१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o५:५१:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अविरल वर्षाले मुगु, हुम्ला र कालीकोटमा एकैदिन १७ को मृत्यु

Read Time : > 6 मिनेट
२o८१ बैशाख २० बिहीबार o५:५१:oo

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा व्यापक क्षति, बर्दिया र कैलालीमा मात्रै दुई हजारभन्दा बढी परिवार विस्थापित, सयौँ हेक्टर धानबाली डुब्यो

कैलालीको भजनी नगरपालिका– ३, पडरियापुरमा डुबानमा परेको घर । यहाँका ४६ परिवार विस्थापित भएर स्थानीय राष्ट्रिय माविमा बसिरहेका मेयर केवल चौधरीले बताए । करिब साढे दुई सय परिवारले हुलाकी राजमार्गमा आएर आश्रय लिइरहेको उनले बताए । विस्थापित दुई सय परिवार भने सोनाहाफाँटामा बसिरहेका नगरपालिकाले जनाएको छ । तस्बिर सौजन्य : खेम पाण्डेय 

एक साताअघि गण्डक क्षेत्रबाट सुरु भएको वर्षाले पछिल्ला केही दिनदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ । झन्डै एक सातादेखि अविरल वर्षासँगै आएको बाढी र पहिरोमा घरहरू पर्दा मानवीय क्षति नै भएको छ, सयौँ घरपरिवार विस्थापित भएका छन् भने कैयौँ हेक्टर धानबाली डुबानमा परेको छ । 

आइतबार मात्रै कर्णालीको मुगुमा आठ, हुम्लामा पाँच  र कालीकोटमा चार गरी १७ को मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घरमा पहिरो खस्दा तथा अविरल वर्षाले घर भत्किँदा उनीहरूको मृत्यु भएको हो ।  

त्यस्तै, सुदूरपश्चिमको कैलालीका तीन पालिकाका गाउँहरू डुबानमा पर्दा १३ सय घरपरिवार विस्थापित भएका छन् । टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाबाट विस्थापित भएकाहरू कोही नजिकका विद्यालयमा आश्रय लिएका छन् भने केहीको सडकमा बिचल्ली भएको छ । 

लुम्बिनीको बर्दियामा कर्णाली नदी राजापुर छिर्दा १३ सय २४ घरधुरी प्रभावित भएका छन् । यीमध्ये अधिकांश विस्थापित भएका छन् । त्यस्तै, पाकेर काट्ने वेला भएको कैयौँ हेक्टरको धानबाली ढलेर हिलोमा गडेको छ । 

मुगुमा पहिरोले घर पुर्दा आठको मृत्यु, पाँच घाइते 

मुगुको छायानाथ–रारा नगरपालिका– ११ स्थित तल्लो सालिम गाउँमा पहिरोमा घर पुरिँदा दुई परिवारका आठजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । आइतबार दिउँसो हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि उनको परिवार घरभित्रबाट सामान निकालेर छिमेकी मानबहादुर भग्रीको घरमा आश्रय लिन पुगेको थियो । तर, दुवै परिवार घरभित्र रहेको अवस्थामा मानबहादुरको घरमाथिबाट पनि पहिरो खस्यो । यसैक्रममा घर भत्किँदा आठजनाको ज्यान गएको वडाध्यक्ष कुन्जुमा कुमाईंले जानकारी दिइन् । 

मृत्यु हुनेहरूमा ८२ वर्षीया गौरीकला बोहरा, १९ वर्षीया सुस्मिता भग्री, ३० वर्षीया होजाली भग्री, ५४ वर्षीय वीरबहादुर भग्री, १५ वर्षीय चक्रवीर बोहरा, २० वर्षीय सक्कबहादुर सावत, २० वर्षीय कृष्णा सावत, ६० वर्षीया हजारी भग्री रहेको उनले बताइन् । 

सोमबार बिहान ७ बजे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका २५ जनाको टोली घटनास्थलतर्फ हिँडे पनि गमगाढ खोलाका पुलपुलेसा बाढीले भत्काएका कारण राति अबेरसम्म पनि पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । उद्धारका लागि सुर्खेतबाट हेलिकोप्टर पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण असफल भएको छ ।

सोही ठाउँमा पहिरोले २५ घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई स्थानीय प्रभात माविमा राखिएको वडा प्राविधिक जितेन्द्र कुमाईंले बताए । अन्य धनमालको क्षति कति भयो भन्ने यकिन हुन सकेको छैन ।

त्यस्तै, वडा नम्बर– ८ झ्यारीगाउँ, वडा नम्बर ७ टोप्ला गाउँ, वडा नम्बर ४ र ५ का ढुम र भियालवाडा गाउँ तथा सदरमुकाम गमगढीको कालिका मालिका दक्षिण खण्डमा पाँच सय परिवार विस्थापित भएको खबर छ । अविरल वर्षसँगै जिल्लामा फोन, विद्युत्, इन्टरनेट सबै अवरुद्ध भएकाले कहाँ कति क्षति भयो भन्ने यकिन हुन नसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । विद्युत् प्राधिकरणको गमगाढ वितरण केन्द्रको पावरहाउसलगायत संरचना सबै गमगाढ खोलामा आएको बाढीले बगाएको प्रजिअ महतको भनाइ छ । 

घर भत्किँदा हुम्लामा एकै घरका चारसहित पाँचको मृत्यु, पाँच घाइते
अविरल वर्षाका कारण हुम्लाको चंखेली गाउँपालिका– ६ मेल्छाममा घर भत्किँदा एकै घरका चारजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् । त्यस्तै ताँजाकोट गाउँपालिका– ४ मा बाटोमाथिबाट खसेको ढुंगा लागेर एकको ज्यान भएको छ । 

चंखेलीमा मृत्यु हुनेहरूमा ५६ वर्षीय तुल्सी विक, पाँच वर्षीय वसन्त विक, नौ वर्षीया सुस्मिता विक र सात वर्षीय होइजाली विक रहेका मेल्छाम प्रहरीले जनाएको छ । सोही परिवारका ४२ वर्षीय देउचे विक, उनकी २८ वर्षीया श्रीमती अवकति विक, ११ वर्षीया छोरी निरू विक, १३ वर्षीया ममता विक र अर्का एक वर्षीय छोरा घाइते भएका प्रहरीले जनाएको छ । ताँजाकोटमा मृत्यु भएकाको विस्तृत विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ । 

वर्षाले नाम्खा गाउँपालिकाको च्याछहरालगायतका स्थानमा सडक भत्किएर आवतजावतमा समस्या भएको छ । सर्केगाड गाउँपालिका– ८ राहदेवमा पनि कम्तीमा पाँच घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । 

कैलालीमा १३ सय परिवार विस्थापित : कोही विद्यालयमा, कसैको सडकमा बिचल्ली
विभिन्न नदी र खोलामा आएको बाढी बस्ती पस्दा सुदूरपश्चिमको कैलालीमा १३ सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । कर्णाली नदीको भंगालो नै गाउँ पसेपछि टीकापुर नगरपालिकामा मात्रै दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । टीकापुरका आठ सय १६ घरधुरी विस्थापित भएका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

टीकापुरका मेयर रामलाल डगौरा थारूले विस्थापितहरू सडक, विद्यालय, सामुदायिक भवनहरूमा बसिरहेका बताए । टीकापुरको शक्तिनगर, शिवनगर, विजयनगर, राजीपुर, मनिकापुर, वसन्ता, तुल्सीपुर, कुर्मीडाँडा, भगवानपुर, फर्सेनी, नारायणपुर, प्रतिपुर, सुन्दरपुर, बनगाउँ फाँटालगायत गाउँ डुबानमा परेका छन् । विस्थापित भएर बिचल्ली भएकाहरू वर्षा नरोकिँदा झन् समस्यामा परेका छन् । 

‘विस्थापितलाई सुरक्षित ठाउँमा सार्ने र पानीको निकास खोल्ने कार्यमा व्यस्त छौँ, धेरैजसो बस्ती डुबानमा परेकाले कति परिवार विस्थापित भए भन्ने यकिन तथ्यांक लिन पाएका छैनौँ,’ मेयर थारूले भने, ‘हजारभन्दा बढी नै परिवार विस्थापित भएको हाम्रो अनुमान छ ।’ कर्णाली नदीको बाढी टीकापुरको साहीपुर तथा खरौला र पाथाभरामा बाँध भत्काएर बस्ती पसेको स्थानीयले बताएका छन् । कर्णाली, पथरैया, मोहना नदी र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको बाढी बस्ती पस्दा टीकापुरका अधिकांश वडा डुबानमा परेका छन् ।

त्यस्तै, भजनी नगरपालिकामा पनि तीन सय ८८ घर डुबानमा परेपछि विस्थापित भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । भजनी नगरपालिकाको वडा नम्बर ३ र ८ का धेरैजसो क्षेत्र डुबानमा परेका छन् । वडा नम्बर ३ को पकडियापुर गाउँका ४६ परिवार विस्थापित भएर स्थानीय राष्ट्रिय माविमा बसिरहेका भजनीका मेयर केवल चौधरीले बताए । करिब साढे दुई सय परिवारले हुलाकी राजमार्गमा आएर आश्रय लिइरहेको उनले बताए । विस्थापित दुई सय परिवार भने सोनाहाफाँटामा बसिरहेका नगरपालिकाले जनाएको छ । 

डुबानमा परेका गाउँमा सुरक्षा निकायको डुंगामार्फत चामललगायत खाद्यान्न पुर्‍याइएको चौधरीले बताएका छन् । विस्थापित भएर डुबान नहुने ठाउँमा बसिरहेका परिवारलाई खाद्यान्न पुर्‍याउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ । विगतमा पनि कैलालीमा बाढीबाट सबैभन्दा धेरै प्रभावित हुने पालिका भजनी नै हो । कान्द्रा, काँडा, मोहना र पथरैया नदीको बाढीले भजनीका अधिकांश बस्ती डुबानमा पर्ने गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार जानकी गाउँपालिकामा पनि एक सय चार घरधुरी डुबानमा परेका छन् । जानकी– ९ मा रानीजमराको नहर फुटेर बाढी बसेपछि आसपासका बस्ती जलमग्न भएका छन् । नहर फुट्दा वडा नम्बर ८ र ९ को सिमानामा पर्ने धर्मफाँटाका ८० परिवार विस्थापित भएका हुन् । त्यस्तै, पाताभारा गाउँका २५ परिवार विस्थापित भएर आफन्तको घरमा बसिरहेका गाउँपालिकाले जनाएको छ । विस्थापित भएकालाई खानबस्न समस्या भएको छ ।

अविरल वर्षाले कर्णाली नदीमा जलस्तर बढेर दुई दिनदेखि खतराको तह नाघेको छ । नदीले बाँध फुटाएको टीकापुर र जानकीको गरी तीन ठाउँमा ढुंगा राखेर रोक्ने प्रयास भइरहेको टीकापुरका मेयर थारूले बताएका छन् । त्यस्तै मोहना, पथरैया, खुटियालगायत नदीमा बाढीले खतराको तह नाघेको छ । कैलालीमा लगातार ६ दिनदेखि वर्षा भइरहेको छ । वर्षाले धनगढी उपमहानगरपालिकामा पनि विभिन्न बस्तीहरू जलमग्न भएका छन् । कैलारी गाउँपालिकामा यसअघि नदी कटानका कारण विस्थापित भएका परिवार अविरल वर्षाले विस्थापित भएर बसेको ठाउँबाट पनि विस्थापित हुनुपर्ने अवस्था आएको छ ।

बर्दियाको राजापुर डुब्दा १३ सय घरधुरी प्रभावित, धानबाली ढलेर हिलोमा गड्यो 
कर्णाली नदीको वहाब बढेर बस्ती पस्दा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका डुबानमा परेका छन् । राजापुरमा मात्रै एक हजार तीन सय ४२ घरधुरी प्रभावित भएका छन् । यीमध्ये अधिकांश विस्थापित नै भएका छन् । 

राजापुर नगरपालिकाले गत वर्षजस्तै यस वर्ष पनि विस्थापित र अतिप्रभावित घरधुरीलाई सात ठाउँमा मेस चलाएर खाना खुवाइरहेको छ । हाल विस्थापित भएका परिवारलाई सहज होस् भनेर सामूहिक खाना खुवाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । अतिप्रभावितहरूको तथ्यांक संकलन गरी राहत प्याकेज वितरण गर्ने पनि उनले बताए । 

कर्णाली नदीले खतराको तह पार गरेर १२ मिटर पुगेपछि गएरातिदेखि राजापुरमा बाढी पसेको स्थानीय लोकराज ढुंगानाले बताए । कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको ड्यामसहितको तटबन्धमाथिबाट पानी छचल्किएर गाउँतर्फ पसेको स्थानीयको भनाइ छ । 

त्यस्तै गेरुवा गाउँपालिकाको वडा नं. १, २ र ३ का गाउँमा पानी पसेको छ । पूर्वजानकारी दिइएकाले जनधनको धेरै क्षति हुन नपाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । क्षतिको विवरण र प्रभावितहरूको विवरण संकलन जारी रहेको उनको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा यस वर्ष पनि धानबालीमा बढी क्षति भएको छ । गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसपालि पाकेर काट्ने वेला भएको धानबाली ढलाएर हिलोले डुबाएको कृषक सुन्दरी थारूले बताइन् । गत वर्ष क्षतिको विवरण बुझाए पनि क्षतिपूर्ति नपाएको उनको गुनासो छ । 

कालीकोटमा चारको मृत्यु, मलामी गएका १३ जना पहिरोमा बेपत्ता 

कालीकोटमा पहिरोमा परेर चारजनाको मृत्यु भएको छ । १३ मलामीसहित कम्तीमा १८ जना बेपत्ता छन् । अविरल वर्षाका कारण घर भत्किँदा आइतबार पचालझरना गाउँपालिका– ७ का पुरिलाल बोहराको च्यापिएर मृत्यु भएको हो । त्यस्तै, तिलागुफा नगरपालिका– ७ बालीगाउँमा घर भत्किँदा दाजुभाइ १५ वर्षीय भरत विष्ट र १३ वर्षीय कृपेश विष्टको मृत्यु भएको छ । सोही घटनामा उनीहरूकी आमा ममता विष्ट र बहिनी ज्यानी विष्ट बेपत्ता भएका छन् । तिलागुफाकै वडा नम्बर ६ भैसैगोडास्थित जोरासिंह शाहीको घर पहिरोले पुरिँदा उनकी ८० वर्षीया आमा लालका शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले कर्णाली करिडोर र कर्णाली राजमार्ग अवरुद्ध छ । 

सान्नीत्रिवेणी– ८ मा पनि घर नै भत्किएर च्यापिँदा १४ वर्षीय कबुल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए । डिएसपी रिमालका अनुसार तिलागुफा नगरपालिका– ४ राचुलीस्थित तिलानदीमा मलामी गएका १३ जना शवदहन गर्दागर्दै माथिबाट पहिरो खस्दा पुरिएर बेपत्ता भएका छन् ।

सो ठाउँमा ५२ जना मलामी थिए । प्रहरीका अनुसार तिलागुफा– ४ का वडाध्यक्ष ५६ वर्षीय परबहादुर शाही, सोही ठाउँका ४१ वर्षीय मोतीलाल शाही, २३ वर्षीय प्रशान्त शाही, ३३ वर्षीय छत्रबहादुर शाही, २४ वर्षीय नरेश शाही र ५५ वर्षीय धनबहादुर शाही बेपत्ता भएका छन् । त्यस्तै, ७६ वर्षीय अली शाही, ५७ वर्षीय मानबहादुर शाही, २३ वर्षीय खेमराज शाही, भेषबहादुर शाही, २८ वर्षीय खगेन्द्रबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही र ४७ वर्षीय कालीबहादुर शाही पनि बेपत्ता भएका छन् । उनीहरूको खोजीमा प्रहरी परिचालन गरिए पनि निरन्तर पानी परेकाले समस्या भएको डिएसपी रिमालले बताए । 

ad
ad