मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
मुना कुँवर बैंकक (थाईल्याण्ड)
२०७९ भदौ १२ आइतबार १५:३३:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

एनआरएनको आइसिसी नेतृत्वप्रति एनसिसीको असन्तुष्टि, आइसिसीलाई दबाउन खोजिएको आरोप

Read Time : > 2 मिनेट
मुना कुँवर, बैंकक (थाईल्याण्ड)
२०७९ भदौ १२ आइतबार १५:३३:००

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) नेतृत्वप्रति राष्ट्रिय समन्वय समिति (एनसिसी)ले असन्तुष्टि पोखेको छ । संघभित्रै भएको राजनीतिक गुटबन्दीले संघलाई भित्रैबाट खोक्रो बनाएको विभिन्न मुलुकबाट आएका एनसिसी अध्यक्षहरूले गुनासो गरे । 

गैरआवासीय नेपाली संघ थाइल्यान्डको आयोजनामा बैंकक थाइल्यान्डमा सञ्चालित नवौँ एसिया प्यासिफिक सम्मेलन सहभागी आीसिसी प्रतिनिधिहरूले केन्द्रीय नेतृत्वको इमान्दारिताप्रति प्रश्न उठाएका छन् । संघमा तीनजना अध्यक्षको चयन हुनु, एउटा पदाधिकारीले अर्को पदाधिकारीलाई पदच्यूत गर्न पाउने, आइसिसीको निर्वाचनमा आइसिसीको हस्तक्षेप हुनेलगायत विषयलाई लिएर आइसिसी प्रतिनिधिले आफ्नो असन्तुष्टि पोखेका छन् । कोभिडका कारण संघको भौतिक उपस्थितिमा सम्मेलन हुन सकेको थिएन । संघको नयाँ नेतृत्व चयनपछि भौतिक उपस्थितिमा भएको यो पहिलो सम्मेलन हो ।

संघका केन्द्रीय पदाधिकारी नेपाली राजनीतिक दलको पछिपछि लाग्ने गरेको गैरआवासीय नेपाली संघ थाइल्यान्डका प्रतिनिधिको भनाइ छ । संघभित्रको कुनै पनि गतिविधिमा नेपालका राजनीतिक दलहरूको सहभागी हुनु नै दुर्भाग्य भएको उनीहरूले बताए ।

पदप्रतिको लोभले संघमा विकृति भित्रियो
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्द मुक्तादाले राष्ट्रिय समन्वय परिषद् (एनसिसी) मा नबसी माथि जान खोज्ने प्रवृत्तिले संघमा विकृति भित्रिएको बताएका छन् । परिणामस्वरूप संघभित्र मिलाप हुन नसकेको उनले बताए ।

संघको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै अध्यक्ष मुक्तादाले संघको निर्वाचन भएको लामो समय बितिसक्दा पनि अझै मिलाप हुन नसकेकोमा दुःख व्यक्त गरे । ‘इगो लिएर एनआरएनएमा नआउनुहोस्, अब एनआरएनएमा साँच्चिकै मिलाप हुनैपर्छ,’ उनले भने । क्षेत्रीय सम्मेलनले मिलापको सन्देश लिएर जानुपर्नेमा उनले जोड दिए । शेष घलेको समूहलाई पनि मूलधारमै ल्याउन पहल गर्नुपर्ने उनको भनाइ छ । ‘एनआरएनए अहिले भद्रगोल अवस्थामा छ । आइसिसी र एनसिसीबीच सम्पर्क नै हुन छोडेको छ,’ मुक्तादा भन्छन्, ‘ठूलो टिम हुँदा समस्या सिर्जना भएको हो, ठूलो टिम भएमा काम हुन्छ भन्नु भ्रम मात्र हो ।’ 

अन्तर्राष्ट्रिय समितिलाई मजबुत बनाउन नीति निर्माणमा जोड दिनुपर्ने उनले बताए । एसिया सम्मेलनपश्चात् एनआरएनएलाई एकढिक्का बनाउने संकल्प लिएर जानुपर्ने उनले बताए ।

नेपालबाट कम्बोडिया मानव तस्कर बढ्दै
नेपालबाट कम्बोडियातर्फ मानव तस्कर बढ्दै गइरहेको गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ एसिया प्यासिफिक सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले नेपाली र कम्बोडियन दलालमार्फत नेपालबाट मानव तस्कर भइरहेको बताए ।

अध्यक्ष खड्का अनुसार आकर्षक रोजगारीको प्रलोभन देखाएर दलालले नेपाली कामदारलाई कम्बोडिया भित्र्याउने गरेका छन् । तर, कम्बोडिया पुगेपछि रात्रिकालीन बजार र क्यासिनोमा जबर्जस्ती काम गर्न लगाउने गरेको उनले बताए । यस्ता गतिविधिले नेपाली कामदार शारीरिक र मानसिक रूपमा शोषणा हुने घटना बढिरहेको अध्यक्ष खड्काले बताए ।

नेपालबाट कम्बोडियामा मानव तस्करका घटना बढेका कारण कम्बोडिया सरकारको नेपाली कामदारप्रतिको दृष्टिकोण नकारात्मक भएको उनले गुनासो गरे । ‘यस्तो भएमा कम्बोडियाबाट हामीले लिन सक्ने व्यापार, रोजगार तथा अन्य सुविधा जोखिममा पर्नेछ,’ उनले भने । 

कम्बोडिया र नेपालबीच धार्मिक, सांस्कृतिक तथा अन्य ऐतिहासिक सम्बन्ध प्रगाढ बनाउनुपर्ने उनले सुझाए । सम्बन्ध निर्माणको कार्य सरकारीस्तरबाट नै पहल हुन सकेमा नेपालको पर्यटनमा थप टेवा पुग्ने उनले दाबी गरे । त्यस्तै, नेपाल सरकारले नयाँ विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट  कम्बोडियाको सीधा उडानको व्यवस्था गरेमा दुवै देशका पर्यटक तथा यहाँ रहेका नेपालीलाई धेरै सहज हुनेछ ।

कम्बोडियामा करिब दुई सयजना नेपाली छन् । केही अध्ययनका लागि कम्बोडियामा बसेका छन् भने केही नेपाली कारोबारको सिलसिलामा पनि कम्बोडिया पुगेका छन् । कम्बोडियामा नेपाली दूतावास भने छैन । कम्बोडियामा रहेको नेपालीलाई थाइल्यान्डको दूतावासले हेर्ने गर्छ ।