१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्बन्धविच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o२:oo

मेचीनगर नगरपालिका– ७ की सीता खड्काले सम्बन्धविच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन्। दुबईमा रहेका उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै गत असोज ८ गते निधन भएको थियो। गत असोज २९ गते बस्नेतको शव मेचीनगर– १४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो। सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भएको थियो।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र १६ वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाट गएकी थिइन्। त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर– ७ इँटाभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बसिन्। दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताइन्। उनले आफू सम्बन्धविच्छेदको पक्षमा कहिल्यै नरहेको, तर पतिकै जोडबलमा सम्बन्धविच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिइन्।

एक वर्षअघि सम्बन्धविच्छेद गरेपश्चात् बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन्। 'मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तैपनि म कहिल्यै सम्बन्धविच्छेदको पक्षमा थिइनँ,' खड्काले भनिन्, 'कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो। मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भन्ने गरेकी थिएँ।'

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गए। असोज ८ गते उनले आत्महत्या गरेको दुःखद खबर आएको थियो। पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साहिँला देवरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देवर, देउरानी र नन्दहरूले दिएनन्।

'झगडा हुने भएपछि आफन्तहरूको सल्लाहबमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्ने काम गर्‍यौँ, साहिँला देवरले अलग्गै बार्नुभयो,' खड्काले भनिन्, 'ऐले डिभोर्स दे, भरे डिभोर्स दे भनेर हैरान पारेपछि मैले दिक्क भएर उहाँ (पूर्वपति)ले ल्याएको कागजमा सहीछाप गरेकी हुँ। मेरो मनभित्र श्रीमानप्रति पहिलेजत्तिकै आस्था, श्रद्धा र माया थियो।'

उनका छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन्। सम्बन्धविच्छेदपश्चात् छोराछोरीको लालनपालन खड्का (आमा)ले नै गरिरहेकी छिन्। पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्पराबमोजिम गरेकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिएका छन्।