राजमार्गका विभिन्न खण्डलाई पुनर्निर्माण गर्न कम्तीमा सात अर्ब लगानी चाहिने अनुमान
१०–१२ असोजमा भएको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्ग पुनर्निर्माण गर्न ‘जिओग्रिड वाल’देखि ‘भायाडक्ट’सम्म गरिने भएको छ । नयाँ इन्जिनियरिङ डिजाइन तथा प्रविधि प्रयोग भएमा करिब सात अर्ब थप लगानी चाहिने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुमान छ ।
क्षतिग्रस्त आवश्यकताका आधारमा कतिपय ठाउँमा भायाडक्ट पुल बनाउन सकिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताए । यसको लागत महँगो हुने हँुदा आवश्यकताका आधारमा यस्तो पुल बनाउन सकिने उनको भनाइ छ । पहिला तलबाट ‘वाल’ उठाएर र कम मात्रामा भित्ता कटान गरेर सडक निर्माण गरिएको थियो । तर, अहिले रोशी खोलामा अस्वाभाविक रूपमा बाढी आउँदा सडक बगाएको छ । आगामी दिनमा यस्ता बाढी आए पनि थेग्ने गरी सडकको पुनर्स्थापना गर्ने सरकारको लक्ष्य छ । पुरानै प्रविधिमा सडकको पुनर्स्थापना गर्दा भविष्यमा आउन सक्ने यस्तै बाढीपहिरोले पुनः सडक बगाउनेलगायत समस्या आउन सक्छन् ।
भायाडक्ट नबनाएमा अब पनि भित्ता काट्ने वा तलबाट वाल उठाएर नै सडक बनाउनुपर्छ । त्यस क्रममा भित्ता कटान गर्ने ठाउँमा पहिरो रोक्ने प्रविधि प्रयोग गर्ने बताइएको छ । तलबाट वाल उठाउने ठाउँमा भने बाढीको बहाव थेग्ने प्रविधि प्रयोग गर्ने मन्त्रालयको योजना छ । अधिकांश ठाउँमा ‘जिओग्रिड वाल’ पनि बनाउने योजना मन्त्रालयको छ ।रोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशीदेखि नेपालथोकसम्मका विभिन्न ठाउँमा गरेर १२ किलोमिटर सडक बगाएको छ । सो स्थानमा सडक पुनर्स्थापना गर्न कम्तीमा पनि सात अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले बताए । ‘यो विस्तृत अध्ययन गरेर नै अनुमान गरिएको रकम होइन । क्षतिको मूल्यांकन, हामीले प्रयोग गरिने लागत अनुमानको सूत्रलगायतका आधारमा यतिको लगानी चाहिने अनुमान गरिएको हो,’ उनले भने, ‘तर, नयाँ डिजाइन तथा प्रविधि प्रयोग गर्नुपरेमा थप लगानी चाहिन सक्छ ।’
२५ असोजदेखि अस्थायी रुट बनाएर उक्त राजमार्गमा यातायात सञ्चालन गरिसकिएको छ । अब त्यहाँ ‘वासवाउट’ भएको सडकलाई पुनर्स्थापना गर्नेसम्बन्धी योजना बनाउन मन्त्रालय र सडक विभाग अघि बढेका छन् । त्यसका लागि झन्डै साढे दुई वर्ष समय लाग्ने प्रारम्भिक अनुमान गरिएको सडक विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए ।
‘विस्तृत अध्ययन गरेर पुनर्निर्माणको तालिका तय गर्न बाँकी छ । तर, अझै चार–पाँच महिना सडक कसरी पुनर्स्थापना गर्नेलगायत योजना बनाउनै लाग्छ । जापानले बनाएको सडक हुनाले पुनर्निर्माणका लागि जापानसँग पनि समन्वयन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि निर्माणकै काम गर्न भने थप दुई वर्षजति लाग्न सक्छ । तर, दैनिक तीन सिफ्ट (सत्र)मा काम गर्न सकियो भने कम समय पनि लाग्न छ ।’
बिपी राजमार्गमा भएको क्षति र पुनर्निर्माणमा जापान आफैँले पनि चासो देखाएको छ । केही दिनअघि जापानको टोकियोमा एसिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटरी (एपिआरएसओ)को बैठकमा भाग लिन मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता ढकालसँग जाइकाका एक उच्च अधिकारीले भेट गरेका थिए । भेटमा उक्त अधिकारीले नेपालको अपेक्षा के हो भनेर बुझ्न खोजेका थिए ।
जापानको प्राविधिक टोलीबाट स्थलगत अध्ययन
जापानको प्राविधिक टोलीले मंगलबार बिपी राजमार्गमा पुगेको क्षतिबारे स्थलगत अध्ययन गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जापानको प्राविधिक टोलीबाट क्षतिग्रस्त बिपी राजमार्गको अध्ययन भएको बताए । आफूले बनाएको सडकमा बाढीले के–कस्तो क्षति पुर्याएको छ भनेर जापानले प्राविधिक टोली पठाएर अध्ययन गरेको हो । बाढीले सडकलाई क्षतिग्रस्त बनाएलगत्तै मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालसँगको नियमित बैठकमा यसबारे पनि ध्यानाकर्षण गराएको थियो । त्यसपछि जाइका नेपालका प्रतिनिधिले सम्बन्धित निकायमा सूचना प्रवाह गर्ने बताएका थिए । सम्भवतः अब जापानको प्राविधिक टोलीले यसै साता सडक विभाग र मन्त्रालयसँग औपचारिक छलफलसमेत गर्नेछ ।
यो सडकको पुनर्निर्माणमा नेपालले जापानबाट आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा राखेको छ । तर, यो टोलीले यसबारे कुनै निर्णय गर्नेछैन । टोलीले सडकमा पुगेको क्षतिबारे आफ्नो सम्बन्धित निकायमा सूचना प्रवाह गर्नेछ । त्यसपछि थप कूटनीतिक प्रक्रियामार्फत आर्थिक तथा प्राविधिक सहयोगबारे निक्र्याेल गरिनेछ । यसका लागि अहिले मन्त्रालयले नेपालस्थित जापानको दूतावास र जाइका नेपाललगायतका निकायसँग पनि पहल गरिरहेको बुझिएको छ ।
जापानकै आर्थिक तथा प्राविधिक सहयोगमा एक सय ६० किमि लामो (धुलिखेल–सिन्धुली–बर्दीबास) उक्त सडक निर्माण गरिएको थियो । जापानले यसमा २६ अर्ब यान आर्थिक सहयोग गरेको थियो । यसका अलाबा प्राविधिक सहयोग पनि जापानकै छ । ०५३/५४ देखि सुरु भएको यसको निर्माण ०७२ सालमा सम्पन्न भएको थियो । सामान्यत जसको सहयोगमा सडक परियोजना बनेको छ, उसले नै उक्त सडकको विशेष मर्मत–सम्भार तथा विस्तार गर्ने अभ्यास छ । काठमाडौं उपत्यका चक्रपथ, अरनिको राजमार्ग, हिल्सा–सिमकोट चीनको सहयोगमा बनेको थियो । त्यसको मर्मत–सम्भार तथा विस्तार पनि चीनले नै गर्दै आएको छ । यस्तै, ५२ किलोमिटर धरान–धनकुटा सडक बेलायतको आर्थिक सहयोगमा ०३३ मा निर्माण गरिएको थियो । त्यो सडक पनि बेलायत सरकारकै आर्थिक सहयोगमा मर्मत तथा विस्तार हुँदै आएको छ । सोहीअनुसार पछिल्लो बाढीले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्स्थापनामा पनि जापानबाट आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा नेपाल सरकारले राखेको छ ।
के हो जिओग्रिड वाल र भायाडक्ट ?
जिओग्रिड वाल
जिओग्रिड वाल माटोको दीर्घकालीन स्थायित्वका लागि लगाइने विशेष प्रगतिको वाल हो । विशेष गरी पहिरो रोक्न यस्तो वाल बनाइन्छ । सडकको भित्ताबाट आउन सक्ने पहिरो, सडकको तल्लो भागबाट जान सक्ने पहिरोलगायत रोकथाम गर्न विशेष रूपमा यस्तो वाल बनाइन्छ । समग्रमा भूस्खलन रोक्न यसले सहयोग पुग्छ । बिपी राजमार्गको हकमा खोलाको बहाव तथा बाढीलाई समेत थेग्ने गरी यस्तो वाल लगाउने योजना छ ।
भायाडक्ट
भायाडक्ट एक किसिमको पुल हो । सामान्यत यो पुल अन्यभन्दा अग्लो हुन्छ । अग्ला–अग्ला पिल्लर उठाएर यस्तो पुल निर्माण गरिन्छ । दूरी छोट्याउन अन्य सामान्य ठाउँमा पनि यस्तो पुल बनाइन्छ । विशेष गरी खोलाको बाढी र पहिरोको जोखिम भएको ठाउँमा यो उपयोगी हुन्छ । खोलाको बाढी र पहिरोले असर नपुग्ने गरी अग्लो पिल्लर उठाइन्छ, त्यसमा स्पान राखेर पुल तयार गरिन्छ । गाडी गुड्ने सतहमा समेत पहिरो र बाढीले कुनै असर पुग्दैन ।