Skip This
रुपन्देही २ फेरि चर्चामा : विष्णु पौडेलसँग भिड्न तँछाड–मछाड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Wednesday, 11 September, 2024
२o७९ भदौ १७ शुक्रबार १o:५७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुपन्देही २ फेरि चर्चामा : विष्णु पौडेलसँग भिड्न तँछाड–मछाड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १o:५७:oo

गृहमन्त्री बालकृष्ण खाणदेखि राजु गुरुङसम्म चर्चामा

एकीकृत समाजवादीले रुपन्देही २ लाई बटमलाइन बनाउने 

चुनावी चर्चामा अगाडि रहँदै आएको रुपन्देही क्षेत्र नम्बर २ को यसपटक पनि चर्चा चुलिएको छ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेलको चुनावी क्षेत्र रुपन्देही २ मा उनीसँग चुनावमा भिड्न दलका नेतादेखि स्वतन्त्र व्यक्तिहरूसमेत तँछाड–मछाड गरेर लागिपरेका छन् । 

लगातारका तीनवटा चुनावमा भारी मतान्तरले विजयी बनेका पौडेललाई चुनौती दिन सत्तागठबन्धनबाट साझा उम्मेदवारको टुंगो नलाग्दै दलहरूका विभिन्न कमिटीले विभिन्न नेताहरूलाई अगाडि सारेका छन् । 

रुपन्देहीमा धेरै बजेट ल्याउन र यहाँको विकासमा पौडेलको भूमिका बढी रहेको चर्चा गर्ने यहाँका एमाले नेता–कार्यकर्ताले यसपटक पनि पौडेल उम्मेदवार बन्ने र भारी मतान्तरले जित्ने बताउँदै आएका छन् । तर, यसपटकको स्थानीय निर्वाचनमा पौडेलको क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूमा एमालेको भन्दा सत्तागठबन्धनका उम्मेदवारको मत ६ हजारभन्दा पनि बढी रहेको छ । 

गठबन्धनको मत धेरै रहेकाले यहाँ गठबन्धनका नेताहरूले यसपटक बढी आँखा लगाएका छन् । यहाँ कांग्रेसबाट केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेता नभएको अवस्थामा कांग्रेसले क्षेत्र नम्बर ३ चुनावी क्षेत्र बनाउँदै आएका गृहमन्त्री बालकृष्ण खाणको नामसमेत उम्मेदवारका रूपमा सिफारिस गरेको छ । 

खाण क्षेत्र नम्बर ३ बाट पनि उम्मेदवारको सिफारिसमा पर्ने कांग्रेस रुपन्देहीका सचिव हरिप्रसाद काफ्लेले बताए । कांग्रेस क्षेत्रीय समिति रुपन्देही २ ले खाणका अतिरिक्त युवराज गिरी, अधिवक्ता कृष्णप्रसाद पोखरेल, चुन्नप्रसाद पौडेल र अर्का अधिवक्ता गोकर्ण पौडेलको नामसमेत सिफारिस गरेको क्षेत्रीय सचिव विमलराज भट्टराईले बताए । 

गिरी गत निर्वाचनमा पौडेलसँग पराजित भएका थिए । यस क्षेत्रबाट उम्मेदवार बन्न माओवादी केन्द्रका विनोद पहाडी पनि आकांक्षी रहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारहरूको पनि चर्चा सुरु भएको छ । यस क्षेत्रबाट डाक्टर निकोलस भुसाल स्वतन्त्र उम्मेदवार बन्ने गरी प्रचार थालिएको छ ।

रुपन्देही २ सत्तागठबन्धनमा भागबन्डा गर्दा नेकपा एकीकृत समाजवादीको कोटामा पर्न सक्ने दाबी सो पार्टीले गरेको छ । उम्मेदवारका रूपमा राजु गुरुङलाई अगाडि सारिएको छ । 

एकीकृत समाजवादीले रुपन्देही २ लाई बटमलाइन बनाउने 

नेकपा एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ लाई बटमलाइन बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेश सभातर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो । 

केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रूपमा कार्यान्वयन गर्नेसमेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए ।

बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । यसअघि रुपन्देहीका प्रतिनिधिसभाका पाँच र प्रदेश सभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरू सिफारिस गरिसकेको छ । 

रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिसकेको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरुङले आफूहरूले स्वाभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेदवार हुने बताए । उनले आफूहरूले मात्रै बुटवलवासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिनसमेत कार्यकर्तालाई आग्रह गरे । 

संविधान, लोकतन्त्र र गणतन्त्रमाथि अझै खतरा देखिएकाले गठबन्धनबाट आफूहरू चुनावी मैदानमा आउन लागेको बताउँदै कांग्रेस इमानदार नभए एक्लै पनि चुनाव लड्न तागत एकीकृत समाजवादीले राख्ने जिकिर गरे । 

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनाव परिवर्तनकारी र संविधान मास्नेका विरुद्धमा हुने बताए । त्यस्तै, बैठकमा पार्टीका केन्द्रीय सदस्य उमा काफ्ले, अर्का केन्द्रीय सदस्य भगवती घिमिरे, प्रदेश कमिटीका पदाधिकारी र सदस्य तथा जिल्लाका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला सचिव सरिता श्रीसले बताइन् । बैठकले निर्वाचन क्षेत्रअनुसार चुनावी रणनीति र जनताको बीचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय भएको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए। 

एमाले परित्याग गरी समाजवादी प्रवेश 
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, ओमसतिया गाउँ कमिटी रुपन्देहीका अध्यक्ष धनबहादुर थापाले एमाले परित्याग गरेका छन् ।  बिहीबार थापाले एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा समाहित भएका हुन् । 

पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज राजु गुरुङले पार्टीमा स्वागत गरे । एमाले वैचारिक रूपमा गलत बाटोमा लागेकाले एमाले परित्याग गरेको थापाले बताए ।