१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १६:१७:oo
Read Time : > 5 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दाङका तीनवटै क्षेत्रमा पुरुषलाई महिला उम्मेदवारको चुनाैती

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १६:१७:oo

दाङका तीनवटै निर्वाचन क्षेत्रमा फरक पार्टीका चर्चित तथा प्रभावशाली महिला र पुरुष उम्मेदवारबीचमा रोचक प्रतिस्पर्धा हुँदै छ । दाङ १ मा मेटमणि चौधरी र शान्ता चौधरी, २ मा शंकर पोखरेल र रेखा शर्मा तथा ३ मा दीपक गिरी र कोमल वलीबीच प्रतिस्पर्धा रोमाञ्चक बन्ने देखिएको छ ।

केन्द्रमै प्रभावशाली भूमिकामा रहेका नेताहरू जिल्लाका निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा छन् । दाङ १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट एकीकृत समाजवादीका मेटमणि चौधरीसँग एमाले उम्मेदवार शान्ता चौधरी चुनावी मैदानमा छन् । दाङ २ मा एमाले महासविच शंकर पोखरेलले वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी रेखा शर्माकाे सामना गर्दै छन् । ३ मा केन्द्रीय सदस्य दीपक गिरीसँग एमाले उम्मेदवार कोमल वली चुनावी मैदानमा छिन् ।

पूर्वसहकर्मी मेटमणि चौधरीलाई शान्ता चौधरीको चुनौती 
दाङ १ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता मेटमणि चौधरी र एमालेकी शान्ता चौधरी प्रतिस्पर्धामा छन् । अहिले मेटमणि सहरी विकासमन्त्रीसमेत छन् । उनी दोस्रोपटक निर्वाचन लड्दै छन् । यसअघि ०७४ सालमा वामगठबन्धन हुँदा कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराएर विजयी भएका थिए । शान्ता चौधरी ०७४ सालको निर्वाचनबाट समानुपातिक सांसद हुँदै एमालेकी सचेतकको जिम्मेवारीसमेत पूरा गरिन् । मेटमणि र शान्ता पूर्वसहकर्मी हुन् ।

दुईपटक समानुपातिक सांसद भएकी शान्ता दोस्रोपटक प्रत्यक्ष निर्वाचन लड्दै छिन् । ०७० सालको संविधानसभाको निर्वाचनमा दाङ २ बाट प्रत्यक्ष चुनाव लडेकी उनी कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन् । अहिले पनि त्यही क्षेत्रबाट पूर्वसहकर्मीसँग चुनाव लड्दै छिन् । शान्ता चौधरी घोराही उपमहानगरपालिका– ४  की मतदाता हुन् । सो स्थान निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । 

दाङ १ मा यस्तो छ अंकगणित
गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार क्षेत्र नम्बर २ मा कांग्रेसको २९ हजार सात सय ५७, माओवादी केन्द्रको १९ हजार दुई सय ७६, एकीकृत समाजवादीको दुई हजार तीन सय ४१ र जनमोर्चाको दुई हजार पाँच सय ९५ गरी जम्मा ५३ हजार नौ सय ७० मत छ । त्यसैगरी, यो क्षेत्रमा एमालेको २७ हजार २५ मत छ । यसरी विगतको अंकगणितमा गठबन्धन धेरै अगाडि छ । एकीकृत समाजवादीको आफ्नै मत कमजोर भएकाले गठबन्धनका अन्य पार्टीको इमानदारीपूर्वक मत दिनेमा आशावादी छन् । मत गठबन्धनभन्दा बाहिर नजाने गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले बताए । ‘यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो विशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको गठबन्धन हो,’ गठबन्धनका उम्मेदवार मेटमणि चौधरी भन्छन्, ‘त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामी नै जित्छौँ ।’

थारूको बाहुल्य रहेको यस क्षेत्रमा सबै उम्मेदवारको आशा र विश्वास थारू मतदातामै छ । शान्ता चौधरीले पनि आफू पूर्वकमलरी हुँदै कमलरी मुक्तिका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारू समुदायले भोट दिने अपेक्षा गरेकी छिन् । ‘थारू समुदाय निकै पछाडि परेको समुदाय हो, म आफैँ पनि अर्काको घरमा कमलरी बसेर आएकी मान्छे हुँ,’ उनले भनिन्, ‘त्यस्तो महिला अहिले चुनावी मैदानमा छु, अवसर पाए गर्न सक्ने छवि पनि बनेको छ, त्यसैले म जित्न सक्छु।’

क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय सदस्य गंगा चौधरीले पार्टी परित्याग गरी नयाँ पार्टी ‘हाम्रो नेपाली पार्टी’बाट उम्मेदवारी दिएकी छिन् । उनी यसपटक समानुपातिक सांसद थिइन्। ०७० सालमा उनी थरूहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद भइन् भने ०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद भएकी हुन्। उनले चौधरी समुदायका केही मत काट्न सक्ने आकलन गरिएको छ।

यस क्षेत्रमा थारू समुदायबाटै नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरी पनि चुनावी मैदानमा छन्। उनी कांग्रेसका समानुपातिक उम्मेदवार योगेन्द्र चौधरीका दाइ हुन् । त्यस्तै, स्वतन्त्र पार्टीबाट देवराज पाठक चुनावी मैदानमा छन्। यी दुईजनाले गठबन्धनको मत तान्न सकेमा मेटमणिलाई गाह्रो पर्न सक्ने स्थानीय जानकार ज्योति नेपालीले बताए। 

क्षेत्र नम्बर २ : गठबन्धनकी रेखा शर्माको सामना गर्दै शंकर पोखरेल
दाङ २ मा एमालेका प्रभावशाली नेता शंकर पोखरेल र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माबीच कडा प्रतिस्पर्धा हुँदै छ । शर्मा यसअघि ०७० र ०७४ सालको निर्वाचनमा समानुपातिक सांसद थिइन् । ०७२ सालमा उनी सामान्य प्रशासनमन्त्रीसमेत भइन् । यसअघि पटकपटक प्रत्यक्ष निर्वाचन लडेका पोखरेलसँग शर्माले पहिलोपटक प्रतिस्पर्धा गर्दै छिन् । शर्मा वाम लोकतान्त्रिक गठबन्धनको बलियो उम्मेदवार भएकाले पोखरेललाई जित हात पार्न कडा चुनौती रहेको छ । एमाले महासचिव पोखरेल धेरैपटक प्रत्यक्ष निर्वाचन लडे पनि ०५१ सालको प्रतिनिधिसभा सदस्य र ०७४ सालको प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर २ को प्रदेश सभामा सफलता हात पारे । ०६४ सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए । पोखरेल पटकपटक मन्त्री भए भने ०७४ सालको निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए । अहिले पोखरेल र शर्माबीच कडा टक्कर हुने देखिन्छ ।

दाङ २ को अंकगणित
गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारको कडा टक्कर हुने देखिन्छ । एमालेका उम्मेदवारहरूले क्षेत्र नम्बर २ मा ३३ हजार पाँच सय ९३ मत ल्याएका थिए । त्यसैगरी, कांग्रेसका उम्मेदवारले २३ हजार तीन सय एक, माओवादी केन्द्रका उम्मेदवारहरूले १० हजार चार सय ७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरूले दुई हजार नौ सय ४२ मत ल्याएका थिए । यसरी गत स्थानीय चुनावमा गठबन्धनको मत ३६ हजार सात सय २१ मत ल्याएका थिए भने एमाले एक्लैको साढे ३३ हजार मत छ । 

अंककणितमा गठबन्धन बलियो देखिए पनि इमानदारपूर्वक मत नआएमा एमालेको पोल्टामा नतिजा जान सक्ने त्यस क्षेत्रका जानकार हस्त केसी बताउँछन् । ‘घोराहीमा माओवादीको मत रेखालाई लगभग सबै जान सक्छ, कांग्रेसको मत इमानदारपूर्वक आएमा रेखाले जित्न सक्नुहुन्छ,’ उनले भने, ‘तर, शंकर पोखरेल प्रभावशाली नेता भएकाले कांग्रेसका मत तान्न सके भने गठबन्धनलाई गाह्रो पनि पर्न सक्छ ।’ 

एमालेका महासचिव शंकर पोखरेलले भने आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा विकास गरेको र त्यही आधारमा आफू जित्न सक्ने बताउँछन् । ‘म मुख्यमन्त्री हुँदा एउटा स्थितिपत्र सार्वजनिक गर्‍याैँ, त्यसैका आधारमा योजना बने,’ पोखरेलले भने, ‘प्रदेश मुकाम भालुवाङ ल्यायौँ, अन्य विकास निर्माणका थुप्रै काम पनि गर्‍याैँ ।’ 

गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य शर्माले पनि कुनै व्यक्ति बलियो नभई एजेन्डा बलियो हुने बताइन् । ‘कुनै पनि व्यक्ति बलियो हुने होइन, हाम्रा एजेन्डा बलिया हुन्,’ उनले भनिन्, ‘गणतन्त्र प्राप्ति, संविधान निर्माण, महिला र दलितको अधिकार स्थापित गर्ने कुरामा मेरो भूमिका महत्वपूर्ण छ, अब यो कुराहरूलाई जोगाउने गठबन्धनको दायित्व हो, त्यसैले पनि गठबन्धनभन्दा बाहिर मत जाने कुरा रहँदैन ।’ 

दाङ ३ : कांग्रेसलाई मिलाएर कोमल वलीसँग भिड्नुपर्ने गिरीको चुनौती
दाङ क्षेत्र नम्बर ३ मा पटकपटक प्रत्यक्ष निर्वाचन लडेका कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी र एमालेकी कोमल वली पहिलोपटक प्रतिस्पर्धा गर्दै छन् । तर, गिरीले यसअघि ०७० सालको चुनावमा जित हात पारेका थिए । एमाले उम्मेदवार वली यसअघि ०७४ सालमा राष्ट्रिय सभा सदस्य भएकी थिइन् ।

क्षेत्र नम्बर ३ मा कांग्रेसमा आन्तरिक विवाद छ । गेहेन्द्र गिरी र दीपक गिरीबीचको लडाइँले पटक–पटक चुनाव एमालेको पोल्टामा जाने गरेको छ । कांग्रेसको बलियो क्षेत्रका रूपमा रहेको दाङमा विवादको फाइदा उठाउँदै एमालेले पटक–पटक जितेको छ । यसअघि गठबन्धन भए पनि गेहेन्द्र गिरीले निर्वाचन हारे । कांग्रेसको विवाद कायम रहे एमालेलाई फाइदा पुग्ने देखिन्छ । कांग्रेसबीच एकजुट हुने र माओवादीको अधिकांश मत तान्न सकेमा पश्चिम दाङमा  दीपक गिरीले जित्न सक्ने शान्तिनगरनिवासी कमल रोका बताउँछन् । ‘कांग्रेस एकजुट भएमा यहाँ गठबन्धनको पक्षमा माहोल बन्न सक्छ, कांग्रेस बलियो शक्ति पनि हो,’ उनले भने, ‘यदि कांग्रेसभित्र फुट भएमा नतिजा कोमल वलीको पक्षमा पनि जान सक्छ ।’ 

गिरीले आफू सांसद र मन्त्री हुँदा पश्चिम क्षेत्रमा गरेको विकासले नै जित्ने आधार तयार गरेको बताउँछन् । ‘म नौ महिना मात्रै मन्त्री हुँदा पश्चिम दाङका बाटाघाटा कालोपत्रे गर्ने, खोलाहरूमा पुल हाल्ने, सिँचाइ सुविधा पुर्‍याउन बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको कार्यालय नै खोलेँ,’ गिरीले भने, ‘यस्ता थुप्रै विकासका काम गरेकाले पनि मलाई यहाँका जनताले भोट दिन्छन् ।’ पश्चिम दाङ अझै पनि विकासका हिसाबले पछि परेकाले यहाँको विकास गर्ने कुरामा आफू प्रतिबद्धताका साथ लाग्न यो चुनावमा होमिएको उनी बताउँछन् ।

वलीले पनि आफू राष्ट्रिय सभा सदस्य हुँदा जनतासँग भिजेर काम गर्न पाएको र विकास निर्माणका काम अघि बढाएकाले जित्ने आधार बनेको बताएकी छिन् । ‘म राष्ट्रिय सभामा हुँदा सडक, पुललगायतका काम जनतासँगै जोडिएर गरेँ,’ वलीले भनिन्, ‘त्यसैले पनि जनताको माग, विकासको माग रहेकाले पार्टीले टिकट दिएको छ ।’ 

यस्तो छ दाङ ३ को अंकगणित
विगतका चुनावको मत आकलन गर्दा गठबन्धन बलियो देखिन्छ । गठबन्धनको मत तान्न एमाले उम्मेदवार कोमल वलीले जितका लागि धेरै मिहिनेत गर्नुपर्ने विश्लेषक बताउँछन् । स्थानीय निर्वाचन ०७९ अनुसार सो निर्वाचन क्षेत्रमा गठबन्धनको मत २९ हजार एक सय २३ छ भने एमालेको मत १९ हजार आठ सय ८० छ । दाङ क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, १० र ११ तथा बबई गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका पर्दछन् ।

ad
ad