काठमाडाैं- सरकारले तिहार तथा छठ, नेपाल संवत्लगायतका पर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन विशेष तयारी थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी थालेको हो । प्राधिकरणले विद्युत् उत्पादनदेखि प्रसारण र वितरण प्रणालीसम्मको व्यवस्थापन चुस्त बनाएको बताइएको छ ।
साथै, प्राधिकरणले प्रणालीको नियमित निगरानी, सम्भावित प्राविधिक समस्या पहिचान तथा तत्काल समाधानका लागि आवश्यक जनशक्तिलाई चौबिसै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ ।
यसअघि ऊर्जामन्त्री श्रेष्ठले अघिल्लो साता प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहित उच्च अधिकारीलाई चाडपर्वमा विद्युत् आपूर्ति नियमित राख्न र सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिएका थिए । उनले आपूर्ति व्यवस्थापनसँगै उपभोक्ताका गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रभावकारी व्यवस्था मिलाउनसमेत भनेका थिए ।
प्राधिकरणले विद्युत् प्रणालीको निरन्तर निगरानी, प्राविधिक जनशक्तिको परिचालन र सम्बन्धित निकायबिच समन्वयलाई प्राथमिकतामा राखेको जनाइएको छ । विशेषगरी विद्युत् आपूर्तिमा समस्या देखिए तत्काल समाधान गर्न तथा नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाएर उपभोक्ताका गुनासा शीघ्र सम्बोधन गर्नेछ ।
लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार सात सय मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ । उक्त माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने देखिएको छ । प्राधिकरणका अनुसार सो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार पाँच सय मेगावाट पुग्ने प्रक्षेपण छ । यसले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको बताइएको छ ।
यसैबिच, प्राधिकरणले चाडपर्वका समयमा विद्युत् दुर्घटनाबाट जोगिन सुरक्षित प्रयोगमा विशेष ध्यान दिन उपभोक्तालाई आग्रह गरेको छ ।