१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अर्थ डिजिटल संस्करण

सिराहामा हुलाकी सडकको प्रगति पाँच वर्षमा ७५ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

राष्ट्रिय गौरवको रूपमा रहेको हुलाकी सडकखण्डअन्तर्गत सिराहामा पछिल्लो पाँच वर्षमा ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। ९ असार ०७७ सम्ममा निर्माण सक्ने गरी सम्झौता गरे पनि पटकपटक म्याद थप गरिएको सडक कालोपत्रे अझै पूरा भएको छैन।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको निर्माण कम्पनी महादेव खिम्तीले उक्त सडकखण्डअन्तर्गत सिराहामा कालोपत्रे गरिरहेको छ। ९ पुस ०७४ मा कमला नदीदेखि बलान नदीसम्मको करिब ३० किलोमिटर हुलाकी सडकखण्डमा सडक कालोपत्रे गर्ने ठेक्का स्वच्छन्द महादेव खिम्ती रोशन कन्स्ट्रक्सन जेभीले लिएको छ।

भेरिएसन रकमसहित एक अर्ब ५४ करोड ८९ लाख रुपैयाँमा कालोपत्रे सडक निर्माण गर्ने गरी सम्झौता उक्त निर्माण कम्पनीले गरेको छ। हुलाकी सडक निर्देशनालय जनकपुरधामले निर्माण कम्पनीलाई ०७९ असारसम्म एक अर्ब १५ करोड २४ लाख ६४ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। भौतिक प्रगति ७५ र वित्तीय प्रगति ७४ प्रतिशत रहेको हुलाकी सडक निर्देशनालय जनकपुरधामका साइट इन्जिनियर कौशल यादवले जानकारी दिए।

‘पटकपटक गरी म्याद थप भएको छ,’ इन्जिनियर यादवले भने, ‘आगामी पुससम्मको म्याद रहेको छ। म्यादभित्रै काम सक्नेमा हामी विश्वस्त छौैँ।’ साइट इन्जिनियर यादवका अनुसार तीन किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने, गाउँ र चोक भएको स्थानमा ढल (पक्की नाला) निर्माण गर्नुपर्ने र माटो भर्ने काम मात्र बाँकी रहेको छ। ‘चोक र बस्ती रहेको स्थानमा ढल निर्माण सुरु भएको छ,’ उनले भने, ‘समयमै काम सक्ने गरी निर्माण कम्पनीले काम गर्दै छ।’

हुलाकी सडक निर्माणकार्य ढिलाइ गरेकोप्रति स्थानीयको भने चर्को गुनासो छ। हुलाकी सडक संघर्ष समिति सिराहाका संयोजक मनोज पासवानले सडक निर्माण पूरा गर्न ढिलाइ गर्नु यस क्षेत्रका नागरिकमाथि अत्याचार भएको बताए। हुलाकी सडक र कमला पुल निर्माण गर्न संघर्ष समितिले पटकपटक आन्दोलन गरेको भन्दै संयोजक पासमानले राष्ट्रिय गौरवको योजना निर्माण ढिलाइ हुँदा राज्य मूकदर्शक बन्न नमिल्ने बताए।