राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बाग्लुङ १ बाट उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष केसीले प्रदेश सभाका उम्मेदवारसहित मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
उनी पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन्। गठबन्धनमा भागबन्डा गर्दा प्रतिनिधिसभा क्षेत्र राजमोलाई परेको थियो। केसीसँगै प्रदेश सभामा कांग्रेसका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराए। केसीको क्षेत्रमा प्रदेश सभा ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र ‘ख’ मा कांग्रेसकै डिल्लीराम सुवेदी छन्।
केसी, सुवेदी र थापा सँगै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए। केसीसँगै प्रमुख प्रतिपक्षी दल एमालेका तर्फबाट निवर्तमान सांसद डा. सूर्य पाठकले उम्मेदवारी दर्ता गराए। त्यसैगरी, राप्रपाका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए।
प्रतिनिधिसभामै स्वतन्त्रको तर्फबाट चन्द्रबहादुर क्षेत्री, कृष्णशंकर श्रेष्ठ, कांग्रेस बिपीका शिवलाल सापकोटाले पनि उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बाग्लुङ १ ‘क’ मा थापासँगै एमालेका हीराबहादुर केसी ‘ख’मा सुवेदीसँग एमालेका नवराज पौडेलको प्रतिस्पर्धा हुने देखिएको छ।