Skip This
स्कुले बालबालिकामाथि अभिभावक र विद्यालयको यातना, दैनिक जाउआउमै ४० किमिसम्म बसयात्रा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:१६:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्कुले बालबालिकामाथि अभिभावक र विद्यालयको यातना, दैनिक जाउआउमै ४० किमिसम्म बसयात्रा

Read Time : > 5 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१६:oo

उपत्यकाभित्रका विद्यालयले पाँच कक्षासम्मका विद्यार्थीलाई दैनिक अधिकतम १२ किमि र त्यसभन्दा माथिका विद्यार्थीलाई अधिकतम १८ किमिसम्म यात्रा गराउन पाउने व्यवस्था छ । तर, अभिभावकको रहर र विद्यालयको व्यापारले कलिला बालबालिकामाथि ज्यादति भइरहेको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को बुँदा ३.९ मा काठमाडौं उपत्यकाभित्रका एकदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई विद्यालयले दैनिक अधिकतम १२ किलोमिटरसम्म आतेजाते गराउन सक्ने व्यवस्था छ । त्यस्तै, पाँच कक्षाभन्दा उपल्लो तहका विद्यार्थीलाई दैनिक आतेजातेमा अधिकतम १८ किलोमिटरसम्म यात्रा गराउन पाउने व्यवस्था छ । 

तर, अभिभावकको रहर र विद्यालयको व्यापारका लागि कलिला बालबालिका दैनिक घण्टौँ ट्राफिक जाम, घाम र धुलो पचाउँदै ४० किलोमिटरसम्म बसयात्रा गरेर अध्ययनका लागि जाउआउ गर्न बाध्य छन् । महँगा र नाम चलेका स्कुलमा छोराछोरी पढाउँदा अभिभावक गौरवानुभूत गर्छन् । अनि, व्यापारमुखी विद्यालय सरकारी नियम नाघेर बालबालिकामाथि अत्याचार गर्न तयार हुन्छन् ।

मनोचिकित्सक प्रा.डा. गंगा पाठक लामो यात्रा गराएर अभिभावक र विद्यालयले बालबालिकालाई अनावश्यक यातना दिने गरेको बताउँछिन् । दैनिक लामो यात्रा गराएर विद्यालय पठाउँदा विद्यार्थीमा पढाइप्रति रुचि नहुने, अत्यधिक थकान महसुस हुने, टर्चर मान्ने, समयमै होमवर्क गर्न नपाउने, एकोहोरो हुनेलगायत असर पर्छ । ‘अभिभावकहरू महँगा विद्यालयमा छोराछोरी पढाएँ भनेर खुसी हुनुहुन्छ, तर त्यो महँगो स्कुलको दूरी, बालबालिकाले खेपेको हैरानी, सिकाइ, मनोविज्ञानबारे उहाँहरू बुझ्नुहुन्न,’ प्रा.डा. पाठकले भनिन्, ‘काठमाडौंका महँगा स्कुलहरूले लामो यात्रा गराएर विद्यार्थी बोक्दा त्यसबाट विद्यार्थीमाथि अत्याचार भइरहेको छ भने उनीहरूको सिकाइ र विकासमा प्रत्यक्ष असर परिरहेको छ । घण्टौँसम्मको यात्रा गराएर पढाउन पठाउनु राम्रो होइन, यसले विद्यार्थीलाई निकै असर गरिरहेको छ ।’ 

भक्तपुरको गुन्डुमा रहेको काठमाडौं वर्ल्ड स्कुलमा नजिकका भन्दा टाढाका विद्यार्थी धेरै छन् । महँगो शुल्क लिने यस विद्यालयको ‘भ्यान’ बिहान ५:३० बजेदेखि नै विद्यार्थी बोक्न गुड्छ । यो स्कुलले भक्तपुरको खरिपाटी र ललितपुरको सातदोबाटोलगायत क्षेत्रबाट मात्रै होइन, काठमाडौंको चाबहिल, बाँसबारी, काभ्रेस्थली, बालाजु, कलंकी हुँदै थानकोटसम्मका विद्यार्थी ओसार्छ । विभिन्न ठाउँबाट विद्यार्थी उठाउँदै सहर परिक्रमा गराउँदै ८:३० बजे विद्यालय पुर्‍याउँदा कतिपय विद्यार्थी झन्डै ३० किलोमिटरसम्म यात्रा गर्न बाध्य हुन्छन् । विद्यालय छुटेपछि घर फर्किँदाको कथा पनि उस्तै हो । यसरी घण्टौं बसयात्रा गरेर स्कुल जाउआउ गर्दा आफ्नो बच्चामा शारीरिक र मानसिक कस्तो असर पर्छ अभिभावकले पनि ध्यान दिएका छैनन् ।

विद्यार्थी ओसार्न काठमाडौं वर्ल्ड स्कुललाई पनि माथ गरेको छ ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया स्कुलले । यहाँ कीर्तिपुर, बुढानीलकण्ठ, चोभार, नैकाप, टीकाभैरव, चापागाउँ, गोदावरी, गोंगबु, बालाजु, काभ्रेस्थलीदेखि काभ्रेको साँगासम्मका विद्यार्थी पढ्छन् । बिहान ७:३० बजेदेखि नै कक्षा सञ्चालन गर्ने डिएभीले विद्यार्थी टिप्न ५:३० बजेदेखि नै बस सञ्चालन गर्छ । काठमाडौं, भक्तपुर, ललितपुरदेखि काभ्रेपलाञ्चोकसम्मबाट विद्यार्थी ओसार्न दैनिक ६५ वटा भाडाका बस सञ्चालन गर्दै आएको विद्यालयका अध्यक्ष अनिल केडियाले बताए । 

‘हामीले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकसम्मका विद्यार्थी दैनिक बसमा ओहोरदोहोर गराउँछौँ,’ उनले भने, ‘अभिभावक र विद्यार्थीले रोजेपछि दूरीले केही गर्दैन, जहाँबाट आए पनि विद्यार्थीले थकान महसुस गरेको थाहा छैन, एकै ठाउँमा बच्चा पाइँदैन, अब त झन् विद्यार्थीको खडेरी हुँदै छ ।’ सरकारी निर्देशिकाबारे आफूलाई जानकारी नभएको उनले बताए । यो विद्यालयमा हाल दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । 

बुद्धनगरमा रहेको रोजबड स्कुलमा पनि टाढाटाढाबाट विद्यार्थी आउँछन् । स्कुल बसले कलंकी, नैकाप, ललितपुरको चापागाउँ, गोदावरी, बुढानीलकण्ठलगायत क्षेत्रबाट विद्यार्थी ओसार्छ । त्यस्तै, मोडर्न इन्डियन स्कुल विद्यार्थीलाई लामो यात्रा गराउने अर्को विद्यालय हो । चोभारस्थित यो विद्यालयमा काठमाडौंको टोखादेखि जोरपाटीसम्मका विद्यार्थी अध्ययनका लागि आउँछन् । विद्यालयले दैनिक ३०–४० किलोमिटर घुमाउँदै विद्यार्थी ल्याउने र लैजाने गर्छ । 

बिहान ७ बजेदेखि नै विद्यार्थी ओसार्न गाडी पठाउने ज्ञानेश्वरस्थित ग्यालेक्सी स्कुलमा पनि ललितपुर र भक्तपुरका टाढा–टाढासम्मका विद्यार्थी आउँछन् । यो विद्यालयले दैनिक २० किलोमिटरभन्दा बढी यात्रा गराएर विद्यार्थी ओसार्छ । त्यस्तै, ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारीमा रहेको युलेन्स स्कुलले ललितपुरका चापागाउँ, लेले, टीकाभैरव, काठमाडौंका बालाजु, सीतापाइला, गोंगबु, काभ्रेस्थली र भक्तपुरका सल्लाघारी, सूर्यविनायकलगायत ठाउँबाट विद्यार्थी ल्याउँछ । यो विद्यालयले कक्षा ११ र १२ पनि ललितपुरमै पढाउँछ । युलेन्सले पनि दैनिक २० किलोमिटरभन्दा टाढाबाट विद्यार्थी ओहोरदोहोर गराउँछ । 

तर, विद्यालयका प्रिन्सिपल मिदेन लामिछाने कक्षा ११ र १२ का विद्यार्थीका लागि ललितपुरमा मात्रै पढाइ हुने भएकाले उनीहरूले मात्रै अलि लामो यात्रा गर्नुपरेको बताउँछन् । ‘सकेसम्म दूरी कम पर्ने गरी काठमाडौं र ललितपुरका विद्यार्थी भर्ना गर्छौँ, ११ र १२ मा भने ललितपुरमा मात्रै पढाइ हुने भएकाले टाढा–टाढाबाट यात्रा गर्छन्,’ उनले भने, ‘जाम हुने समयअगावै विद्यार्थीलाई ओहोरदोहोर गराउँछौँ ।’ उनका अनुसार युलेन्समा हाल एक हजार तीन सय विद्यार्थी छन् भने विद्यार्थी बोक्न ६० वटा भ्यान छन् । टाढाटाढाबाट विद्यार्थी ल्याउनुपर्ने भएकाले विद्यालयले सवारीसाधनको संख्या पनि धेरै राखेको हो । 

काठमाडौंको सुन्दरीजलस्थित रहेको ड्याफुडिल स्कुलले चाबहिल, गोंगबु, कोटेश्वरलगायत क्षेत्रका विद्यार्थीलाई ओसार्छ । ललितपुरको प्रिमियर स्कुलमा पनि सूर्यविनायक, चाबहिल, गोंगबु, कलंकी, नैकापलगायत क्षेत्रसम्मका विद्यार्थी पढ्छन् । त्यस्तै, हात्तीवनस्थित लिटिल एन्जेल्स स्कुलले बुढानीलकण्ठदेखिका विद्यार्थी बोक्छ । हात्तीवनदेखि बुढानीलकण्ठसम्मको सीधा दूरी नै २० किलोमिटर छ । विभिन्न ठाउँका विद्यार्थी उठाउँदै घुमिफिरी जाँदा दूरी निकै बढ्छ । यो विद्यालयले सूर्यविनायक, टोखा, थानकोट, बालाजु, चाबहिल, गोकर्णेश्वरलगायत क्षेत्रबाट विद्यार्थी ओसार्छ । हात्तीवननजिकै धापाखेलमा रहेको जेम्स स्कुलले पनि टोखा, थानकोट, कलंकी, गोंगबुलगायत ठाउँबाट विद्यार्थी उठाउँछ । 

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी राज्यमा चिनिएका विद्यालयले नै राज्यको नियम मिचेर विद्यार्थीलाई यातना दिएको बताउँछन् । यसलाई रोक्न सरकारी निकायले अनुगमन गर्नुपर्ने उनको भनाइ छ । ‘उपत्यकाभित्र नाम चलेका विद्यालयले विद्यार्थीलाई लामो यात्रा गराएर विद्यालय पुर्‍याउँछन्, जसका कारण उनीहरूको मनस्थितिमा असर परिरहेको हुन्छ । यात्रा गर्दा नै थाकेपछि विद्यार्थीले कसरी राम्रो पढ्न सक्छ ?’ उनले भने, ‘यसमा अभिभावकले पनि राम्ररी सोच्न जरुरी छ । विद्यालय राम्रो छ भनेर सुन्दैमा लामो यात्रा गराएर पढ्न पठाउनु ठीक होइन । नियम उल्लंघन गर्ने विद्यालयमाथि सरकारी निकायले अनुगमन गरेर कारबाहीसमेत गर्नुपर्छ ।’

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सान)का अध्यक्ष डिके ढुंगेलले स्कुलहरूले नभएर केटाकेटीलाई टाढाटाढाका विद्यालयमा पठाएर अभिभावकहरूले यातना दिइरहेको बताए । प्याब्सनका तर्फबाट त्यसबारे अभिभावकहरूलाई सुझाव दिइएको भए पनि बेवास्ता गरिएको उनको भनाइ छ । 

‘अभिभावकले पठाए मात्रै टाढाटाढाबाट विद्यार्थी आउने हुन्  । यो धेरै पहिलेदेखिको समस्या हो । यसमा स्कुलभन्दा पनि अभिभावकले सोच्नुपर्छ । नजिकको स्कुल छाडेर टाढा पठाउनु अभिभावकले केटाकेटीहरूलाई दिएको यातना हो । हामीले त नजिकको विद्यालयमा पढाउनुस् भनेका छौँ । तर, नजिकका विद्यालयलाई नपत्याएर टाढा पठाउनु राम्रो होइन,’ अध्यक्ष ढुंगेलले भने, ‘यस विषयमा प्याब्सनले ०७४ मा अध्ययन नै गरेको थियो । त्यसमा निकै टाढाबाट विद्यार्थी पढाउन पठाइएको पाइयो । हामीले अभिभावकलाई ‘यसो नगर्नुस्’ भनेर सुझाएका थियौँ । निजी स्कुलको दोष धेरै देखिँदैन । किनकि स्कुलले जबर्जस्ती टाढाबाट ल्याएको होइन । अभिभाकले धेरै टाढासम्मको स्कुल रोज्दा बालबालिकाले यातना भोगिरहेका छन् ।’

नियम छ, कार्यान्वयन छैन, शिक्षा मन्त्रालय भन्छ– कानुन कार्यान्वयन गराउने र नटेरे कारबाही गर्ने जिम्मा स्थानीय सरकारको हो 

शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को बुँदा ३.९ मा काठमाडौं उपत्यकाभित्रका एकदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई विद्यालयले दैनिक अधिकतम १२ किलोमिटरसम्म आतेजाते गराउन सक्ने व्यवस्था छ ।

त्यस्तै, पाँच कक्षाभन्दा उपल्लो तहका विद्यार्थीलाई दैनिक आतेजातेमा अधिकतम १८ किलोमिटरसम्म यात्रा गराउन पाउने व्यवस्था छ । तर, यसको पालना छैन । त्यस्तै, कानुनअनुसार विद्यालयको बसको रङ पहेँलो हुनुपर्छ, दुवैतिर ढोका भएको हुनुपर्छ, सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न पाइँदैन ।

तर, कैयौँ निजी विद्यालयले भाडाका थोत्रा बसमा विद्यार्थी बोकेर पनि नियम तोडिरहेका छन् । तर, नियम नाघ्नेमाथि अनुगमन र कारबाही पनि छैन । शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहाल निर्देशिका कार्यान्वयन गराउने जिम्मा स्थानीय सरकारको रहेको बताउँछन् ।

‘कुन विद्यालयले कति टाढाबाट विद्यार्थी बोक्छन् ?, निर्देशिकाविपरीत छ वा छैनलगायत विषयमा नयाँ मापदण्ड बनाउने र कारबाही गर्ने जिम्मा स्थानीय तहको हो, अधिकार प्रत्यायोजन भइसकेपछि स्थानीय तहले यसमा काम गर्नुपर्छ,’ उनले भने, ‘निर्देशिकाविपरीत काम गर्ने विद्यालयलाई स्थानीय तहले कारबाही गर्नुपर्छ ।’ 

बालबालिकाले ठूलो यातना खेपिरहेका छन् : प्रा.डा. गंगा पाठक, मनोचिकित्सक 
हाम्रा अभिभावक महँगो विद्यालयमा छोराछोरी पढाएँ भनेर खुसी हुनुहुन्छ, तर त्यो महँगो स्कुलको दूरी, बालबालिकाले खेपेको हैरानी, सिकाइ, मनोविज्ञानबारे उहाँहरू बुझ्नुहुन्न ।

त्यसैकारण आमअभिभावकले दूरी जति टाढा भए पनि त्यही स्कुलसम्म बालबालिका पढाउन पठाउने गरेको पाइन्छ । नजिकको विद्यालय छाडेर राम्रो शिक्षा दिन्छु भन्दै टाढाको विद्यालय रोज्दा विद्यार्थीमाथि अन्याय हुन्छ ।

विद्यालय टाढा भएपछि बिहान छिटो उठ्नुपर्‍यो, निद्रा पुग्दैन । दिनरात पढाइको मात्रै तनाव हुन्छ । अझ उपत्यकामा धेरै ट्राफिकजाम हुने भएकाले विद्यार्थी जाममा मानसिक तनाव खेपिरहेका हुन्छन् । लामो यात्रा गरेपछि थकाइ लाग्छ । उनीहरूको स्वास्थ्यमा पनि असर पर्छ । तर, यो समस्या अभिभावकले देख्दैनन्, विद्यालयले नदेखेजस्तो गर्छन् । 

लामो यात्रा गरेर जब विद्यार्थी कक्षाकोठामा पुग्छ, तब उसलाई दिग्दार लाग्छ, अझ अहिलेको शिक्षा घोकन्ते किसिमको छ । लामो यात्राको थकानले बालबालिकाले सम्झन सक्दैनन्, एकाग्रता पनि हुँदैन । पढाइ खस्कँदै जान्छ । थाकेर घर फर्किएको विद्यार्थीमा होमवर्क गर्नतिर रुचि जाँदैन ।

तर, उसलाई हरेक दिन स्कुल जान र होमवर्क गर्न बाध्य पारिएको हुन्छ । के यो यातना र अत्याचार होइन ? यसले बालबालिकाको स्मरण शक्तिमा ह्रास आउँछ । पढेको बिर्सने, एकोहोरो हुने, रिसाउने, झर्कने किसिमका समस्या पनि देखिएको पाइन्छ । यदि छोटो यात्रा वा हिँडेर जान सक्ने विद्यालय छ भने विद्यार्थीसँग होमवर्क गर्ने, पर्याप्त सुत्ने, परिवारसँग बस्ने, खेल तथा अन्य सिकाइहरू सिक्ने, साथीभाइसँग घुलमिल हुने अवस्था हुन्छ ।

हिँडेरै विद्यालयसम्म पुग्दा त्यसवरपरका सामाजिक पक्षहरू सिक्छ । सरकारी निकायले यसबारे मापदण्ड र कानुन बनाउनुपर्छ । विश्वका अन्य देशमा जहाँको विद्यार्थी हो त्यहीँको विद्यालयमा मात्रै पढ्नुपर्ने मान्यता र नियम छ ।