मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २९ शनिबार १९:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अहिले कांग्रेससँग मिल्नुपर्ने अवस्था छ : वर्षमान पुन 

Read Time : > 1 मिनेट
२०७९ असोज २९ शनिबार १९:३९:००

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएको बताएका छन् ।  गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताए । 

‘पटकपटक संसद् विघटन भयो र संविधान मिच्ने काम भयो । लोकतन्त्रमाथि प्रहार भयो,’ पुनले भने, ‘संविधान र लोकतन्त्र बचाउन सडकमा संघर्ष गरेको शक्तिले सरकार बनायो, अहिले त्यही गठबन्धनको सरकार छ । हामीले निर्वाचनमा सँगसँगै जाने निर्णय गरेका छौँ । यो आम जानकारीकै विषय छ ।’ 

पुनले माओवादी केन्द्र र कांग्रेसको मिलन इतिहासको आवश्यकता भएको औँल्याए । कुनै वेला दुई प्रमुख शक्तिबीच आमने–सामने लडाईं भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गरे । 

‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौँ । त्यतिवेला प्रतिस्पर्धा थियो, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौँ,’ उनले भने ।  पुनले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ताका लागि अपिल गरे । 

सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहेका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८÷१० जनामा झरेको बताए । 

उनले रोल्पा (ख) बाट बागी उम्मेदवारी दिएका माओवादी पोलिट्ब्युरो सदस्य दीपेन्द्र पुन राजनीतिक रूपमा उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई सघाउन सकारात्मक रहेको जानकारी दिए । 

उक्त प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन उम्मेदवार छन् । उनले देशभर कांग्रेसको सहयोगमा माओवादी उम्मेदवार जित्नुपर्ने अवस्थामा आफूहरूले अवस्था सुदृढ भएको रोल्पा र रुकुमजस्ता जिल्ला मात्र हेरेर ढिपी गर्न नहुने उनको भनाइ थियो । 

‘हामीले आफू बलियो भएको रोल्पा र रुकुम मात्र हेरेर हुँदैन,’ उनले भने, ‘देशभर हाम्रा साथीहरू कांग्रेसको सहयोगमा उम्मेदवार बन्नुभएको छ । उहाँहरूको जितलाई पनि हामीले हेर्नुपर्छ ।’ 

पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पाबाट उम्मेदवार छन् । उनी ०७४ को निर्वाचनमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

फरक प्रसंगमा पुनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका साथै विकास तथा समृद्धि सत्ता गठबन्धनको साझा उद्देश्य भएको उल्लेख गरे । यसका साथै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति गठबन्धन आवद्ध सबै दलबीच समान धारणा रहेको बताए । 

छिमेकी र टाढाका अन्तर्राष्ट्रिय शक्तिसँग आफूहरू मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्न चाहेको उनले बताए । तर, नेपालको घरभित्रको मामिलामा भने हस्तक्षेप सह्य नहुने उनको स्पष्टोक्ति थियो । 

जनताका प्रतिनिधिमार्फत संविधान जारी गर्न खोज्दा केही अन्तर्राष्ट्रिय शक्तिले दबाब दिए पनि नेपालका रानजीतिक दल र  नेताहरूले त्यसलाई अस्वीकार गरेको स्मरण उनले गरे । 

‘नेपाली जनताले आफ्ना प्रतिनिधिहरूमार्फत संविधान जारी गर्छौंं भन्दा त्यो प्रयासलाई रोक्न केही अन्तर्राष्ट्रिय शक्तिबाट विभिन्न प्रकारका हस्तक्षेप, दबाब र रोकवाट भए’, उनले भने, ‘तर, नेपाली जनताका प्रतिनिधि र नेताहरूले त्यसलाई मानेनौं र संविधान जारी भयो । हामी छिमेकी र टाढाको मित्रहरूसँग मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्छौं तर, आफ्नो घरको निर्णय आफै गर्छौं ।’ 

उनले तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति दीवंगत सुशील कोइराला र आफ्ना अध्यक्ष प्रचण्डलगायत नेताले नेपालबारे नेपालीहरूले नै निर्णय गर्ने भन्दै संविधान जारी नगर्न आएको बाह्य हस्तक्षेप अस्वीकार गरेको स्मरण पनि गरे ।