१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अनधिकृत संरचना हटाउन सर्वसाधारणलाई आग्रह गर्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साह । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सय दिनको कामबारे काठमाडौंका मेयर बालेन्द्रको आत्ममूल्यांकन : आलोचना र प्रशंसा बराबरी

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o४:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरको बागडोर सम्हालेको सय दिन पुगेको छ । सयदिने कार्यकालको मेयर साहले आफैँले आइतबार समीक्षा गरे, त्यो पनि ‘अनअफिसियल्ली ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै सय दिनमा गरेका कामबारे नगरवासीलाई जानकारी गराए । त्यसमा उनले राम्रा र नराम्रा दुवै काम तथा योजना केलाएका छन् ।

उनले आफ्नो कार्यकाल आफैँले भन्दा पनि आमनागरिकले कसरी मूल्यांकन गरे भन्ने महत्वपूर्ण हुने जनाएका छन् । समीक्षामा उनले आफ्ना कमजोरी पनि स्विकारेका छन् । ‘हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ, त्यसले आमनागरिकमा कस्तो सन्देश गयो भन्ने कुराले हामीलाई फरक पार्छ,’ उनले लेखेका छन्, ‘मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ ।’

उनले सय दिनमा मुख्यतः सातवटा काम गर्न भ्याएको उल्लेख गरेका छन् । त्यसमध्ये फुटपाथबाट मकै पोल्ने ठेला हटाएको, अनधिकृत संरचना भत्काउने अभियान  चलाएको लगायत छन् । उनले भनेका छन्, ‘महानगरको बजेटमा इ–स्पोर्टस्का लागि एक करोड रकम छुट्याउँदा र यमबुद्धको सालिक बनाउने योजना बनाउँदा आलोचना खेपेँ ।’ यद्यपि, उनले बजेटमा शिक्षा र स्वास्थ्यलाई पहिलेभन्दा बढी प्राथमिकता दिएको जनाएका छन् । यसबाहेक फोहोर व्यवस्थापनमा ढिलाइ, नर्भिक हस्पिटललगायतको अनधिकृत संरचना हटाउँदा पछि हट्नुपरेको जनाएका छन् । 

तर, मेयर साहले आफू सयदिने दौडमा नरहेको र पाँच वर्षका लागि योजना रहेको जनाएका छन् । ‘हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ, तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ,’ उनले लेखेका छन्, ‘विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई निराश बनाउनेछैनौँ ।’ यसबाहेक उनले महानगरको कार्यपालिकाको बैठक लाइभ गर्ने नयाँ नियमसमेत बसालेका छन् । आफूले गरेका कामको जानकारी आफ्नै फेसबुकमार्फत सार्वजनिक गर्छन् । 

 क्यासिनोलाई कर  तिर्न सातदिने अल्टिमेटम
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सात क्यासिनोलाई मनोरञ्जन कर तिर्न निर्देशन दिएको छ । आइतबार पत्र पठाउँदै महानगरले कर तिर्न एक साताको समय दिएको हो । महानगरका अनुसार सातवटा क्यासिनोले महानगरलाई चार वर्षदेखि मनोरञ्जन कर तिरेका छैनन् । होटेल अन्नपूर्णमा सञ्चालित क्यासिनो प्यालेस, होटेल म्यारियट्सको डेल्टिन क्यासिनो, होटेल र्‍याडिसनको क्यासिनो र्‍याड, होटेल सोल्टीको माजोङ, होटेल हायातको प्राइड इन्टरनेसनल एन्ड रिक्रिएसन र मल्ल होटेलको बेली क्यासिनोले महानगरलाई मनोरञ्जन कर तिर्न बाँकी छ । कर तिर्न भन्दै क्यासिनोहरूलाई पटक–पटक पत्राचार गरे पनि अटेर अर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार क्यासिनोमा प्रवेश गरेका हरेक व्‍यक्तिबाट ५० रुपैयाँ कर महानगरलाई बुझाउनुपर्छ ।

यी काममा खेपे आलोचना
काठमाडौंको फोहोर व्यवस्थापन गरेर मात्रै उनले टीका र फूलमाला लगाउने भने पनि फोहोर व्यवस्थापन उनका लागि ‘पहिरो’ बन्यो । कार्यकालको सुरुवातमै काठमाडौंमा फोहोरको डंगुर थुप्रियो । सिसडोल र बन्चरेडाँडाका स्थानीयले हालसम्मका माग पूरा गर्न जोड दिँदा केही अप्ठ्यारा आइपरे । यद्यपि, सम्बद्ध निकायसँगको छलफलपछि उपत्यकाको फोहोर व्यवस्थापन सहज बनेको छ । हाल उपत्यकाका सडकबाट दुर्गन्ध हटेको छ ।

 कोटेश्वरका अनधिकृत संरचना भत्किए 
काठमाडौं महानगरपालिले पछिल्लो समय अनधिकृत संरचना भत्काउने अभियान नै चलाएको छ ।  मेयर बालेन्द्र साह आफैँ उपस्थित भएर सडकपेटी, सडक किनार र पार्किङ ओगटेर राखिएका पसल हटाउने अभियानमा सक्रिय हुन्छन् ।

यही क्रममा आइतबार महानगरले कोटेश्वर क्षेत्रका अनधिकृत संरचनामा डोजर लगाएको छ । कोटेश्वर क्षेत्रमा फुटपाथ मिचेर राखिएका होर्डिङबोेर्ड र घरटहरालगायतका संरचना भत्काउन थालेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार नगर प्रहरीसहितको टोलीले त्यहाँ संरचना हटाएको हो । एक साताअघि पनि महानगरको नगर प्रहरी पुगेर उक्त संरचना हटाउन निर्देशन दिएको थियो, तर अटेर गरेपछि महानगरले ती संरचना आफँै भत्काएको प्रवक्ता मानन्धरले बताए । 

ad
ad