आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलसहित स्वतन्त्र र बागीका आठजना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
राजनीतिक दल, तिनका उम्मेदवार एवं स्वतन्त्र र बागी उम्मेदवारले आ–आफ्नो चुनावी एजेन्डा लिएर मतदाताको मत माग्न गइरहेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेस नेता बन्धु राना, एमालेबाट वीरबहादुर थापा (पातल), राप्रपाबाट खेमराज लामिछाने, नागरिक उन्मुक्तिबाट पल्टु राना, नेमकिपाबाट भागरथीदेवी रावल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मजुरलाल राना र स्वतन्त्र एमाले बागी उम्मेदवार भक्तबहादुर अधिकारी चुनावी मैदानमा होमिएका छन्।
सात राजनीतिक दल र एक बागी उम्मेदवारले दलका चुनावी एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यका उम्मेदवार बनेका केही उम्मेदवार यसअघि संघमा चुनाव लडेर अहिले प्रदेशमा झरेका छन् ।
राजपाबाट ०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट चुनाव लडेका पल्टु राना अहिले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यको यात्रामा छन् । उनले त्यतिवेला ६ सय ९० मत ल्याएका थिए । रानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकासको जमिन हिनामिनामा विशेष अदातमा मुद्दा दायर गरेको छ ।
एमालेबाट उक्त प्रदेश सभाका लागि सिफारिस भएका भक्तबहादुर अधिकारीले टिकट नपाएपछि उनी पार्टीका आधिकारिक उम्मेदवार वीरबहादुर थापा (पातल) विरुद्धमा उम्मेदवारी दिएर चुनावमा होमिएका छन् ।
एमालेबाट वीरबहादुर थापा र वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु राना पहिलोपटक प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । अघिल्लो प्रदेश सभा सदस्य निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट माओवादी–एमालेका तर्फबाट वाम–गठबन्धनका उम्मेदवार तारालामा तामाङ निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार बनेका तामाङ आफ्ना निकटतम प्रतिद्वन्द्वी गोपाल गुरुङसँग दोब्बर मतले निर्वाचित भएका थिए ।
दुई पालिका रहेको यस निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेले एक–एक पालिका जितेका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनअनुरूप १ पालिकासहित कांग्रेसले पाँच वडा, एमालेले एक पालिकासहित पाँच वडा, माओवादी केन्द्रले चार वडा, एक समाजवादी, एक राप्रपा र एक स्वतन्त्रले जितेका छन् । स्वतन्त्र उम्मेदवार पनि कांग्रेसकै नेता हुन् । यस निर्वाचन क्षेत्रमा १७ वडा रहेका छन् ।
स्थानीयत तह निर्वाचनअनुरुप पालिका प्रमुख, उपप्रमुखका आधारमा कांग्रेसले १२ हजार चार सय ६८, एमालेले नाै हजार एक सय ९०, माओवादी केन्द्रले आठ हजार, तीन सय १०, नेकपा एकीकृत समाजवादीले तीन हजार आठ सय ८७, राप्रपाले आठ सय ५२, जनमोर्चाले ७०, लोसपाले ४३, जसपाले ९७ र अन्यले दुई सय ४० मत ल्याएका थिए ।
स्थानीय तह निर्वाचन परिमाणअनुरूप यस निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र माओवादीकै पकट क्षेत्र रहेको पाइन्छ । अहिलेको राजनीतिक समीकरणअनुरूप कांग्रेस, माओवादी, समाजवादी र जनमोेर्चा एक ठाउँमा आएकाले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रानाको पल्ला भारी हुने देखिएको छ ।
चारै दलले पाएको मतभारअनुरूप गठबन्धनतिर २४ हजार सात सय ३५ र एमालेतिर नाै हजार एक सय ९० मत रहेको छ । रानालाई पूर्वमन्त्री एवं वाम–लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विना मगर र थापालाई प्रदेशका पूर्वराज्यमन्त्री एवं एमालेबाट क्षेत्र १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तारालामा तामाङको साथ र समर्थन रहेको छ ।
यस निर्वाचन क्षेत्रमा अहिले लामो समयदेखि राजनीतिमा होमिएका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्धु राना र एमालेका उम्मेदवार वीरबहादुर थापा (पातल) बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।