मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडौं
२०७९ भदौ २० सोमबार २३:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पछि हट्यो सरकार

प्रतिनिधिसभा कार्यकाल बढाउने विधेयकमाथि कांग्रेसबाटै संशोधन प्रस्ताव दर्ता

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
२०७९ भदौ २० सोमबार २३:२४:००

आमनिर्वाचनपछि पनि प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने निर्णयबाट सरकार पछि हटेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले आइतबार चुनावपछि पहिलो बैठक बस्दासम्म कार्यकाल रहने व्यवस्थासहित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ संशोधन गर्न संसद्मा विधेयक पेस गरेका थिए । 

केही नेपाल ऐन संशोधन विधेयकअन्तर्गत ‘प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गर्ने र नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त हुने’ गरी कानुन संशोधन गर्न खोजिएको थियो । तर, कार्यकाल लम्ब्याएर तलबभत्तासहित राज्यकोष दोहन गर्न खोजेको भन्दै चर्काे विरोध भएपछि सरकार पछि हटेको हो । 

सैद्धान्तिक रूपमा आइतबार प्रतिनिधिसभामा स्वीकृत भएको विधेयकमा उल्लेखित चुनावपछि कार्यकाल कायम राख्ने प्रावधान सच्याउन प्रमुख सत्तारूढ नेपाली कांग्रेसले सोमबार संशोधन हालेको छ । 

सैद्धान्तिक रूपमा आइतबार प्रतिनिधिसभामा स्वीकृत भएको विधेयकमा उल्लेखित चुनावपछि कार्यकाल कायम राख्ने प्रावधान सच्याउन प्रमुख सत्तारूढ नेपाली कांग्रेसले सोमबार संशोधन हालेको छ । 

सरकार संसदीय प्रक्रियाबाट कार्यकालसम्बन्धी प्रस्तावित कानुन सच्याउन तयार भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले संसदीय प्रक्रियाबाट संशोधन हुने बताए । 

‘सांसदहरूबाट विभिन्न संशोधनहरू आएका छन् । दफावार छलफलमा सत्तापक्ष, प्रतिपक्षबीच के सहमति बन्छ, त्यसमा सरकार तयार छ,’ उनले भने । कार्यकाल निश्चित गर्न दलहरूकै सहमतिमा कानुनको मस्यौदा आएको भन्दै मन्त्री बन्दीले अहिले उठेको विवादलाई दलहरूकै सहमतिमा टुंग्याइने बताए । विवादका सम्बन्धमा आफू दलहरूसँग परामर्शमा रहेको उनको भनाइ छ । 

महामन्त्री गगनकुमार थापाले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नअघिसम्म कार्यकाल रहने गरी एकल संशोधन राखेका छन् । 

प्रतिनिधिसभा विधेयक शाखाका अनुसार कांग्रेसबाट दुइटा एकलसहित तीनवटा संशोधन परेका छन् । महामन्त्री गगनकुमार थापाले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नअघिसम्म कार्यकाल रहने गरी एकल संशोधन राखेका छन् । 

यो भनेको १ असोजसम्म हो । किनभने ४ मंसिरमा हुने चुनाव २ असोजमै समानुपातिकतर्फ बन्दसूची पेस गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ । थापाले आफ्नो संशोधनमा कार्यकालको गणना निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको दिनबाट गणना गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

नयाँ निर्वाचनको घोषणा भई उम्मेदवारको मनोनयनपत्र दाखिल गर्ने दिनबाट कार्यकाल स्वतः समाप्त भएको मानिने प्रस्ताव संशोधनमा छ । प्रदेश सभामा पनि यसैलाई आधार मानेर जानुपर्ने उनको प्रस्ताव छ । 

त्यसैगरी, अतहरकमाल मुसलमानले निर्वाचनपछिको पहिलो बैठकसम्म कार्यकाल राख्ने, तर मनोनयन भएपछि सुविधा नपाउने (सुविधा नपाउने÷हाउस रहिरहने) प्रावधानसहित संशोधन हालेका छन् ।

त्यसैगरी कांग्रेस सचेतक मीन विश्वकर्मा, प्रकाश रसाइली, रंगमती शाहीलगायतको संयुक्त संशोधनमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालसम्बन्धी १३ र १४ बुँदा हटाउन प्रस्ताव गरिएको छ । अर्थात् कार्यकालसम्बन्धी व्यवस्था केही नेपाल ऐन संशोधन विधेयकबाट झिक्ने भनिएको छ । 

कार्यकालसम्बन्धी व्यवस्था विधेयकबाट हटाउने र अभ्यासअनुसार मनोनयनबाट स्वतः निष्क्रिय हुने अवधारणामा जाने गरी यो संशोधन ल्याउन सत्तागठबन्धनमै सहमति भएको थियो । यससँगै कार्यकालसम्बन्धी प्रस्तावित कानुन परिमार्जन हुने देखिएको छ । 

विधेयक शाखाका अनुसार प्रतिनिधिसभा कार्यकालसम्बन्धी प्रस्तावित कानुनको मस्यौदामा कुल ११ वटा संशोधन परेका छन् । ७२ घन्टालाई छोट्याएर २४ घन्टामा झारिएको सोमबारसम्मको समयसीमामा सातवटा एमालेबाट, एउटा नेमकिपाबाट र तीनवटा कांग्रेसबाट परेको छ ।