पुग्छ ।’ चुनावका वेला आश्वासन दिने नेताहरूले स्वदेशमै रोजगारीको व्यवस्था गर्न नसकेको उनको गुनासो छ । ‘भोट माग्ने वेला रोजगारी दिन्छौँ, यो गर्छौँ, त्यो गर्छौँ भनेर आश्वासन दिन्छन्, जितेर गएपछि विपन्नलाई कसैले हेर्दैनन्,’ देवेन्द्रले दुःखेसो गरे, ‘यहाँ सामान्य मजदुरी काम पाएको भए त्यस्तै काम गर्न भारत किन जानुपथ्र्यो ?’ दैनिक सयौँ युवा बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको भन्दै उनले निराशा पोखे ।

त्रिनगर नाकाबाट मात्र दैनिक तीनदेखि चार सयजना कामको खोजीमा भारत गइरहेका नाकामा खटिएका प्रहरी सहायक हवल्दार हरिश पाण्डेयले बताए । उनका अनुसार तिहार सकिएपछि भारत जानेको संख्या बढेको छ । कञ्चनपुरको वेदकोट शुक्लाफाँटा नगरपालिका– १ बन्साहका मदन चौधरीले देशमा चुनाव आए पनि आफ्नो दुःख कसैले नहेर्ने गुनासो गरे । उनी कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारततर्फ लागेका छन् । ‘हामी गरिब मान्छे, दैनिक मजदुरी नगरे खान पुग्दैन,’ उनले भने, ‘नेपालमा चुनाव आउँछ, जान्छ, हाम्रो पेट कसले पालिदिने ?’ इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो एक सातामा मात्रै एक हजार आठ सय ३५ जना रोजगारीका लागि भारत गएका छन् ।