१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ८ शनिबार ०६:२४:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चाडपर्व विशेष सुरक्षा : योजना बजार, सडक र बैंक तथा वित्तीय संस्थालक्षित सुरक्षा सतर्कता

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ८ शनिबार ०६:२४:००

चाडपर्वमा बढ्न सक्ने अपराध र दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाल प्रहरीले देशैभरि चाडपर्वलक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । बजार, सडक र बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । ७७ जिल्लामै स्थानीय चुनौतीअनुसार सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आर्थिक कारोबार धेरै हुने ठाउँमा चोरी तथा लुटपाटका घटना हुन सक्ने भएकाले चुनौती मूल्यांकन गरी प्रहरी परिचालन गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् । 

चाडपर्वको समयमा हुन सक्ने अपराध रोक्न योजना बनाई कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले ७७ जिल्लालाई नै गत साता निर्देशन दिएको थियो । सोही आधारमा सबै जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक कार्यालयले सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याएका हुन् । ‘सुरक्षित रूपमा जनतालाई चाडपर्व मनाउन भरपर्दाे वातावरण बनाउन प्रहरीले आफ्नो सक्रियता बढाएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने, ‘त्यसका लागि सबै जिल्लालाई हेडक्वार्टरले बुँदागत रूपमा निर्देशन दिएको छ, जसअनुसार चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा आइसकेको छ ।’ 

दसैँमा सडक तथा बजारमा भिडभाड हुने र त्यही मौकामा चोरी तथा लुटपाटका घटना विगतमा भएका छन् । त्यस्ता ठाउँमा सादा पोसाकमा समेत प्रहरी खटाउन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली बताउँछन् । ‘आर्थिक कारोबार हुने ठाउँमा सिसिक्यामेरादेखि सादा पोसाकका प्रहरीबाट निगरानी गरिरहेका छौँ,’ उनी भन्छन्, ‘आवश्यकताअनुसार ड्रोन क्यामेराको समेत प्रयोग गरिएको छ ।’ 

चाडपर्वमा सामान्य र असामान्य गरी दुई किसिमको सुरक्षा चुनौती हुने प्रहरीले आकलन गरेको छ । अवैध मदिरा बिक्री–वितरण, झैझगडा, जुवातास, लंगुरबुर्जा, तीनगोटी, मादक पदार्थ सेवन गरी गरी ट्राफिक नियमको उल्लंघन, सवारी दुर्घटना, सवारीसाधनको टिकटमा कालोबजारी, नापतौलबाट ठगी, आतिसबाजी, पकेटमारी, चोरी, लुटपाट, चोरी पैठारी, नक्कली तथा म्याद गुज्रेको सामानको बिक्री–वितरण, अभद्र व्यवहार, चन्दाजस्ता अपराधलाई सामान्य चुनौतीमा राखिएको छ ।

समूह–समूहबीच हुन जाने झगडा, डकैती, हातहतियार तथा खरखजनाको प्रयोग, आगजनी, विस्फोटन, हत्या, जबर्जस्ती करणी, अपहरण वा शरीर बन्धक, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभजस्ता अपराधलाई असामान्य चुनौतीमा राखिएको थियो । यस्ता अपराध न्यूनीकरण गर्न देशैभरिका प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । 

दसैँ–तिहारमा उपत्यकामा बस्ने लाखौँ सर्वसाधारण उपत्यकाबाहिर जाने गर्दछन् । यही वेला घर तथा डेरामा कोही नभएको वेला ताल्चा फुटाएर हरेक वर्ष चोरी हुने गरेको छ । ढोकामा बलियो लक प्रयोग गर्न तथा सुन, पैसा तथा महँगा सामान राखेर उपत्यकाबाहिर नजान प्रहरीले आग्रह गरेको छ । घर नै खाली गरेर उपत्यकाबाहिर जानुपर्ने अवस्थामा स्थानीय प्रहरीलार्ई निगरानीका लागि खबर गर्न आग्रह गरिएको छ । यस्ता विषयमा सचेतनाका लागि प्रहरीले पर्चा वितरण तथा माइकिङसमेत गर्न थालेको छ । 


 नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राई भन्छन् ‘सुरक्षित रूपमा जनतालाई चाडपर्व मनाउन भरपर्दाे वातावरण बनाउन प्रहरीले आफ्नो सक्रियता बढाएको छ । त्यसका लागि सबै जिल्लालाई हेडक्वार्टरले बुँदागत रूपमा निर्देशन दिएको छ, जसअनुसार चाडपर्व विशेष सुरक्षा योजना कार्यान्वयनमा आइसकेको छ ।’

त्यस्तै, सीमा तथा राजमार्ग क्षेत्रलाई समेत लक्षित गरी प्रहरी परिचालन गरिएको छ । दसैँको पूर्वसन्ध्यामा भारतबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्कन्छन् । फर्कने क्रममा सीमामा लुटपाटलगायतका घटना हुन्छन् । उनीहरूलाई सहयोगका लागि सशस्त्र प्रहरी बलले डेस्क नै स्थापना गरी सहजीकरण थालेको छ । हाल बिओपी रहेका स्थानमा यस्तो डेस्क रहेको र आवश्यकअनुसार थपिने सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए । राजमार्ग क्षेत्रमा पनि दुर्घटनादेखि ठगीका घटना हुन सक्ने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले सक्रियता बढाएका छन् । 

ट्राफिकको योजना : दिउँसै मापसे चेकदेखि गाडीको अवस्था जाँचसम्म ट्राफिक प्रहरीले पनि सडकमा चाडपर्वलक्षित विशेष चेकजाँच सुरु गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ६ वटै मुख्य नाकामा चाडपर्वलक्षित चेकजाँच सुरु गरिसकेको छ । यात्रुवाहक गाडीको अवस्था जाँचदेखि यात्रुको संख्या तथा लामो दूरीमा दुईजना चालक राखे–नराखेको हेर्न थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । ओभरलोडका कारण पनि दुर्घटना हुने भएकाले त्यसतर्फ ट्राफिक प्रहरीले सतर्कता बढाएको उनले बताए । 

ट्राफिक प्रहरीले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीसँगको सहकार्यमा उपत्यकाका १६ स्थानमा यात्रु सहायक डेस्क स्थापना गरिसकेको छ । खासगरी चाडपर्वमा उपत्यकाबाहिर जाने यात्रुलाई ठगी नहोस् भन्ने उद्देश्यले यस्ता डेस्क स्थापना गरिएको एसएसपी भट्ट बताउँछन् । चाडपर्वको समयमा उपत्यकामा सवारीसाधनको संख्या घट्ने गर्दछ । सडक खाली हुँदा सवारीसाधनको गति तीव्र हुने र दुर्घटनासमेत हुने गरेका छन् । यस्तो दुर्घटना रोक्न दिउँसै मापसे जाँच गर्ने रणनीति ट्राफिक प्रहरीको छ । चाडपर्वको समयमा दिउँसै मदिरा सेवन हुने भएकाले ट्राफिक प्रहरीले पनि दिउँसै मापसे जाँच गर्न लागेको हो । 

दुर्घटनामा प्रधानमन्त्रीको चासो, न्यूनीकरणका लागि समिति गठन 
चाडपर्वको वेलामा हुने दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने अधिकारसहित सरकारले समिति गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डिआइजी मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरीका डिआइजी वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर सदस्य छन् । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका वेला सडक दुर्घटना बढेको भन्दै चासो राखेका थिए । दुर्घटना न्यूनीकरणका लागि आवश्यक निर्देशनसमेत दिन सक्ने गरी समिति बनाउने र चाडपर्वमा नागरिक सहज तरिकाले आफ्नो घरसम्म पुग्न सक्ने गरी यातायातको व्यवस्थापन गर्न उनले निर्देशन दिएका छन् । बिहीबार मकवानपुर र रुकुम पूर्वमा भएका दुर्घटनामा १२ जनाको मृत्यु भएपछि प्रधानमन्त्रीले यसमा चासो राख्दै सडक सुरक्षामा ध्यान दिन निर्देशन दिएका हुन् ।