१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सम्भावित आणविक आक्रमणका लागि आपत्कालीन आपूर्ति सामग्री खरिद गर्न आएका एक ग्राहकको सूची हेर्दै नादिया स्टेलमाख ।
एजेन्सी
२o८१ जेठ १ मंगलबार o८:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुसको सम्भावित आणविक हमलाबाट बच्ने तयारी गर्दै युक्रेनी 

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२४:oo

सन् २०१४ देखि मस्कोको कब्जामा रहेको क्राइमिया प्रायद्वीपलाई रुससँग जोड्ने १२ माइल लामो ‘केर्च स्ट्रेट पुल’मा विस्फोट भएपछि युद्ध चर्किने डर बढ्न थालेको छ

ओलेक्सान्डर काडेटको घरपछाडिको एउटा सानो टहरोमुनि एक भूमिगत कोठा छ, जसलाई सिमेन्टको ढक्कनले छोपिएको छ । भर्‍याङबाट साढे ६ फिट तलको पिँधमा पुग्न सकिने यस भूमिगत कोठा कहिल्यै प्रयोग गर्नुपर्ला भनेर काडेटले कल्पना पनि गरेका थिएनन् । तर, युक्रेनको राजधानीको बाहिरी भागमा बस्ने काडेट र उनकी श्रीमती पछिल्ला दुई हप्तादेखि यस भूमिगत कोठाको सम्भावित प्रयोगलाई लिएर अत्यावश्यक सामग्री जम्मा गरिरहेका छन् । यी सामग्री रुसबाट हुने सम्भावित परमाणु आक्रमणको समयमा यहाँ लुक्दा प्रयोग गर्नका लागि हो । 

कुनै समय इनार रहेको संरचनालाई बंकरको रूप दिएर यस भूमिगत कोठा बनाइएको हो । यसमा काडेट दम्पतीले पानीको बोतल, डिब्बाबन्द खाना, रेडियो र पावर बैंकहरू राखेका छन् । ‘हामी अहिले थप चिन्तित छौँ, विशेषतः पछिल्लो मिसाइल आक्रमणपछि,’ काडेटले युक्रेनभर भएका रुसी मिसाइल आक्रमणको एक दिनपछि मंगलबार भने, ‘आणविक विस्फोट भइहालेमा यस बंकरमा केही समय बस्यौँ भने हामी बाँच्न सक्षम हुनेछौँ भन्ने विश्वास छ ।’

सन् २०१४ देखि मस्कोको कब्जामा रहेको क्राइमिया प्रायद्वीपलाई रुससँग जोड्ने १२ माइल लामो ‘केर्च स्ट्रेट पुल’मा विस्फोट भएपछि युद्ध चर्किने डर बढ्न थालेको छ । पुलमा भएको ठूलो आक्रमणपछि सुरुमा युक्रेनीहरूले हर्षबढाइ नै गरे । तर, उत्सवपछि मानिसलाई पुटिनको शासनको एक प्रतीकमाथिको खुला आक्रमणले जवाफी कारबाही निम्त्याउने डरले सताउन थाल्यो । तर, पछिल्लो घटनाक्रम अघि नै आणविक आक्रमणको सम्भाव्यताप्रति युक्रेनभर चिन्तित हुन थालेका थिए । डर मुख्यतः रुसले ट्याक्टिकल आणविक हतियार प्रयोग गर्न सक्ने वा युक्रेनको कुनै आणविक ऊर्जा संयन्त्रमा परम्परागत आक्रमणलाई लिएर छ । 

अमेरिकी अधिकारीले रुसले आणविक हतियार प्रयोग गर्ने सम्भावना न्यून रहेको बताइरहेका छन् । वरिष्ठ अमेरिकी अधिकारीका अनुसार पुटिनले आफ्नो कुनै पनि आणविक औजार सारेको प्रमाण देखिएको छैन । आइतबार पुटिनले पुलमा भएको आक्रमणलाई ‘रुसी महासंघको महत्वपूर्ण नागरिक पूर्वाधारलाई नष्ट गर्ने उद्देश्यले गरिएको आतंकवादी आक्रमण’को संज्ञा दिए । तर, मानिसहरूमा कायम आणविक हमलाको डर शान्त गर्न क्रेमलिनका प्रवक्ताले पुलको आक्रमणकै जवाफमा आणविक आक्रमण नहुने बताए । ‘रुसी प्रतिरक्षा सिद्धान्तभित्र पुलमा भएको आक्रमण आणविक प्रतिशोध गर्न सकिने श्रेणीमा पर्दैन,’ पेस्कोभले भने । 

गत महिना पुटिनले ‘रुस र हाम्रा जनताको रक्षाका लागि आफूसँग भएका सबै साधन प्रयोग गर्ने’ चेतावनी दिएपछि आणविक हतियारको प्रयोगको डर बढेको थियो । उनले रुसी नियन्त्रित क्षेत्र खतरामा परे पनि त्यस्तो जवाफ दिने चेतावनी दिएका थिए । र, ‘त्यो खेलाँची नभएको’ पनि उनले बताएका थिए । त्यसको केही दिनपछि नै रुसले युक्रेनका चार भूभागमा जनमतसंग्रह गरेर एकतर्फी रूपमा आफूमा गाभेको घोषणा गर्‍यो । 

दुई सातादेखि तयारी थालेको बताउने काडेटले ‘आफूसँग कार्ययोजना छ भन्ने बोधले राम्रो महसुस हुने’ बताए । ‘कम्तीमा तपाईं कुनै न कुनै रूपमा तयार हुनुहुन्छ भन्ने कुराले मनोवैज्ञानिक रूपमा सहज बनाउने रहेछ । यसले तपार्इंलाई बचाउँछ नै भन्ने ग्यारेन्टी त हुँदैन, तर कम्तीमा तपाईं तयार हुनुहुन्छ,’ काडेटले भने । पुलको आक्रमणमा रुसले केही गम्भीर कदम चाल्ने अरू किभवासीलाई पनि परेको थियो । ‘रुसीहरूले जवाफ कसरी देला,’ आइतवार किभमा आफ्नो साथीसँग किनमेल गरिरहेकी ३० वर्षीया क्रिस्टिना गेभोर्कोभाले भन्दै अगाडि थपिन्, ‘पहिले यो सहरमा सुरक्षित महसुस हुन्थ्यो । अहिले, मलाई केही गडबड हुन लागेडको महसुस गइरहेको छ ।’ मस्कोले दक्षिणपूर्वी युक्रेनमा केन्द्रित हुन थालेपछि किभ महिनौँदेखि रुसी आक्रमणको खराब आक्रमणबाट जोगिँदै आएको थियो । तर, सोमबार, गेभोर्कोभासँग भेट भएको स्थानबाट केही पर एक रुसी क्षेप्यास्त्र खस्यो 

किभमा सोमबारअघि नै पनि मानिसहरू बिस्तारै सम्भावित आणविक आक्रमणलाई लिएर तयारी गर्न थालिसकेका थिए । किभ सिटी काउन्सिलले गत शुक्रबार नै ‘चिकित्सा सिफारिसहरूका आधारित भन्दै’ आणविक घटना भएमा त्यहाँका बासिन्दालाई पोटासियम आयोडाइड चक्कीहरू वितरण गर्ने निर्णय गरेको थियो । ती चक्की सहरका फार्मेसीहरूमा उपलब्ध हुने पनि निर्णयमा भनिएको छ । पोटासियम आयोडाइड स्वासमार्फत लिइने वा कुनै खाद्य सामग्रीबाट सेवन गरिने रेडियोधर्मी आयोडिनहरू थाइरोइड ग्रन्थीमा नअडिरहोस् भनेर सेवन गरिन्छ । 

किभकी २३ वर्षकी फार्मासिस्ट एलिना बोझेडोमोभाका अनुसार दैनिक पोटासियम आयोडाइड चक्कीहरू खोज्दै आउने ग्राहकहरूको संख्या बढिरहेको छ । तथापि मानिसहरू भयभीत नै भएका भने छैनन् । केही प्राथमिक विद्यालयले अभिभावकलाई आफ्ना बच्चाहरूका लागि आपत्कालीन प्याक तयार गर्न सल्लाह दिएका छन् । किराना पसल चलाउने ५० वर्षीया नादिया स्टेलमाखका अनुसार एक दिन एउटी आमा विद्यालयले दिएको सूचीसहित लेटेक्स पन्जा, बुट, टिस्यु, भिजेको वाइप्स र टर्स लिन आएकी थिइन् । नादियालाई ‘मानिसहरू चिन्तित रहेको’ लाग्छ । 

नादियाका श्रीमान् भोलोडिमिर स्टेल्माख नजिकै अर्को स्टल चलाउँछन्, नादियाका कुरामा उनी सहमत भए । ‘मसँग पनि आपत्कालीन ब्याग–प्याक छ, तर आणविक आक्रमण भयो भने हामीसँग भाग्ने समय हुनेछैन भन्ने पनि मलाई थाहा छ,’ उनले भने । पछिल्लो साता देशको दक्षिणपूर्वस्थित जपोरिझिया आणविक संयन्त्रमा सुरक्षा चिन्ता बढेपछि देशको स्वास्थ्य मन्त्रालयले आणविक दुर्घटनाको समयमा के गर्ने भन्ने निर्देशिका नै जारी गर्‍यो । सन् १९८६ मा विश्वकै ठूलो आणविक दुर्घटना भागेको युक्रेनमा अहिले पुनः आणविक प्रकोपको जोखिम एकदम वास्तविक महसुस हुन थालेको छ । सन् १९८६ को आणविक दुर्घटना भएको चेरनोबिल आणविक केन्द्रको भग्नावशेष किभबाट ६० माइल मात्र उत्तरमा छ ।

चेर्नोविलको प्राणघातक दुर्घटना प्रत्यक्ष भोगेका मानिसहरू सम्भवतः अरूभन्दा थप बढी आणविक प्रकोपको जोखिमलाई बढी बुझ्छन् । आफ्नो अन्तिम नाम प्रयोग नगर्न आग्रह गरेका ५५ वर्षीय ओलेक्सान्डरका अनुसार उनी र उनको परिवार दुर्घटनालगत्तै चेर्नोबिलबाट भागेर किभ गएका थिए । त्यस वेला उनको उमेर १८ मात्र थियो । ओलेक्सान्डरका अनुसार उनको परिवारले दक्षिणतिर जान दिइएको निर्देशनलाई गम्भीरतापूर्वक पालना गरेकाले मात्र उनीहरू विकिरणको दुष्प्रभावबाट बच्न सफल भएका थिए । त्यस समय उत्तरतर्फ बगिरहेको हावाले रेडियोधर्मी सामग्रीलाई त्यतैतर्फ धकेलिरहेको सन्दर्भमा त्यो निर्देशन दिइएको थियो । 

‘मानिसहरू अर्को आणविक दुर्घटनाका लागि तयार छैनन् । धेरैलाई प्रकोपको समयमा के गर्ने भन्ने पनि थाहा छैन । यसबारे पर्याप्त जानकारी नै छैन,’ उनले भने । हाल घरायसी आवश्यकताका सामानको बिक्री गर्ने ओलेक्सान्डरका अनुसार पछिल्लो दुई हप्तामा आणविक प्रकोपका लागि तयारीस्वरूप धेरैले लाइट, ब्याट्री, चक्कु, रेडियो र सानो क्याम्प स्टोभहरू किनिरहेको उनले देखेका छन् । 

कोही भवितव्यका लागि तयारी गरिरहेका छन् भने कोही रुसले यस्तो विषम कदम कहिल्यै नउठाउनेमा आशावादी देखिन्छन् । ३१ वर्षीय दिमिट्रो यास्ट्रुब किभ मार हान्न प्रयोग गरिएका परम्परागत हतियारबाट बढी चिन्तित देखिए । पुलमा हमला भएपछि जवाफी कारबाही हुने लागेको भए पनि आणविक आक्रमणको जोखिम उनको दिमागमा नआएको उनले बताए । मध्य किभमा श्रीमान् र किशोरी छोरीसँग हिँडिरहेकी ४७ वर्षीया स्वेतलाना जोजुलियालाई पनि पुटिनले युक्रेनमा आणविक आक्रमण गर्नेछन् भन्ने विश्वास छैन । तर, पछि के होला भनेर उनले पनि पोटासियम आयोडाइड चक्की भने किनिसकेकी छिन् । ‘मेरो विश्वासमा हाम्रो सफलताले पुटिनलाई विचलित पार्नेछ । तर, आणविक आक्रमण रोज्दा उनले पनि त्यसको परिणाम भोग्नुपर्ने हुन्छ,’ जोजुलियाले भनिन् । 

द न्युयोर्क टाइम्सबाट

ad
ad