१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २५ शुक्रबार o७:२८:oo
Read Time : < 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार o७:२८:oo

निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारमा विद्यालयको प्रयोग गरेको भन्दै आयोगले मन्त्री बडूसहित दार्चुला प्रदेश सभा उम्मेदवार, प्रमुख जिल्ला अधिकारी र प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको हो । 

सत्तागठबन्धनले बुधबार दार्चुला शैल्यशिखर– ९ स्थित गोकुलेश्वर उमावि परिसरमा चुनावी सभा आयोजना गरेको थियो । चुनाव प्रचारमा विद्यालयको क्षेत्र प्रयोग गर्न नहुने आचारसंहिताको व्यवस्थाविपरीत विद्यालयमा कार्यक्रम गरेको भन्दै आयोगले मन्त्री बडूसहित दार्चुला (क)का उम्मेदवार विक्रमसिंह धामी, (ख)का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशमन्त्री मानबहादुर धामी, प्रधानाध्यापक धनञ्जय जोशीलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगले आचारसंहिता उल्लंघनमा जरिवाना र उम्मेदवारी खारेज गर्ने चेतावनीसमेत दिएको छ । आयोगले उक्त कार्यक्रमबारे चार दिनभित्र प्रतिवेदन बुझाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ भने मुख्य निर्वाचन अधिकृतलाई आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएको छ । 

आयोगले आचारसंहिता उल्लंघनमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई पनि स्पष्टीकरण सोधेको छ । सरकारी कोषको तलब खाने व्यक्ति चुनाव प्रचारमा जान नहुने आचारसंहिताको व्यवस्थाविपरीत नवलपरासी १ का कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोध्दै आयोगले जरिवाना र विभागीय कारबाहीको चेतावनी दिएको छ । आयोगले आचारसंहिताविपरीत जनता समाजवादी पार्टी नेपालको वडा इकाइ समितिको कार्यालय नेपालगन्जमा राखिएको दलका उम्मेदवारको फोटो तथा चुनाव चिह्नसहितको फ्लेक्स र निर्वाचन चिह्नको तोरण हटाउन निर्देशनसमेत दिएको छ ।