१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मुना कुँवर काठमाडाैं
Invalid date format ११:३३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना बिमाको बाँकी रकम भुक्तानी आगामी सातादेखि

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

१० अर्ब ५२ करोड भुक्तानी हुन बाँकी, पहिलो चरणमा एक अर्ब ८२ करोड मात्रै भुक्तानी गरिने 

करिब दुई वर्ष सर्वसाधारणलाई कोरोनाको बिमा भुक्तानी नगरेका बिमा कम्पनीहरूले आगामी सातादेखि दाबी भुक्तानी गर्ने भएका छन् । निर्जीवन बिमा कम्पनीहरूले बाँकी रहेको भुक्तानी रकममध्ये एक अर्ब ८२ करोड वितरण गर्नेछन् । भुक्तानीमा सर्वसाधारणलाई प्राथमिकता दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । तर, कम्पनीहरूमा परेको कोरोना बिमाको १० अर्ब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । बिमा कम्पनीहरूले सरकारले आफ्नो दायित्व नव्यहोरेको भन्दै ०७८ साउनदेखि कोरोना बिमा दाबी भुक्तानी बन्द गरेका छन् । बिमा समितिको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको दाबी भुक्तानी भएको छैन ।

सरकारले चरण–चरणमा कोरोना दाबी भुक्तानी गर्ने तयारी गरेको छ । पहिलो चरणको बिमा दाबी भुक्तानीका लागि अर्थ मन्त्रालयले बिमा समितिलाई एक अर्ब हस्तान्तरण गरिसकेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । समितिको प्रस्तावअनुसार सो रकमलाई ५५ प्रतिशत मानी बाँकी ४५ प्रतिशत रकम बिमा समिति, नेपाल पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले भुक्तानी गर्ने उनको भनाइ छ । ४५ प्रतिशत रकममध्ये बिमा समितिको भागमा ८ प्रतिशत (एक अर्ब १४ करोड) परेको उनले जानकारी दिए । सो रकम नेपाल बिमक संघको खातामा जम्मा गरिसकेको उनले बताए । समितिका अनुसार नेपाल बिमक संघले पुनर्बिमा कम्पनीबाट १२ प्रतिशत र २० वटा बिमकहरूले समानुपातिक रूपमा २५ प्रतिशतले रकम संकलन गर्नेछन् ।

नेपाल बिमक संघका अनुसार बिमा समितिले १४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । नेपाल पुनर्बिमा कम्पनीको २१ करोड ८१ लाख, निर्जीवन बिमा कम्पनीहरूको हिस्सामा भने ४५ करोड ४५ लाख रुपैयाँ परेको छ । सोअनुसार प्रत्येक बिमकको भागमा दुई करोड २७ लाख पर्ने संघका महासचिव अशोक खड्काले बताए । यो साता रकम संकलन गरेर आगामी सातादेखि भुक्तानी वितरण सुरु गरिने उनले बताए । सबै रकम संकलन भएपछि बिमा कम्पनीहरूले भुक्तानी पाउने बिमितको नाम आ–आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । त्यसैले दाबी लिन बाँकी रहेका बिमितले अर्को सातादेखि सम्बन्धित बिमा कम्पनीको वेबसाइटमा हेर्न सकिने उनले बताए । 

 ७०% बिमितको भुक्तानी बाँकी
विभिन्न २० इन्स्योरेन्स कम्पनीमा कोरोना बिमा गरेका एक लाख ६२ हजार तीन सय ४६ जनाले १५ अर्ब ३५ करोड ६८ लाख २६ हजार ६ सय २३ रुपैयाँ भुक्तानी दाबी गरेका थिए । त्यसमध्ये ५० हजार चार सय ४७ जनाले चार अर्ब ८३ करोड ३५ लाख ३६ हजार पाँच सय ४६ रुपैयाँ भुक्तानी पाएका छन् । अझै बिमा रकम दाबी गरेका एक लाख ११ हजार आठ सय ९९ नागरिकले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार ७७ रुपैयाँ भुक्तानी पाउन बाँकी छ । 

सरकारले दायित्व वहन नगर्दा बिमकहरू रुष्ट
दोस्रोपटक कोरोना बिमा पोलिसी सञ्चालन गर्दा बिमा कम्पनी, बिमा समिति, नेपाल पुनर्बिमा कम्पनी र नेपाल सरकारले पनि कोरोना बिमा दाबीको दायित्व व्यहोर्ने सहमति भएको थियो । तर, सरकार आफ्नो दायित्वबाट पन्छिन खोजेपछि कम्पनीहरू धर्मसंकटमा परेका हुन् । सहमतिअनुसार बिमा कम्पनीहरूले एक अर्ब रुपैयाँसम्मको दायित्व मात्रै व्यहोर्ने भनिएको थियो । सोभन्दा बढी रकमको दायित्व भएमा थप एक अर्ब रुपैयाँसम्म नेपाल पुनर्बिमा कम्पनीले व्यहोर्ने, दुई अर्ब रुपैयाँभन्दा पनि बढी दाबी परेमा ५० करोड रुपैयाँ बिमा कम्पनीहरूको महाविपत्ति जगेडाबाट भुक्तानी गर्ने र त्यसभन्दा पनि माथिको दायित्व परेमा एक अर्ब रुपैयाँसम्म बिमा समितिले भुक्तानी गर्ने सहमति भएको थियो । त्यस्तै, तीन अर्ब ५० करोडभन्दा माथि दाबी परेमा नेपाल सरकारले दायित्व भुक्तानी गर्ने निर्देशिकामा व्यवस्था गरिएको थियो । 

सहमतिबमोजिम परेको दाबीमध्ये बिमा कम्पनी, बिमा समिति र नेपाल पुनर्बिमा कम्पनीले आ–आफ्नो हिस्साको दायित्व भुक्तानी गरिसकेका छन् । तर, सरकारले भुक्तानी गर्न आनाकानी गर्दै आएको छ । सरकार परिवर्तन भएसँगै कोरोना बिमाको दाबी रकम पनि अलमलमा परेको हो । यद्यपि, अहिले एक अर्ब रुपैयाँ भुक्तानी गरेको छ । तर, १० अर्ब दायित्व भएकोमा एक अर्ब रुपैयाँले खासै अर्थ नराख्ने बिमकहरू बताउँछन् । ‘सरकारले हामीसँग गरेको सहमतिको प्रमाण छ । तैपनि, हामी सरकारकै विरुद्धमा जान भने सक्दैनाँै । सरकारले आफ्नो दायित्व वहन नगर्दा बिमकहरू बदनाम भएका छन्,’ एक बिमकले गुनासो गरे, ‘बल्ल एक अर्ब रुपैयाँ विनियोजन भयो, बाँकी रकमको कुनै सुनिश्चितता छैन ।’ 

व्यक्तिगत बिमा गर्ने प्राथमिकतामा
नेपाल सरकारले व्यक्तिगत कोरोना बिमा दाबी गरेका बिमितलाई कोरोना बिमा दाबी भुक्तानीमा पहिलो प्राथमिकता दिन निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बिमा समितिलाई  पत्राचार गरी राष्ट्रसेवक कर्मचारी र संघ–संस्थामार्फत कोरोना बिमा गरिएका बिमितलाई दोस्रो प्राथमिकतामा राख्न निर्देशन दिएको हो । त्यस्तै, मन्त्रालयले कोरोना बिमा दाबी गरेको मितिका आधारमा भुक्तानी गर्न भनेको छ । पहिला दाबी गर्नेलाई पहिला भुक्तानी गर्न निर्देशन दिएको हो । बिमा कम्पनीहरूमा परेको कोरोना बिमाको १० अर्ब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । बिमा कम्पनीहरूले ०७८ साउनदेखि कोरोना बिमा दाबी भुक्तानी वितरण गर्न बन्द गरेका छन् । सरकारले आफ्नो दायित्व नव्यहोरेको भन्दै कम्पनीहरूले दाबी भुक्तानी नै बन्द गरेका हुन् । बिमा समितिको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको दाबी भुक्तानी भएको छैन । सो पोलिसीमार्फत १० अर्ब ५२ करोड रुपैयाँ दाबी परेको समितिको तथ्यांक छ । 

निर्जीवन बिमा कम्पनीहरूमा एक लाख ६२ हजार तीन सय ४६ वटा कोरोना बिमा पोलिसीको दाबी परेको थियो । जसमध्ये कम्पनीहरूले हालसम्म ५० हजार चार सय ४७ वटा पोलिसीको मात्रै दाबी भुक्तानी गरेका छन् । एक लाख ११ हजार आठ सय ९९ वटा पोलिसीको अझै भुक्तानी भएको छैन । कम्पनीहरूमा १५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँबराबरको दाबी परेको थियो । जसमध्ये हालसम्म चार अर्ब ८३ लाख ३५ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ । १० अर्ब ५२ करोड ३२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । त्यस्तै, नेपाल सरकारबाट दाबी भुक्तान रकम प्राप्त हुने भनी कम्पनीहरूले एक अर्ब ३९ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।