
तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान ६ः३० बजेतिर सडकमाथिबाट लेदोसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवामा लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए। ‘अवरुद्ध बाटो छिटो खुलाउन डोजर परिचालन गरिएको छ,’ उनले भने।
सडक अवरुद्ध भएपछि लामो तथा छोटा दूरीका सवारीसाधन रोकिएका छन्। ठूलो झरी परेकाले पहिरो पन्छाउन पनि समस्या भएको प्रहरीले जनाएको छ।
तीन दिनदेखि परेको पानीका कारण राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने ग्रामीण भेगका सडक पनि अवरुद्ध भएका छन्।