Skip This
एमालेमा प्रत्यक्ष उम्मेदवारमाथि प्रारम्भिक छलफल : अन्तिम निर्णयअघि ओलीलाई परामर्शको जिम्मेवारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Saturday, 27 July, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ असोज १४ शुक्रबार o६:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेमा प्रत्यक्ष उम्मेदवारमाथि प्रारम्भिक छलफल : अन्तिम निर्णयअघि ओलीलाई परामर्शको जिम्मेवारी

क्षेत्र बाँडफाँड र टिकटको टुंगो लगाउन सत्तागठबन्धनभित्र भइरहेको ढिलाइले निम्त्याउने असन्तुष्टि विश्लेषण गरेर मात्र निर्णय लिने एमालेको नीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार o६:५४:oo

एमालेले अध्यक्ष केपी ओलीले परामर्श गरेपछि मात्रै प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली टुंग्याउने निर्णय गरेको छ । भक्तपुरस्थित ओलीको निजी निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सचिवालयले टुंग्याउनुअघि आवश्यक परामर्श लिने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको हो । 

ओलीले परामर्श गरेर गृहकार्य पूरा गरेपछि केन्द्रीय सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाउने उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाका सम्भावित उम्मेदवारका सन्दर्भमा प्रारम्भिक छलफल मात्रै भएको छ । यसअनुसार गठबन्धनको क्षेत्र बाँडफाँड टुंगिएर छनोट सुरु भएपछि मात्र एमालेले आफ्ना उम्मेदवार टुंगो लगाउने रणनीति अख्तियार गरेको छ ।

‘४ मंसिरमा हुने प्रत्यक्षतर्फको निर्वाचनमा को–को निर्वाचित हुन सक्छन् भन्नेबारे प्रारम्भिक छलफल भएको छ । त्यस्तै, सातवटै प्रदेश सभाका तीन सय ३० क्षेत्रका सम्भावित उम्मेदवारबारे छलफल गरेका छौँ, तर ठोस निर्णय गरेका छैनौँ,’ बैठकपछि उपमहासचिव गुरुङले भने, ‘केन्द्रीय हेडक्वार्टर र अध्यक्षज्यूले परामर्श लिनुहुनेछ र उपयुक्त समयमा सचिवालयको बैठक गरेर नामावली बाहिर ल्याउनेछौँ ।’ गुरुङले दसैँको टीका सकिएर प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन गर्ने सँघारमा मात्रै नामावली टुंगो लाग्ने संकेत गरे । ‘प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउने काम २१ र २२ असोजभित्र हुन सक्छ,’ उनले भने । त्यस्तै, गुरुङले समानुपातिकतर्फको उम्मेदवारहरूको नामावली लगभग टुंगो लागिसकेको पनि जानकारी दिए । 

एमालेले जिल्ला र प्रदेशको सिफारिसलाई मुख्य आधार मानेर विपक्षीलाई चुनौती दिन सक्ने लोकप्रियलाई छनोट गर्ने गरी प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । ‘हाम्रो पहिलो मापदण्ड जो लोकप्रिय छ, त्यसैलाई प्राथमिकतामा राखेर छनोट गर्ने भन्नेछ,’ गुरुङले भने, ‘नयाँ प्रवेशी छ र ऊ नै लोकप्रिय छ भने पनि उसैले टिकट पाउन सक्ने गरी विशेष मापदण्डअनुसार ढोका खोलेका छौँ ।’ उनले जिल्ला र प्रदेशबाट आएका नामको प्राथमिकता क्रमलाई आधार मानेर छनोटका लागि छलफल अघि बढेको पनि जानकारी दिए । दशबुँदे समूहका नेतालाई टिकट नदिने, पूर्वमाओवादी समूह समानुपातिक सूचीमा असन्तुष्ट छ भन्नेजस्ता बाहिर आएका विषय हल्ला र काल्पनिक भएको उनको दाबी छ । 

सत्तारूढ गठबन्धनले क्षेत्र बाँडफाँड र टिकटको टुंगो लगाउन ढिलाइ गरेपछि एमालेले पनि तत्काल छिनोफानो नगर्ने नीति लिएको छ । गठबन्धनभित्रको असन्तुष्टिलाई हेरेर मात्र टिकटको टुंगो लगाउने र अन्य दलसँगको सम्भावित तालमेलबारे पनि अन्तिम निर्णयमा पुग्ने एमालेको रणनीति छ ।