![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/raju-gurung2022-10-12-06-00-30.jpeg)
लक्ष्मण थारू र रेशम चौधरीको पनि उम्मेदवारी गुम्यो
रुपन्देही २ मा सत्तागठबन्धनले साझा उम्मेदवार बनाएको एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा उम्मेदवार बन्न अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।
गुरुङ एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष हुन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य देखिएको विज्ञप्तिमार्फत जानकारी गरएको छ । उक्त दफामा ‘कालोसूची’मा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ ।
आयोगले गुरुङ कालोसूचीमा रहनुको विस्तृत कारण नखुलाए पनि उनीविरुद्ध अदालतले बैंकिङ कसुरमा जरिवाना गरेको, तर भुक्तानी नगरेकाले उम्मेदवार बन्न अयोग्य ठहर गरेको हो ।
गुरुङ र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६ साउन ०७६ मा मुद्दा दर्ता भएको थियो ।
अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सञ्जीव राई र शक्तिमान डंगोलसमेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा १२ मंसिर ०७८ मा उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो । गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि ६ साउन ०७६ सम्मको सयकडा १० प्रतिशतका दरले कानुन बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो ।
त्यस्तै, रुपन्देही–२ बाटै हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवारी दिएका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको छ । भुसालले सरकारबाट आर्थिक लाभ लिइरहेकाले उम्मेदवार बन्न नपाउने भन्दै उजुरी परेको थियो । उनले सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेको छानबिनमा खुलेको छ ।
त्यस्तै, स्वतन्त्रबाट उम्मेदवारी दिएका हिमाल बस्यालको पनि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन निर्देशिका, २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार बन्न पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ ।
बर्दिया २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका रेशमलाल चौधरी तथा कैलाली– ५ मा उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीविरूद्ध परेको उजुरीका आधारमा मंगलबार उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको हो । क्षेत्र नम्बर २ कै संयुक्त गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार सुरेश पन्थको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा १३ को उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थाबमोजिम र सोही ऐनको दफा २३ को मनोनयनपत्र बदर हुने व्यवस्थाबमोजिम चौधरीको उम्मेदवारीको मनोनयनपत्र खारेज गरिएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए । उम्मेदवार चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको र उच्च अदालतले पनि सो फैसलालाई सदर गरेपछि कारगार कार्यालय डिल्लिबजारमा कैद भुक्तानको क्रममा रहेको जानकारी गराइएको छ । चौधरी अहिले ज्यान मार्ने उद्योगमा सजाय पाएर जेलमा छन् ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली ५ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थारूको उम्मेदवारी रद्द भएको छ । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतबाट थारू दोषी ठहर भएकाले उनको उम्मेदवारी रद्द गरिएको कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले जानकारी दिए ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरेको ६ वर्षसम्म प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न नपाउने निर्वाचन ऐनमा भएको व्यवस्था रहेको, तर थारूले कैद भुक्तान पनि नगरेकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थरुहट आन्दोलनका क्रममा ०७२ भदौमा आठ प्रहरी र एक नाबालकको ज्यान गएको घटनामा जिल्ला र उच्च अदालतले थारूलाई दोषी ठहर गरेको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीसम्बन्धी मुद्दामा आजीवन काराबासको सजाय पाएका चौधरी फरार छन् । उनले कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने मुद्दामा थप पाँच वर्ष कैद सजाय हुने फैसला उच्च अदालत दिपायलले ०७७ पुसमा गरेको थियो ।
घटनापछि फरार रहेका चौधरीले वारेसनामामार्फत उम्मेदवारी दिएका थिए । आजीवन काराबासको सजाय पाएका व्यक्तिको उम्मेदवारी खारेज हुनुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । क्षेत्र नम्बर ५ मा गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराज पन्त र एमालेका नारदमुनि राना उम्मेदवार छन् ।