१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Friday, 09 May, 2025
११ वर्षदेखि निर्माणाधीन हुलाकी सडकखण्डको सिराहा–धनुषा जोड्ने कमला नदी पुल । गत वर्ष असारमा पुल भासिएपछि स्थानीयले बाँसको पुल बनाएका छन् । सो पुल प्रयोग गर्दा मोटरसाइकलले ५० रुपैयाँ तिर्नुपर्छ । तस्बिर : सुरेन्द्र कामती/नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार ११:२२:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभर निर्माणाधीन ३३ रुग्ण पक्की पुलमध्ये २३ अलपत्र

तीन वर्षअघि एक सय ६९ रुग्ण पुल पहिचान, अन्योलमा परेका २३ रुग्ण पुलमध्ये १६ को निर्माण अहिलेकै ठेकेदारबाट सम्भव नभएको विभागको निष्कर्ष

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार ११:२२:oo

ठेकेदारको लापरबाहीले देशभरका ३३ मोटरेबल पुल रुग्ण अवस्थामा पुगेका छन् । पटक–पटक म्याद थप गर्दासमेत ठेकेदारले काम नगरेपछि देशका विभिन्न सडकमार्गमा निर्माण सुरु गरिएका पुल रुग्ण भएका हुन् । १२ वर्षअघिका टति मोटरेबल पुलमध्ये २३ वटा त अलपत्रै परेका छन् । सडक विभागका अनुसार रुग्ण अवस्थाका १० पुलको निर्माण चालू आर्थिक वर्ष ०७९/८० मै सम्पन्न हुँदै छ । तर, निर्माण कम्पनी (ठेकेदार)को लापरबाहीका कारण २३ पुलको निर्माण भने अन्योलमा परेको हो । त्यसमध्ये १६ पुलको निर्माण हालकै ठेकेदारबाट सम्भव नहुने अवस्थामा पुगिसकेको छ । विभागका अनुसार उक्त पुल बनाउने ठेक्का पाएका कतिपय कम्पनीहरू सम्पर्कमै छैनन् ।  

यस्तै, अन्य सात पुलमा भने ठेकेदारले बीचमै काम छाडेर अन्योलमा परेका हुन् । ठेकेदारहरूले काम पुनः सुरु गर्ने भनेर विभागलाई प्रतिबद्धता व्यक्त त गरेका छन् । तर, प्रतिबद्धताअनुसार काम सुरु गर्न उनीहरू अझै आएका छैनन् । फलस्वरूप उक्त पुलहरूको निर्माण पनि अन्योलमै रहेको विभागका एक उच्च अधिकारीले बताए । सरकारले २०७६ सालमा अध्ययन गर्दा एक सय ६९ मोटरेबल पुल रुग्ण अवस्थामा भेटिएका थिए । गत असारसम्ममा एक सय ३६ वटा पुल भने निर्माण सम्पन्न गरेर सञ्चालनमा आइसकेका छन् ।

 सात पुल अन्योलमा 
२३ पुलमध्ये सातवटाको निर्माण भने ठेकेदारले बीचमै काम छाडेर अन्योलमा पारेको हो । उनीहरूले पुनः काम सुरु गर्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छन् । तर, त्यसअनुसार काम सुरु गर्न आएका छैनन् । ठेकेदारले काम नगर्दा उक्त पुल निर्माण अन्योलमा परेको हो । यद्यपि, ठेकेदारले काम पुनः सुरु गरेमा त्यस्ता पुलको निर्माण सम्पन्न हुन सक्नेमा विभाग आशावादी रहेको छ । 

विभागका अनुसार कञ्चनपुरको दोदा नदी पुल, कैलालीको शिवगंगा नदी, स्याङ्जा र गुल्मीको कालीगण्डकी स्टिल ट्रस पुल, पर्वतको कालीगण्डकी प्रिस्ट्रेस्सेड पुलका ठेकेदारले काम नगर्दा अन्योलमा परेका छन् । यसैगरी, बाग्लुङको प्रि–स्ट्रेस्सेड दरमखोला पुल, गुल्मीको पातीखोला आरसिसी पुल र डोटीको बनेदुग्रिसैन पुल पनि ठेकेदारले काम नगर्दा अन्योलमा छन् । 

 अन्तिम दबाब तथा ठेक्का तोड्नेसम्मको तयारी 
विभागले अन्योलमा रहेका २३ पुलको निर्माण गर्न ठेकेदारलाई अन्तिम दबाब दिने तयारी पनि गरेको छ । त्यो दबाबपछि पनि काम नगरे कारबाहीको प्रक्रिया अघि बढ्ने विभागका पुल महाशाखा प्रमुुख उमेश बिन्दु श्रेष्ठले बताए । ‘हामीलाई ठेक्का तोड्दा झन् घाटा हुन्छ । किनकि, पुनः टेन्डर आह्वान गर्दा लागत बढ्छ । साथै, ठेकेदार पनि अदालतको प्रक्रियामा जाने सम्भावना उत्तिकै हुन्छ,’ उनले भने, ‘तर, काम नै नहुने अवस्था आएपछि ठेक्का तोड्नुको विकल्प भने हँुदैन । त्यसैले अब हामीले ठेकेदारलाई काम गर्न अन्तिमपटक दबाब दिन्छौँ । त्यसरी पनि काम भएन भने ठेक्का तोड्ने र ठेकेदारलाई कालोसूचीमा राख्नेसम्मको कारबाही गर्छाैँ ।’

विभागले बाँकी रहेका अन्य १० पुलको निर्माण भने चालू आवमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । पुल महाशाखाका प्रमुख श्रेष्ठले चालू आवमा रुग्ण भएका थप १० पुलको निर्माण सम्पन्न हुने बताए । ‘अब हामीसँग रुग्ण अवस्थामा पुगेकामध्ये ३३ वटा पुल मात्र बाँकी छन् । त्यसमा १० वटा यही आवमै निर्माण सम्पन्न हुन्छन्,’ उनले बताए । 

 एक सय ३६ पुल सञ्चालनमा आउनु उपलब्धि : विभाग 
विभागले ०७६ सालमा एक सय ६९ निर्माणाधीन पुललार्ई रुग्ण आयोजनाका रूपमा घोषणा गरेको थियो । विशेष गरी पटक–पटक म्याद थप गर्दा पनि ठेकेदारकै कारण समयै निर्माण हुन नसकेका पुललाई रुग्ण भनेर घोषणा गरिएको थियो । त्यसपछि विभागले सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सम्बन्धित ठेकेदारमार्फत नै उक्त पुलको निर्माण गर्ने योजना अघि बढाएको थियो ।

यद्यपि, विभागले उक्त पुलको निर्माण कहिलेसम्म सम्पन्न गर्ने भनेर समय अवधि भने तोकेको थिएन । जतिसक्दो चाँडो उक्त पुलको निर्माण सक्ने विभागको लक्ष्य थियो । त्यो अवस्थामा तीन वर्षमा रुग्ण भएका एक सय ३६ वटा पुल सञ्चालनमा आउनु उपलब्धिमूलक रहेको पुल महाशाखाका प्रमुख श्रेष्ठले बताए ।

 यो आवमा निर्माण सम्पन्न हुने पुलहरू 

  • कञ्चनिया खोला प्रि–स्ट्रेस्ड ग्रिडर पुल (कपिलवस्तु)
  • कञ्चनिया खोला आरसिसी ग्रिडर पुल (कपिलवस्तु)
  • तमोर नदी कम्पोजिट स्टिल ट्रस तथा आरसिसी पुल (पाँचथर)
  • भेरी आरसिसी पुल (रुकुम)
  • मर्स्याङ्दी नदी स्टिल ट्रस पुल (लमजुङ)
  • जुडी खोला पुल (मोरङ)
  • तुर्के खोला पुर (केराबारी)
  • यावारा खोला पुल (मावादिन–नुनधाकी सडक)
  • हेवा खोला पुल (संखुवासभा)
  • गुइगाड ट्रस पुल (बाजुरा)

 ठेकेदारले पुनः काम सुरु गरे सम्पन्न हुने पुल

  •  कञ्चनपुरको दोदा नदी पुल
  • कैलालीको शिवगंगा नदी
  • स्याङ्जा र गुल्मीको कालीगण्डकी स्टिल ट्रस पुल
  • पर्वतको कालीगण्डकी प्रि–स्ट्रेस्सेड पुल
  • बाग्लुङको प्रि–स्ट्रेस्सेड दरमखोला पुल
  • गुल्मीको पातीखोला आरसिसी पुल
  • डोटीको बनेदुग्रिसैन पुल