१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:४८:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचन क्षेत्रमा ओलीले बढाए सक्रियता, पछिल्लो एक महिनामा तेस्रोपटक पुगे गृहजिल्ला

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४८:oo

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला आगमन बाक्लिँदै गएको छ । ओलीले निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन् । पछिल्लो एक महिनामा ओली तीनपटक झापा आएका छन् । 

११ साउनमा झापा आएका ओली चार दिन आन्तरिक भेटघाट र केही सार्वजनिक कार्यक्रममा व्यस्त रहेका थिए । २ भदौमा झापा आएका उनी तीन दिन यहाँ बसेका थिए । १५ दिनअघि कार्यकर्ता भेटघाट र केही सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किएका ओली बिहीबार पुनः झापा आएका छन् । झापा क्षेत्र नम्बर ५ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री ओली केही सार्वजनिक कार्यक्रम र आन्तरिक भेटघाटमा व्यस्त रहने एमाले झापाले जनाएको छ । उनी शनिबार काठमाडौं फर्कनेछन् । 

निर्वाचन मिति नजिकिएपछि देश दौडाहमा निस्कनुपर्ने भएकाले पनि अहिले नै ओलीले निर्वाचन क्षेत्रमा सक्रियता बढाएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिए । ‘पछि देश दौडाहमा निस्कनुपर्छ । अहिले नै निर्वाचन क्षेत्रलाई समय दिनुपर्छ भनेर अध्यक्षज्यू आउनुभएको हो,’ उनले भने । 

खासमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीसहितको गठबन्धन बन्ने देखिएपछि ओली दबाबमा छन् । त्यसैले उनी आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग निकटता बढाउन निरन्तर जिल्ला आइरहेका हुन् । 

दमकमा दुईतले घर लिए भाडामा 
यसपटक उनी पूर्वी मोरङ र झापाको गौरीगन्जमा शुक्रबार हुने कार्यक्रममा सहभागी हुन झापा आएका हुन् । यद्यपि, दमकलाई नै केन्द्र बनाएर उनी कार्यक्रमहरूमा सहभागी हुने एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए । दमकमा बस्नका लागि उनले दमक– ९ मा दुईतले घर भाडामा लिएका छन् । ओलीले गत साउनदेखि सात महिनाका लागि निर्माण व्यवसायी विकास गौतमसँग घर भाडामा लिएको कार्कीले बताए । 

०७४ मा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनले राप्रपासँग पनि तालमेल गरेको थियो । यसपटक माओवादी एमालेसँग छैन । एमाले पनि विभाजित छ, त्यसैले राप्रपा निर्णायक छ । 

‘पार्टीले घर खोजिदिएको हो,’ उनले भने, ‘उहाँ अब आउँदा यहीँ बस्नुहुनेछ ।’ ओलीले यही घरबाट चुनावी गतिविधि गर्ने छन् । विगतमा ओली उनले नै बनाएको दमक– ५ स्थित घरमा बस्ने गर्थे । उक्त घरमा एमाले नेता तथा दमक नगरपालिकाका पूर्वप्रमुख रोमनाथ ओली बस्ने भएका कारण अध्यक्ष ओलीले अर्को घर रोजेका हुन् । ‘त्यहाँ रोमजीहरू बस्नुहुन्छ । अध्यक्षज्यूको सुरक्षा टोली पनि ठूलो छ । वरिपरि घर बनेर त्यहाँ ठाउँ पनि साँघुरो भएका कारणले अर्को घर भाडामा लिइएको हो,’ कार्कीले नयाँ पत्रिकासँग भने । 

यसपटक ओलीले शुक्रबार मोरङमा र उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरीगन्जमा हुने कार्यक्रममा सहभागिता जनाउने एमाले जिल्ला अध्यक्ष कार्कीले बताए । त्यसबाहेक ओलीले दमकस्थित निवासमा बसेर कार्यकर्ता तथा संघसंस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताए । 

स्थानीय तह परिणामले झस्कायो
स्थानीय तह निर्वाचनमा उनको निर्वाचन क्षेत्रमा आएको परिणाम सन्तोषजनक नभएपछि ओली निर्वाचन क्षेत्रकेन्द्रित कार्यक्रममा व्यस्त छन् । उनको निर्वाचन क्षेत्रमा चारवटा स्थानीय तह छन् । जसमध्ये एउटामा मात्र एमालेले प्रमुखमा निर्वाचन जितेको छ । विगतमा जित हासिल गरेको दमक नगरपालिका र कमल गाउँपालिका यसपटक भने एमालेले गुमाएको छ । 

निर्वाचन क्षेत्रकै सबैभन्दा ठूलो पालिका रहेको दमक ओलीको गृहनगर पनि हो । दमकमै एमाले हारेको छ । स्थानीय तहको निर्वाचनमा दमकमा एमालेले प्रमुख–उपप्रमुख गुमाउनुले एमालेलाई धक्का लागेको विश्लेषण हुने गरेको छ । झापा क्षेत्र नम्बर ५ भित्रका चार पालिकाका ३२ वटा वडामध्ये २९ वटा वडा क्षेत्र नम्बर ५ मा पर्छ । तीमध्ये १८ वटा वडा एमालेले जितेको छ । 

यद्यपि, प्रमुख भने गौरादह नगरपालिकामा मात्र एमालेले जित निकालेको छ । यद्यपि, निर्वाचनमा उम्मेदवारको व्यक्तित्वले फरक पर्छ । ‘केपी ओलीको गृहनगरमा एमाले हा¥यो भने । ओलीलाई हरायौँ भने । ठीक हो एमालेले हा¥यो,’ ओलीले भने, ‘तर, केपी ओली नै उम्मेदवार उठ्दा फरक पर्छ ।’

ओलीलाई यसपटक विगतमा जस्तो सहज देखिँदैन । ०७४ मा प्रतिनिधिसभा निर्वाचनमा ओलीले माओवादीको पनि साथ पाएका थिए । झापामा तत्कालीन वाम गठबन्धनले राप्रपासँग पनि तालमेल गरेको थियो । क्षेत्र नम्बर ५ को दमक र गौरीगन्जमा राप्रपाको मत राम्रो मानिन्छ । यसपटक माओवादी एमालेसँग छैन । एमाले फुटेर समाजवादी बनेको छ । यसको असर प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई पर्ने देखिन्छ । यसपटक विगतमा जस्तो पनि राप्रपाले एमालेलाई सहयोग गर्ने सम्भावना निकै कम छ । त्यसकारण पनि दबाबमा रहेका ओलीले निर्वाचन क्षेत्रमा सक्रियता बढाएका हुन् ।

राप्रपा गठबन्धनमै रहने कांग्रेस–माओवादी दाबी
यहाँ राप्रपा निर्णायक शक्ति हो । दमकमा राप्रपाका राम थापाले कांग्रेस–माओवादीसँग गठबन्धन गर्दै स्थानीय तह निर्वाचनमा जित निकालेका छन् । गठबन्धनबाट दमक नगरपालिकाको प्रमुखमा माओवादीले भागबन्डा पाएको थियो । यद्यपि, माओवादीले राप्रपालाई प्रमुख छाडेर राप्रपासँग तालमेल भएको थियो । 

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सहयोग गर्ने सहमतिका साथ राप्रपासँग तालमेल भएको माओवादी नेता गगन पुरी बताउँछन् । ‘स्थानीय तहमा प्रदेश र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ । यसपटक क्षेत्र नम्बर ५ मा राप्रपाले माओवादीसहितको गठबन्धनलाई नै सहयोग गर्छ । यो भद्र सहमति हो,’ पुरीले भने, ‘राम थापा मेयर मात्र होइन, उहाँ राप्रपा प्रदेश अध्यक्ष पनि हो । उहाँ बोलीको पक्का हुनुहुन्छ । यहाँसित मेरो लामो सहकार्य छ । आजका दिनसम्म सहमति गरेको कुरामा दायाँ–बायाँ गर्नुभएको छैन । त्यसकारण स्थानीय तहको निर्वाचनमा भएको सहमति पनि उहाँले कार्यान्वयन गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।’

दमक नगरपालिकाका मेयर थापाले यसअघि दुईपटक ओली दमक आउँदा पनि भेटघाट गरेनन् । यसपटक पनि ओली आएको जानकारी नपाएको थापाले जनाए । थापाले प्रदेशमा कोसँग तालमेल गर्ने टुंगिनसकेको बताए । केही दिनभित्रै टुंगो  लाग्ने उनको भनाइ छ । यद्यपि, थापानिकट स्रोतका अनुसार एमालेसँग भन्दा पनि थापा गठबन्धनसँग नजिक छन् । दुईपटकसम्म एमालेसँग दमकको मेयरमा पराजित  भएका थापा यसपटकको निर्वाचनमा गठबन्धनको साथले जितेका कारण पनि गठबन्धनसँगै नजिक भएको  उनीनिकट स्रोत बताउँछ । 

 

ad
ad