१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १० बिहीबार
  • Thursday, 23 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १० बिहीबार ११:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सन्दीप र बालिकाको बयान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १० बिहीबार ११:o७:oo

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेखित सन्दीप र बालिकाको बयान

बालिका : प्रतिवादी (सन्दीप लामिछाने)ले साँझ ६:५८ (५ भदौ) मा फोन गरेर ‘लिटिल काठमाडौं भन्ने रेस्टुरेन्ट’ अगाडि आउन भने । म गएँ । निजले रोकिराखेको सेतो रङको ०२६ च.४४४४ नम्बरको निसान गाडी फेला पारेँ । गाडीभित्र निज सन्दीप लामिछाने थिए । निजले भनेपछि म गाडीको अगाडिको सिटमा बसेँ । ‘नाइस टु मिट यु’ भनेर उसले साइडबाट अँगालो मार्‍यो र गाडी चलायो । मैले कहाँ जाने भनेर सोध्दा ‘लेट्स सी’ भनेर सिनामंगलतर्फ मोड्यो । तिनकुने हुँदै गाडी कोटेश्वरतर्फबाट भक्तपुर दरबार स्क्वायरनजिकबाट नगरकोट जाने बाटोतर्फ लाग्यो । निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा पुर्‍यायो । त्यसवेला ८:२० बजेको थियो । रिसोर्टमा मलाई उसले ‘ड्रिंक’ गर्न प्रस्ताव गरेकोमा मैले मानिनँ ।

सन्दीप : परिवर्तित नाम (बालिका) गौशाला आइन् । सीधै मेरो गाडीको अगाडिको सिटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई ‘हेल्लो’ भनेँ । उसले बोलाएको हुँदा ‘ह्वाट्स योर प्लान’ भनी सोधेँ । उनले ‘लेट्स गो नगरकोट’ भनिन् । मैले सम्भव छैन, बरु दरबारमार्गतिर जाऊँ भनेँ । ‘होइन, आज बिहानदेखि नै नगरकोट जाने मुडमा छु’ भनिन् । म गेम खेल्न केन्या जानुपर्नेछ र तयारी पनि गर्नुपर्नेछ भनेर पन्छिएँ । तर, उनले कर गरेकोगर्‍यै गरेपछि खाजा खाएर फिर्ता आउने सर्तमा नगरकोट गएका थियौँ ।

बालिका : निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआइपी रुम बुक गर्ने सम्बन्धमा पटक–पटक कुराकानी गरेको र मलाई ‘के गर्ने, फर्कने कि यहीँ बस्ने’ भनेर सोधेका थिए । मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा १०:४५ बजे निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ ।

सन्दीप : रिसोर्टमा मेरोपछाडि आएर मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिइन् । त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भइसक्यो, रात पर्‍यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भनेँ । निजले ढिला भएको छैन, होस्टेल जतिवेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन, यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुँदैन भनेँ । तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्नेछ, तिमी बुझ न भन्दा निजले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुर्मुरिएर मलाई गाडीको ढोका खोलिदिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोलिदिएको थिएँ ।

बालिका : प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौं ल्यायो । रातको समयमा होस्टेलमा प्रवेश गर्ने अनुमति नहुने भएकाले निज प्रतिवादीले पिंगलास्थानमा अवस्थित होटेल काठमाडौं इनमा कोठा बुक गर्ने कुरा गर्‍यो । मैले दुईवटा कोठा बुक गर्न भनेँ । प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनू’ भनी सो होटेलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई होटेलमा एउटा मात्र रुम छ भने । त्यसपछि मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो मोबाइल खोसेर होटेल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए ।

सन्दीप : तिमीले आफ्नो होस्टेल जतिवेला पनि खुल्छ भनेकी होइनौ ? अहिले होस्टेल बन्द भयो भन्छ्यौ ? भनेर प्रश्न गर्दै गर्दा निजलाई एउटा फोन आएको थियो । तर, निजले फोन उठाइनन् र म्यासेजमार्फत आफ्नो साथीलाई ‘हि ड्रम पि एट माई फ्रेन्ड्स प्लेस, आई एम सेफ : आई विल कम टुमारो मर्निङ’ भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झुट बोलेको, भोलि कसैले थाहा पाए भने तिमीलाई नराम्रो सोच्छन् भन्दा ‘डोन्ट वरी’ भनिन् । फेरि पनि होस्टेलबाहिरबाट कोही कसैले फोन गर्‍यो भने म होस्टेलमा छु भन्छु र होस्टेलभित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनुपर्दैन भन्ने कुरा गरिन् ।

बालिका : राति १२:२५ तिर म ब्युँझिँदा निज प्रतिवादी मसँग सुत्न आई जबर्जस्ती मैले लगाएको पाइन्ट खोली आफ्नो पाइन्टसमेत खोली मैले नमान्दा नमान्दै मेरो इच्छाविपरीत जबर्जस्ती करणी गरेर मेरो शरीरमा विर्य झारी आफू बाथरुमतर्फ गई पुनः बेडमा आई सुतेको । त्यसको करिब एक घन्टापछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हानेपछि मलाई डर लागेर रुँदै गर्दा चल्न नदिई पुनः दोस्रोपटक जबर्जस्ती करणी गरेको । भोलिपल्ट बिहानीपख निज प्रतिवादीले ७ बजे हायात प्यालेसमा आफ्नो पिसिआर परीक्षण रहेकाले जानुपर्ने भनी मलाई ब्रेकफास्ट खाएर जाऊ भन्दा मैले नमानेपछि गाडीमा राखी मेरो होस्टेलनजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन् ।

सन्दीप : कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसेँ । निजले कोठाको ढोका लगाई भित्रबाट लक गरिन् । मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, ‘इट्स ओके’ भन्दै जवाफ फर्काइन् । मैले यो कुरालाई सामान्य रूपमा लिएर कुर्सीमा बसिरहेँ भने निज बेडमा बसिन् । कुराकानीकै बीचमा म फ्रेस हुन बाथरुम गई पुनः कुर्सीमा आई बसेँ । मैले मेरो मोबाइलमा बिहानको ०६:०० बजेको अलार्म लगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६:०० बजे निद्राबाट ब्युँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ । करिब ०६:४५ बजेतिर हामी होटेलबाट निस्केका थियौँ । 

ad
ad