Skip This
३५ हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 27 July, 2024
मृतक रोशनकुमार सदाको घर
२o८१ जेठ ५ शनिबार ११:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

३५ हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:o४:oo

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका सिराहाको लहानसँगै जोडिएको सप्तरीको सुरुंगा १ तेदहरी गाउँका करिब २१ वर्षीय युवकको शव ३५ हजार रुपैयाँ बुझाउन नसक्दा बन्धक परेको परिवारले गुनासो गरेको छ। 

स्थानीय बिन्देश्वर सदायका जेठा छोरा रोशनकुमार सदाको दुवै मिर्गौला फेल भई उपचारको क्रममा १ जेठको राति मृत्यु भएको, तर उपचारमा खर्च भएकोमध्ये ३५ हजार रुपैयाँ बुझाउन नसक्दा अस्पतालले शव घर लैजान नदिइरहेको आमा सुनिता सदायले बताइन्। ‘पछिल्लो १५ दिनदेखि चलिरहेको उपचारको क्रममा थोरबहुत रकम बुझाएको र छोराको मृत्युपछि ६५ हजार रुपैयाँ बाँकी रहेको अस्पतालले सुनाएको छ,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘गाउँघरमा ऋण सापटी गरेर मगाएको ३० हजार रुपैयाँ दिन तयार छु, बाँकी छोराको दाहसंस्कार र काजकिरियापछि दिन्छु भन्दा पनि शव उठाउन दिएको छैन।’

शव ल्याउन वडाको तर्फबाट एम्बुलेन्सको व्यवस्था गरिदिएको र नगरबाट बाटो खर्चका लागि १० हजार रुपैयाँ नगद उपलब्ध गराएको सुरुंगा १ पिप्रा पश्चिमका वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार) ले बताए। ‘रकम पनि बढी रहेनछ, अस्पतालले त्यति रकम असुल्न शव बन्धक राखेर सामान्य मानवीयतासमेत देखाउन सकेन,’ उनले भने । 

रोशनको शव नआउँदा पछिल्लो पाँच दिनदेखि उनको घरमा चुलोसमेत बल्न नसकेर घरमा रहेका मृतककी बहिनी, साली, दुई भाइ र छरछिमेकको समेत रुवाबासी चलिरहेको स्थानीयसमेत रहेका सुरुंगा १ का वडा कार्यालयमा कार्यरत जयप्रकाश चौधरीले बताए। ‘मजदुरी गरेर जीविका चलाइरहेको सदाय परिवारले उपचारमा लागेकोमध्ये बाँकी थोरै खर्च बुझाउन नसकेर शव नै बन्धक राखिदिँदा छरछिमेकलाई पनि अप्ठ्यारो महसुस भइरहेको छ,’ उनले भने।  

अस्पतालका ड्युटीमा रहेका रविन राजवंशीले मृतक सदायको उपचारसँग सम्बन्धित फाइलहरू अध्ययन भइरहेकाले उपचारमा लागेको खर्च, बाँकी रकम र अस्पतालले के गर्न सक्छ भन्ने विषयमा अस्पताल प्रशासनसँग बुझ्न आग्रह गरे। शव बन्धकको विषयमा बुझ्न अस्पतालका प्रशासन प्रमुख दिपेश राईसँग कुराकानी गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।