१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नैनसिंह महर
२०७९ असोज ४ मंगलबार ०७:३८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युवालाई अवसर दिनुपर्ने वेला

यसपालिको संसदीय टिकट वितरणमा ७० प्रतिशत हिस्सा ६० वर्षमुनिकाले नै पाउनुपर्छ, यसमा कुनै ‘यदि’ र ‘तर’को गुन्जायस छैन

Read Time : > 4 मिनेट
नैनसिंह महर
२०७९ असोज ४ मंगलबार ०७:३८:००

लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अंग भनेका राज्यका संस्थाहरू हुन् । त्यस्ता संस्थाहरू बलियो भइसकेका देशमा उमेर परिपक्व भइसकेको व्यक्तिले पनि नेतृत्व पाउँदा खास फरक नपर्ने रहेछ । तर, देशका महत्वपूर्ण संस्थाहरूले गतिशील ढंगले काम गर्न नसकिरहेको अवस्थामा वैज्ञानिक दृष्टिकोण बोकेको, ऊर्जाशील र अलिकति आँट गर्न सक्ने नेतृत्वको आवश्यकता पर्छ । 

उमेरमा परिपक्व नेतृत्वको विषयमा चर्चा हुँदा अहिले अमरिकी राष्ट्रपति जोन बाइडेनको उदाहरण दिने गरिन्छ । अमेरिकाका ‘इन्स्टिच्युट’हरू बलिया बनिसकेका छन् । विकसित देशहरू नेपालको तुलनामा सय वर्षअगाडि छन् भन्दा अतिशयोक्ति नहोला । हाम्रो जस्तो विकासोन्मुख देशमा संस्थाको संरचना नै बन्न बाँकी छ । यस्तो राष्ट्रमा नेतृत्व तीनवटा उमेरबाट मजबुत हुनुपर्छ भनिन्छ– शारीरिक, मानसिक र आध्यात्मिक उमेर । यी तीनैवटा उमेरको संगम भएको नेतृत्व नेपालको अहिलेको आवश्यककता हो । शारीरिक रूपमा उमेरका आधारमा पनि युवा चाहिएको छ । नेतृत्व कम्तीमा दौडने सक्ने हुनुपर्छ । कछुवा गतिको हिँडाइले हामीले अरू देशलाई पछ्याउनसमेत गाह्रो हुँदै गएको छ । यसर्थ देशलाई चिन्नका लागि र नागरिकसम्म पुग्नका लागि युवा नेतृत्व नै आवश्यक छ ।

युवा कि प्रौढ ? :  फिनल्यान्डकी सन्ना मरिन ३४ वर्षमा प्रधानमन्त्री बनिन् । हालकी न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन प्रधानमन्त्री हुँदा ३७ वर्षकी थिइन् । बिपी कोइराला प्रधानमन्त्री बन्दै गर्दा ४५ वर्षका हुनुहुन्थ्यो । 

अर्कातिर हालकी ८२ वर्षीया अमेरिकी सभामुख न्यान्सी पेलेसी र ८० वर्षीय जो बाइडेनले महाशक्ति राष्ट्रको नेतृत्व गरिरहेका छन् । फिनल्यान्ड संसारकै खुसी राष्ट्रका रूपमा विश्वचर्चित छ । हामीले अनुभव मात्रै खोज्यौँ भने पनि यता युवाले पनि झन् राम्रो चलाइरहेका छन् । युवा मात्रै खोज्यौैँ भने पनि उता प्रौढले पनि राम्रो चलाइरहेका छन् । तसर्थ, सबाल उमेरको मात्रै होइन, युवा सोचको हो । नवीन दृष्टिकोण हो । ऊर्जा र अनुशासन हो । हाम्रो जस्तो देशमा विकासको जगको इँटा बोकेर थप्नै बाँकी रहेकाले युवा उमेर पनि आवश्यक सर्त बनेको हो ।

शक्ति कसैले किस्तीमा राखेर दिँदैन । यो खोसेर नै लिने हो । या त वैधानिक रूपले हस्तक्षेप नै गर्ने हो । जोसँग त्यो क्षमता छ र जो सर्वस्वीकार्य हुन्छ, जसलाई बहुमत प्राप्त हुन्छ, त्यो नै नेतृत्वमा आउँछ । संसदीय दलमा बहुमत पाएको अवस्थामा प्रधानमन्त्री बन्छ । पार्टी महाधिवेशनमा बहुमत हुँदा पार्टी सभापति बन्ने हो । 
टिकट वितरणमा युवालाई प्राथमिकता : नेपालमा दलअनुसारका विधान फरक–फरक छन् । कांग्रेसको हकमा संसदीय दलमा बहुमत प्राप्त गर्ने व्यक्ति प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ । त्यसका लागि संसदीय निर्वाचनमा उम्मेदवार छनोटका लागि कांग्रेसको संसदीय बोर्ड छ । हाल कांग्रेसको संसदीय बोर्डमा पनि दुईतिहाइभन्दा बढी युवाकै प्रतिनिधित्व छ । यसले गर्दा पनि युवालाई निर्वाचनमा टिकट दिने विषयमा अग्रसरता लिनुपर्ने दायित्व पनि उहाँहरूकै काँधमा छ । युवाको पक्षमा मुद्दा उठाएर मात्र हुँदैन । सक्षम युवालाई निर्वाचनमा उम्मेदवार बनाउनु पनि पर्छ । सक्षम युवालाई निर्वाचनको टिकट पाउने अवसरबाट वञ्चित पारियो भने त्यसले परिणाम राम्रो दिँदैन । मेरो प्रस्ट मत छ, यसपालिको संसदीय टिकट वितरणमा ७० प्रतिशत हिस्सा ६० वर्षमुनिकाले नै पाउनुपर्छ । यसमा कुनै यदि र तरको गुन्जायस छैन । यो विषयलाई मैले केन्द्रीय समितिको बैठकमा पनि जोडदार ढंगले उठाएको छु । 

पञ्चायतसँग संघर्ष गरेको वर्तमान नेतृत्वले बढीमा ०६२/६३ को जनआन्दोलनको क्षणबाट बिदा लिनुपथ्र्यो, तर पञ्चायत सकिएको ३० वर्ष र गणतान्त्रिक आन्दोलनको झन्डै १७ वर्ष पुग्नै लाग्दा पनि उही नेतृत्व देशमा कायम रहनु विडम्बना हो 
 

हामी संस्थागत संरचना निर्माणकै प्रक्रियामा छौँ । लोकतन्त्रको खम्बा भनेकै संरचना हो । प्रमुख दलहरूका पञ्चायतकालको नेतृत्व गणतन्त्रमा पनि निरन्तर छ, यो अर्को समस्या हो । पञ्चायतसँग संघर्ष गरेको वर्तमान नेतृत्वले बढीमा ०६२/६३ को जनआन्दोलनको क्षणबाट बिदा लिनुपथ्र्यो, तर पञ्चायत सकिएको ३० वर्ष र गणतान्त्रिक आन्दोलनको झन्डै १७ वर्ष पुग्नै लाग्दा पनि उही नेतृत्व देशमा छ । तीन दशकमा संसारले ठूलो फड्को मारेको छ । 

०६२/६३ को जनआन्दोलनबाट अलिअलि राजनीतिमा चासो राख्न थालेको तन्नेरीले यसबीचको झन्डै १७ वर्षमा उनै पाँच–६ जना नेता आपसमा कुस्ती खेलेको देख्छ । उतिवेला ती नेताले जे भाषण गर्थे, आज पनि त्यही भाषण गर्छन् । एउटा देश बनाउन १७ वर्ष काफी समय हो । यसबीच अविकसित देशहरू विकसित बनिसकेका छन् । ज्ञान, विज्ञान र सूचना प्रविधिले संसारको स्वरूप बदलिदिएको छ । मानिसको जीवनशैली र सोच बदलेको छ । नवीन सपना र सोच बोकेर नयाँ पुस्ता जन्मेको छ । पञ्चायतसँग जन्मेका र हुर्केका मानिसको तुलनामा त्यसपछाडिको पुस्ता बढी चेतना बोकेर आएको छ । अबको १५ वर्षपछाडिको पुस्ता अझ बढी सक्षम भएर आउनेछ । समय बदलियो, तर देशको नेतृत्व बदलिएन, व्यवस्था बदलियो, अवस्था बदलिएन । यो नै हाम्रो आजको दुर्भाग्य हो ।

नयाँ पुस्तालाई आशा र भरोसा :  अहिले १६ देखि ४० वर्षसम्मलाई युवाको उमेर मान्दा देशमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा रहेका छन् । यसको सदुपयोग गर्न हामीसँग २५ वर्षको मात्र समय बाँकी छ । एक तथ्यांकले नेपालबाट ४० प्रतिशत इन्जिनियर, ५० प्रतिशत डाक्टर, ५० प्रतिशत पाइलट र ६० प्रतिशत नर्स विदेश जाने गरेको देखाउँछ । यसले हामीले प्राविधिक शिक्षा दिँदादिँदै पनि या जस्तोसुकै शिक्षा दिँदा पनि प्रतिस्पर्धामा जान सक्ने जनशक्ति उत्पादन हुँदा पनि अवसरको अभावका कारण बस्न देशमा नचाहेको देखाउँछ । आजका विद्यालयमा पढ्दै गरेको एक किशोर १२ कक्षा सकेपछि विदेश पस्ने सपना बुनेर कक्षामा बस्दै छ, यस वर्ष १२ कक्षाको परीक्षामा सरिक भएका विद्यार्थीमध्ये ५२ प्रतिशत अनुत्तीर्ण भएको तथ्यांक हेर्दा त झन् शिक्षाको अवस्था भयावह छ भन्ने प्रस्ट देखिन्छ । नयाँ पुस्तालाई देश र आफ्नो भविष्यप्रति आशा र विश्वास दिलाउन राजनीतिक दल र सरकारमा नयाँ नेतृत्व आउनैपर्ने देखियो । 

युवा उमेर ऊर्जाको उमेर हो । सिर्जनात्मकताको उमेर हो । परिवर्तनको तीव्र हुटहुटी भएको उमेर हो । सही दृष्टिकोण, साहस र ऊर्जा बोकेको विवेकसम्मत युवा आजको नेपालको आवश्यकता हो । त्यो क्षमता भएको नेतृत्वलाई हामीले स्थापित गर्न सक्यौँ भने हामीले भनेको बाटोमा देशलाई लान सक्छौँ । निःशुल्क स्वास्थ्य, शिक्षाका साथै गुणस्तरीय यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार, कृषि उत्पादन हाम्रो आवश्यकता हो । फजुल खर्च नियन्त्रण गर्दै सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नु हाम्रो आवश्यकता हो । राज्यको औकातभन्दा बढी भएको भन्दै तत्कालीन बिपी कोइराला सरकारले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय रुपैयाँमा झारेको थियो । मन्त्रीको तलब १५ सयबाट एक हजारमा झारेको थियो । यस उदाहरणबाट हामीले शिक्षा लिनैपर्छ ।

नदी तरेपछि डुंगा नबिर्सौं :  मुलुकमा भ्रष्टाचार र कुशासनजस्ता विषयले प्रवेश पायो । जसका कारण राजनीतिक प्रणालीप्रति वितृष्णा उत्पन्न हुन थाल्यो । यसकारण अहिले पुस्तान्तरणको बहस किन उठिरहेको हो भने समाजमा भ्रष्टाचार छ, कुशासन छ, हामीले वाचा गरेको उन्नत नेपाल बनाउन सकेका छैनौँ । संविधानमा नागरिकका धेरै अधिकार राखिदियौँ तर पूरा गर्न सकेका छैनौँ । हामीले रोजगारी, गुणस्तरीय स्वास्थ्य र शिक्षाजस्ता धेरै विषय पूरा गर्न बाँकी नै छन् । 
२१औँ शताब्दीमा विश्वव्यापीकरणले प्रत्येक व्यक्ति प्रभावित छ । सूचना क्रान्तिले ल्याएको परिवर्तनसँगै हामी जोडिएका छौँ । त्यसमा हाम्रो पहुँच पनि छ । पहुँच भएकैले हामीले नयाँ नेतृत्वको आवश्यकता देखेका हौँ । यदि हामी विश्वमा आएको परिवर्तन र विकासको प्रयोग गर्नबाट वञ्चित हुन्थ्यौँ भने हामीले गतिशील नेतृत्वको आवश्यकताको महसुससम्म गर्न पाउने थिएनौँ । उदाहरणका लागि उत्तर कोरियामा इन्टरनेटको पहुँच छैन, पुरानै नेतृत्वले शासन जमाइरहेको छ । 

विश्वलाई बुझेका युवा हामीकहाँ तयार भए । तर, त्यसअनुसार नेतृत्व बदलिन सकेन । नेतृत्व जहिल्यै जनताभन्दा एक कदम अगाडि हुनुपर्ने हो । २००७ को क्रान्तिलाई हेर्ने हो भने बिपी कोइरालालगायत नेताहरू वनारसमा अध्ययन गरेर आउनुभएको थियो । सामान्य नेपालीभन्दा एक कदम अगाडि रहेर सोच्नुहुन्थ्यो । तर, आज प्रत्येक पार्टीको मूल नेतृत्व जनताको सम्पर्कबाट टाढा रहेजस्तो देखिएको छ । त्यही समाजलाई दोहोर्‍याउने नेतृत्वको आवश्यकताले पुस्तान्तरणको विषय टड्कारो रूपमा अगाडि आएको छ ।

अर्को चुनौती भनेको युवा भएर जाने र नेतृत्वमा पुगेपछि युवाका लागि युवा नै समस्याका रूपमा आएका छन् । युवाको मुद्दा उठाएर नदी तर्ने तर नदी तरेपछि डुंगा बिर्सिन थालियो भने त्यो युवाप्रतिको धोका हुनेछ । आफू बन्यो, अरु पनि आफूजस्तो बन्यो भने भोलि प्रतिस्पर्धा हुन्छ भन्ने डर देखिन्छ । प्रतिस्पर्धा कम गर्नका लागि पनि युवाको नारा लिइराख्ने भर्‍याङ चढ्ने र आफू चढेपछि निकालेर फाल्ने प्रवृत्ति देखिएको छ । यसमा सबै सच्चिनु आवश्यक छ ।

अन्त्यमा युवाहरूमा तमाम सम्भावना छ । राजनीतिक दलहरू पनि आफूलाई सच्याउनुको विकल्प नभएको वेलामा परेका छन् । नयाँ अवसर खोजिरहेका युवालाई समाजले खोजिरहेको छ । यतिवेला पुरानै ढर्रामा राजनीतिक दलहरूलाई जाने छुट छैन । दलहरूले जनताले अपेक्षा पूरा नगर्दा र दलका गल्ती कमी–कमजोरीलाई देखाएर स्वतन्त्र रूपमा युवा निर्वाचनमा विजयी बन्दै छन् । राजनीतिक दलहरू हरेक विषयमा पारदर्शी हुनुपर्नेछ । देशमा सुशासनको सुनिश्चितता हुनुपर्नेछ । तब मात्रै लोकतन्त्र र दलीय प्रणाली बलियो बन्छ । 
(महर कांग्रेस केन्द्रीय सदस्य हुन्)