विश्वका ५० उत्कृष्ट रेस्टुरेन्ट सार्वजनिक : स्पेनको एसाडोर एट्सेबारी शीर्ष स्थानमा

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • बैंककको गगन र कोपेनहेगनको अल्केमिस्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा, अमेरिकाको एटोमिक्स ११औँमा​​​​​​

काठमाडाैं- सन् २०२६ का लागि विश्वका उत्कृष्ट ५० रेस्टुरेन्टको सूची सार्वजनिक भएको छ । ‘द फिफ्टी बेस्ट रेस्टुरेन्ट्स एकेडेमी’ले उक्त सूची सार्वजनिक गरेको हो ।  सूचीको शीर्षस्थानमा स्पेनको एसाडोर एट्सेबारी परेको छ । स्पेनको बास्क क्षेत्रमा पर्ने अत्सोन्डोस्थित यो रेस्टुरेन्ट आगोमा सेकिएका मासु तथा समुद्री परिकार र विशिष्ट पाककलाका लागि चर्चित रहेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

पहिलो स्थान हासिल गरेपछि एसाडोर एट्सेबारीका सेफ बिटोर अर्गुइन्जोनिजले यो उपलब्धिलाई वास्तविक सम्मानका रूपमा लिएको बताएका छन् । उनले आफ्नो पाककलाको प्रेरणाको स्रोतका रूपमा आमा तथा हजुरआमालाई स्मरण गर्दै उनीहरू कुशल भान्से रहेको उल्लेख गरे ।

सूचीको दोस्रो स्थानमा थाइल्यान्डको बैंककस्थित गगन र तेस्रो स्थानमा डेनमार्कको कोपेनहेगनस्थित अल्केमिस्ट रेस्टुरेन्ट रहेका छन् । भारतीय परिकारलाई सिर्जनात्मक र आधुनिक शैलीमा प्रस्तुत गर्ने गगन आफ्नो फरक पाककलाका लागि परिचित छ । अल्केमिस्ट भने असाधारण पाककला र विशिष्ट भोजन अनुभवका लागि चर्चित रहेको बताइएको छ । 

त्यस्तै, मेक्सिकोको राजधानी मेक्सिको सिटीस्थित क्विन्टोनिल चौथो र हङकङको विङ पाँचौँ स्थानमा परेका छन् । क्विन्टोनिललाई ल्याटिन अमेरिकाकै उत्कृष्ट रेस्टुरेन्टसमेत घोषणा गरिएको छ । विङले चिनियाँ खानाको सांस्कृतिक सम्पदा र पाककलाको इतिहासलाई आफ्नो परिकारमार्फत प्रस्तुत गर्दै आएको छ ।

विश्वका उत्कृष्ट ५० रेस्टुरेन्टको सूचीमा अमेरिकाबाट न्युयोर्कस्थित एटोमिक्स रेस्टुरेन्ट ११औँ स्थानमा परेको छ । कोरियाली खानाको परिकार पस्किने एटोमिक्सलाई उत्तर अमेरिकाकै उत्कृष्ट रेस्टुरेन्टसमेत घोषणा गरिएको छ ।

समाचारअनुसार एटोमिक्सका सेफ जङह्युन पार्कले ‘सेफ्स च्वाइस अवार्ड’ प्राप्त गरेका छन् । आयोजकले उनको पाककलालाई कोरियाली संस्कृति बुझ्ने एउटा झ्यालका रूपमा व्याख्या गरेको छ ।

११ सयभन्दा बढी विज्ञको मतबाट छनोट
‘द ५० बेस्ट रेस्टुरेन्ट्स’को सूची विश्वका २८ क्षेत्रको प्रतिनिधित्व गर्ने एक हजार एक सयभन्दा बढी अन्तर्राष्ट्रिय रेस्टुरेन्ट क्षेत्रका विज्ञको मतका आधारमा तयार गरिन्छ । यसमा खानासम्बन्धी लेखक, सेफ तथा रेस्टुरेन्ट उद्योगका अन्य विशेषज्ञ सहभागी हुन्छन् ।

यस सूचीलाई विश्वको उत्कृष्ट भोजन तथा आतिथ्य सत्कार क्षेत्रको प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ । चलचित्र क्षेत्रको ओस्कार पुरस्कारसँग समेत तुलना गरिने यसले उत्कृष्ट भोजनसँगै नवीनता, सिर्जनशीलता र पाककलामा गरिएका प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । यसको विशेष व्यवस्थाअनुसार एउटा रेस्टुरेन्टले शीर्ष उपाधि एकपटक मात्रै प्राप्त गर्न सक्छ । एकपटक विजेता बनेपछि त्यस्ता रेस्टुरेन्टलाई छुट्टै ‘बेस्ट अफ द बेस्ट’ कार्यक्रममा समावेश गरिने द फिफ्टीले जनाएको छ ।

गत वर्ष पेरुको राजधानी लिमास्थित माइदो विश्वकै उत्कृष्ट रेस्टुरेन्ट घोषित भएको थियो । जापानी आप्रवासीका सन्तति सेफ मित्सुहारु ‘मिचा’ त्सुमुराले सञ्चालन गरेको माइदोले जापानी पाककलाको प्रविधिलाई पेरुभियन खानासँग संयोजन गर्दै आएको छ । ‘द ५०’ ले रेस्टुरेन्टसँगै विश्वका उत्कृष्ट बार, होटेल तथा वाइन उत्पादन केन्द्रहरूको सूचीसमेत सार्वजनिक गर्दै आएको छ ।

  • सिएनएनबाट मीनराज बसन्तको अनुवाद

सुझावित समाचार